सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

Sandeep

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए ।

उनले निकै किफायती बलिङ गरे । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए ।  उनले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काए ।

नवौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिए । त्यसपछि ११औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए ।  सो ओभरमा उनले विपक्षी टोलीलाई मात्र एक रन दिए ।

यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिए । खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका उनले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे ।  उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिए ।
टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो ।

एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो । गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाए ।  बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन/तीन तथा आन्द्रे रसेलले एक विकेट लिए ।

विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए । सन्दीपले आजको खेलमा ब्याटिङ समेत गरे । खेलको १६औँ ओभरमा जमैकाका लागि ब्याटिङ गर्न आएका सन्दीपले मात्र तीन बल खेल्न सके उनले कुनै रन भने बनाउन सकेनन् ।

सन्दीपले हालसम्म तीन खेलमा चार विकेट लिएका छन् ।  उनले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा चार ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थियो । यस्तै भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले चार ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए ।

सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ पाँचविकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल सात विकेटले गुमाएको थियो । गुयानासितको खेल हारेसँगै जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा झरेको छ ।  सन्दीप तेस्रो पटक सिपिएल खेल्दै छन् ।

उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियाट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...