कोरोना संक्रमित बढेपछि आइसोलेसन बनाउँदैः मेयर फोरम

Ktm

काठमाडौँ । कोरोना महामारी समुदायस्तरमा फैलिन सक्ने आशंका गर्दै उपत्यकाका १८ स्थानीय निकायले निषेधाज्ञालाई निरन्तरता दिएर पीसीआर परीक्षणलाई बढाउने जनाएको छ । उपत्यकाका मेयर फोरममा आबद्ध १८ वटै स्थानीय निकाय आइसोलेसन तयार गर्न स्थान खोजीका क्रममा रहेका छन् ।

संक्रमितको संख्या झन्डै ३ हजार पुग्न थालेपछि चिन्तित देखिएका स्थानीय निकायका मेयरहरुले नगरपालिकास्तरमा नै आइसोलेसन बनाउन शुरु गरेका छन् । संघीय सरकारले आइसोलेसन व्यवस्थापन गर्नुपर्ने अडानमा रहेका १८ वटै नगरपालिकाका मेयरहरु आइसोलेसन बनाउने तयारीमा छन् । उनीहरुले संक्रमितलाई कुनै समस्या हुन नदिने बताएका छन् ।

फोरमको हरेक बैठकमा मेयरले सरकारले आइसोलेसन बनाउने र त्यसको व्यवस्थापन स्थानीय निकायले गर्नुपर्ने बताउँदै आएका थिए । पछिल्लो एक सातायता काठमाडौं र ललितपुर महानगरपालिकासहित १६ नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आफैले आइसोलेसन निर्माण गर्न शुरु गरेका छन् ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकार र स्थानीय तह मिलेर आइसोलेसनको व्यवस्थापन भइरहेको बताउनुभयो । उहाँले संघले सञ्चालन गरेका आइसोलेसनलाई कामपाले सहयोग गर्ने र अपुग भएको अवस्थामा थप व्यवस्थापन गर्ने बताउनुभयो ।

उहाँ हिजो मंगलबार आइसोलेसन निर्माण गर्ने स्थानको विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालयमा पुग्नुभएको थियो । देशकै ठूलो काठमाडौं महानगरले आफ्नो आइसोलेसन बनाउन नसकेको भन्दै तीव्र विरोध भएपछि मेयर शाक्यसहितको टोलीले बल्ल प्रक्रिया शुरु गरेको छ ।

विशेष गरी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आइसोलेसन तयार गर्न मेयर फोरमलाई आग्रह गरेपछि सबै स्थानीय तहले आइसोलेसन निर्माणकार्यलाई तीव्रता दिएका हुन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बलम्बुस्थित सशस्त्र र मनमोहन अस्पतालमा ७ सय बेडको आइसोलेसनलाई स्थानीय तहले पनि प्रयोग गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस