छरछिमेकी नआउँदा जसले पिपिई लगाएर यसरी गरिन् आफ्नै श्रीमानको दाहसस्कार

Women 7

काठमाडौं । वर्षौँ पुरानो मृत्यु संस्कारको परम्परा तोडेर एक महिलाले आफ्ना श्रीमानको अन्तिम संस्कार गरेकी छन् । उनले यो बाध्यतामा आएर गरेकी हुन् । अन्तिम संस्कारका लागि छिमेकी र आफन्त नआएपछि उनले यस्तो कदम उठाउन बाध्य भएको बताइन् ।

महिलाले पिपिइ किट लगाएर अन्त्येष्टिको सबै प्रक्रिया पूरा गरिन् । श्रीमानको शव काँधमा उठाउनेदेखि दागबत्ति दिनेसम्मको काम उनी आफैले गरिन् । यो घटना भारतको उडिसाको हो । नक्सल प्रभावित मण्डापल्ली गाउँका कृष्णा नायक बसोबास गर्थे । शिक्षा क्षेत्रमा कार्यरत उनको एक्कासी स्वास्थ्यमा समस्या आयो । उनलाई जेपोर अस्पतालमा भर्ना गरियो ।

अस्पतालले नजिकैको मेडिकल कलेजमा रेफर गर्यो । त्यही अवस्थामा कृष्णाको कोरोना रिपोर्ट पनि नेगेटिभ आयो । स्वास्थ्य अवस्था गम्भीर भएपछि चिकित्सकले नायकलाई विशाखपट्टनम रेफर गरे । तर बाटोमै कृष्णाको मृत्यु भयो ।

शव फर्काएर घर ल्याइयो । तर अन्तिम संस्कारका लागि छिमेकी र आफन्तले सहयोग गरेनन् । सबैलाई कोरोना संक्रमणको डर थियो । श्रीमतीले सबैलाई आग्रह गरिन् । तर, कसैले पनि उनको आग्रह सुनेनन् ।

अन्तिममा कृष्णाकी श्रीमतीले कुनै विकल्प पनि पाउन सकिनन् । त्यसपछि उनले पिपिइ किट लगाइन् । एम्बुलेन्स बोलाएर केही स्वास्थ्यकर्मीको सहयोगमा शव जंगलमा लगिन् ।

एम्बुलेन्सबाट शव निकालेर काँधीकाठ दिइन् । त्यसपछिका सबै अन्त्येष्टिका प्रक्रिया उनी आफैले गरिन् । श्रीमानलाई दागबत्ति पनि उनी आफैले दिइन् । यसमा केही स्वास्थ्यकर्मीले सहयोग गरेका थिए । यो घटना भारतमा अहिले भाइरल बनेको छ ।

प्रतिकृया दिनुहोस