उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व

Chhat last 1

काठमाडौं । छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ ।

बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुने गर्छ । चारदिवसीय छठ पर्वको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ ।

परिवार एवं सन्तानको सुख–समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको अवसरमा पोखरी, नदी तथा जलाशयमा व्रतालु जम्मा भई सामूहिक रूपमा पर्व मनाउने गर्छन् । आदिदेव सूर्य भगवान्लाई अर्घ्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयका किनारमा घाट बनाएर विशेष रूपले सिँगारिएको थियो ।

जनकपुरका धार्मिक तथा ऐतिहासिक पोखरी, तलाउ, गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ आदिलाई दुलहीझैँ सजाएर झकिझकाउ बनाइएको थियो भने घाटहरू झिलमिले बत्तीले रातिको समय झनै मनमोहक देखिएका थिए ।

विगतमा छठ पर्व मधेशी समुदायले मात्रै मनाउँदै आएकोमा केही वर्षयता सबै समुदायले उत्साहका साथ यो पर्व मनाउन थालेका छन् । मधेसी समुदायसँगै यहाँका पहाडी समुदाय पनि यस पर्वमा रमाउन थालेका हुन् । कतिपय स्थानमा त पहाडी समुदायकै अगुवाइमा छठघाटको निर्माण समेत हुन थालेको छ ।

त्यसो त, यसअघि दशैँ र भाइटीका पनि मधेसी समुदायले पहाडी समुदायले झैँ मनाए । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

बाराका लालबकैया, पसाहा नदी किनार र सिद्धेश्वर, सिम्रौनगढ, कलैया, जितपुर, कोल्हवीलगागतका स्थानका पोखरी पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको घुइँचो लागेको थियो । लाखौं भक्तजनले शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जलाशयमामा बनाइएको छठघाटमा दलित समुदायले पनि अन्य भक्तालुसँगै बसेर पूजा गरेका छन् । यसअघि छठघाटमा दलित समुदायका लागि छुट्टै घाट बन्ने गरेको थियो । दलित समुदायले अन्यका लागि बनाएको घाटमा प्रवेश पाउने गरेका थिएनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...