आफूले मतदान गरेका जनप्रतिनिधि घरदैलामा आउँदा खुशीका आँशु झार्दै बुटवलका संक्रमित

Upapramukh corona birami vetdai

रुपन्देही । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य सोमबार वडा नम्बर १३ को होम आइसोलेसनमा बसेका रुद्र आचार्यको घरमा पुगिन् ।

कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमै बसेको उनको परिवारको मनोबल बढाउन उपप्रमुख दैलामा आएपछि आचार्य छक्क परे । उपप्रमुख आचार्यले उनलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस संक्रमणले कुनै असर नगर्ने भन्दै उनको परिवारलाई सुस्वास्थ्यको शुभकामना दिइन् ।

‘कोरोना लागेको भनेर मानिसहरु टाढाटाढा भाग्छन्, दैलोसम्म आउने आँट कसैले गर्दैनन् । तर उपप्रमुख दैलोमै आएर कस्तो छ भनेर सोध्दा साह्रै खुशी लाग्यो’, संक्रमित आचार्यले भने । आचार्यले कोरोना भाइरस संक्रमण भएपछि सामाजिक सञ्जालमै राखेर टोलवासीलाई सचेत रहन अनुरोध गरे ।

एक हप्तादेखि उपमहानगरका विभिन्न वडामा प्रमुख शिवराज सुवेदी, उपप्रमुख आचार्य र वडाका प्रतिनिधि कोरोना संक्रमितको मनोबल बढाउन घरघरमा पुगेका छन् । यो अभियानले कोरोना संक्रमितको मनोबल बढेको मात्रै होइन, संक्रमितलाई दुर्व्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा संक्रमितका कुरा काटेर बस्नेहरुको मुखसमेत बन्द भएका छन् । जनप्रतिधिहरु आएपछि छरछिमेकीको माया र सद्भाव झन् बढेको संक्रमितको प्रतिक्रिया छ ।

बुटवल­ ११ का संक्रमित परिवारलाई नियमित दूध दिँदै आएका एक व्यक्तिले संक्रमित भएको थाहा पाएकै दिनदेखि दूध ल्याइदिन छाडे । छेउछाउका घरमा फोन गरेर संक्रमितका दुवै घरमा ताला लगाइदिन, घरमा बस्न नदिन तथा छरछिमेकलाई नजिक नजानसमेत दबाब दिए ।

यसका कारण छिमेकी पनि दोधारमा परे तर जब नगर प्रमुख र उपप्रमुख सहितको टोली घरदैलोमा पुगेर संक्रमितलाई भेट्नुभएपछि छिमेकीको माया र सद्भाव झन् बढ्यो । ‘नजिकैका छिमेकीहरुको व्यवहार त एकदम राम्रो थियो बरु अलिक पर बस्ने व्यक्तिहरुले राम्रो व्यवहार गर्न खोजेनन् तर प्रमुख–उपप्रमुखको घरदैलोले निकै सकारात्मक सन्देश दियो’, एक संक्रमितले भने ।

नगर प्रमुख र उपप्रमुखको यो अभियानले नजिक आउन नखोज्ने, हेय भाव राख्ने र असहयोग गर्नेहरुलाई ठूलो शिक्षा दिएको अनुभव संक्रमितका परिवारले गरेका छन् । ‘अरु बेला नभ्याए पनि दुःख पर्दा आए, हाम्रो लागि त्यही नै ठूलो कुरा हो’, आफूले मतदान गरेका जनप्रतिनिधि घरदैलामा आएको देखेर आँखाभरि खुशीका आँशु झार्दै बुटवल १३ का संक्रमितले भने ।

यही भदौ ५ गते हिन्दू नारीको चाड हरितालिकाका दिनमासमेत उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा आइसोलेसन सेन्टरमै पुगेर उपप्रमुख आचार्यले शुभकामना आदानप्रदान गरिन् । ‘चाडको दिनमा आइसोलेसनमै आएर शुभकामना दिनुभयो, हामी अत्यन्तै उत्साहित भयौँ । हामीप्रति उहाँले देखाउनु भएको स्नेह, माया र सद्भावनाले हौसला प्रदान गरेको छ’, वडा नम्बर १३ का संक्रमित दीपक पन्थीले सामाजिक सञ्जालबाटै उपप्रमुखलाई धन्यवाद दिए ।

उपप्रमुख आचार्यले तीजको दिनमा आइसोलेसनमा रहेका ३४ संक्रमितलाई भेटेर शुभकामना आदानप्रदान गरेकी थिइन् । स्वास्थ्य सावधानीका उपायको जानकारीसहित स्वास्थ्यलाभको शुभकामनापत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेदिक ओखती बोकेर जनप्रतिनिधि आइसोलेसनमा पुगेपछि संक्रमितको मनोबल बढेको छ । संक्रमितलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नाका साथै थप सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको उपप्रमुख आचार्यले बताइन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उपमहानगरपालिकामा अहिलेसम्म १ सय ६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसमध्ये महिला ५४ र पुरुष १ सय ११ जना छन् । सबैभन्दा बढी वडा नम्बर ११ मा ४८ संक्रमित देखिएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन कुन्दनकुमार सिंहले जानकारी दिए ।

उपमहानगरपालिकामा अधिकांश संक्रमितमा लक्षण नदेखिएकाले संक्रमण फैलिदै गएको छ । संक्रमण कहाँबाट फैलियो भन्नेबारे खोजी गर्ने काम भइरहेको र कन्ट्याक्ट ट्रेसिङको कामलाई निरन्तरता दिइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बन्दाबन्दीलाई कडा पारिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...