पीडाविरुद्ध बदला : बलात्कृत चेलीको हृदयविदारक कथा बोकेको गीत हो ‘ बदला बरिलै’

Narayan sharma nishannews

कहानी सुरू गरौं मैले कहाँबाट बरिलै भन्न पनि लाजै छ
जिन्दगीमा मेरो घट्यो एउटा घटना, बरिलै चोट अझै ताजै छ ।

मेरा पनि आँखामा थिए धेरै सपना, बरिलै जिन्दगीको बारेमा
संसार जित्छु भनेर गरेकी थिए अठोट, बरिलै आफैंसँग हारे म ।

हो, उनीमाथी जुन घटना घट्यो, त्यो निकै हृदयबिदारक छ । मानवको खोल ओढेको एक दानवले उनको सपनालार्ई चकनाचुर पारिदियो । गाउँको सामान्य परिवारकी एक साधारण युवती, जसले गायिका बन्ने ठूलो सपना बोकेकी थिइन् । ठाउँ ठाउँमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै हिड्थिन् । लोक गीतका प्रतियोगीताहरूमा भाग लिन्थिन् ।

आफू एक दिन देश बिदेशले चिन्ने ठूलै गायिका बन्छु भन्ने सपना थियो । तर ती सरल स्वभावकी युवतीले समाजमा वरिष्ठताको खोल ओढेका कथित समाजसेवी भनाउँदाहरू भित्र पनि दानवीय रूप छिपेर बसेको हुन्छ भन्ने कुराको सुइको पाउन सकिँनन् । उहीँ प्रतियोगीतामा प्रमुख अतिथी रहेको कथित समाजसेवीको हातबाट पुरस्कार ग्रहण गरिन् उनले । त्यस दुष्टले समारोहमै उनीमाथी गिद्दे दृष्टि लगाइरहेको उनले चाल पाउन सकिनन् । उसको व्यवहार उनलार्ई असामान्य त लाग्यो । तर त्यसका बिरूद्द बोल्न सकिनन् । पुरस्कर लिएर घर हिड्दै गरेकी ती युवतीलार्ई जोरजबरजस्ती गरेर त्यो कथित प्रमुख अतिथिले जङ्गलमा लग्यो । त्यो दुष्टले आफ्नो राक्षसी रूप देखाउँदै उनीमाथी झम्टिन थाल्यो । उनले हार गुहार र बिन्ती गरिन् । तर त्यो दुष्टले उनको कुनै पुकार सुनेन । आफ्नो अस्मिताको रक्षा गर्न उनले सक्दो प्रयास त गरिन् । तर उनको त्यो प्रयास सफल हुन सकेन ।

उनी गुहार माग्दै अलाप–बिलाप गरिरहिन् । तर त्यो अनकण्टार जङ्गलमा उनको चित्कार सुन्ने कोही थिएन । त्यो मानवको खोल ओढेको दानवले उनको अस्मिता लुटिरह्यो । आफ्नो यौनप्यास मेटेपछि त्यो दुष्ट त्यतिमा मात्र सीमित रहेन । ती युवतीको हत्या नै गर्न पछि पर्दैन । आफ्नो कर्तुत अरूले थाहा नपाउन् भनेर त्यो दुष्टले ती युवतीको लाशलार्ई उनकै सलको पासो लगाएर रूखमा झुण्डाइदिन्छ । आफू त्यहाँबाट सुइकुच्चा ठोक्न खोज्दा त्यो अपराधीले आफुले समारोहमा लगाएको प्रमुख अतिथिको ब्याच र हातको घडी त्यही छोड्छ ।

तथ्य प्रमाणहरू प्रसस्त हुन्छन् । ती युवतीको बलात्कारपछि हत्या भएको भन्ने तर प्रहरी प्रसासनले ती प्रमाणहरूको वास्तै गर्दैन । युवतीका बुवा आमा न्यायको भीख माग्दै पुलिस प्रशासन र न्यायालय धाउँछन् । तर उनीहरूले न्याय पाउँदैनन । पुलिस प्रशासन र न्यायालयलार्ई त त्यही दुष्टले खरिद गरिसकेको हुन्छ । गरिब दुःखीको पुकार सुन्दैन त्यो प्रसासन र न्यायालयले ।

सम्हालेर राखेको फुल जस्तो जोवन, बरिलै चुड्यो बरै पापीले
खुलेन कहिले न्यायको ढोका बरिलै गरिबको चापीले ।

खेलौना जस्तै देख्दो रैछ हामीलार्ई बरिलै समाजको दृष्टिले
छोरी भएर जन्मिनु अभिसाप हो भने बरिलै नजन्माई देउ सृष्टिले ।

आफ्नी छोरीको बलात्कार गरी हत्या गरिएको थाहा पाएपछि कति रोयो होला ती बाबा आमाको मन ? मनमा पिरको भारी बोकेरै ती बुवा आमा छोरीको बलत्कारी हत्यारालार्ई सजाय दिलाउन निरन्तर लागिरहन्छन् । यता युवतीका बुवा आमा न्यायको खोजीमा भौतारिइरहेका हुन्छन् । उता त्यो बलात्कारी हत्यारा त्यही समाजमा छाती खोलेर हिडिरहेको हुन्छ । आखिर प्रहरी प्रशासन, न्यायालय कतैबाट पनि न्याय नपाएपछि मृत युवती प्रेत बनेर आउँछिन । युवती देखेपछि गिद्दे दृष्टी लगाइहाल्ने त्यो दुष्टलार्ई जालमा फसाउँछिन् र आफुलाई बलात्कार गरेकै ठाउँमा पु¥याएर त्यहीँ रुखमा झण्ड्याउँछिन् । यसरी उनले आफुमाथि गरेको बलात्कारको बदला लिन्छिन् ।

लोकदोहरी गायक तथा सर्जक प्रकाश सपुतको नयाँ गीति कोसेली ‘बदला बरिलै’ ले बोकेको कथा हो यो । परिकल्पना, लेखन, संगीत र निर्देशनसमेत प्रकाश सपुतकै रहेको यस गीतमा स्वर देवी घर्तीको छ । गीतको भिडियोमा नायीका केकी अधिकारीले बलात्कारपछि हत्या गरिएकी युवतीको र ध्रुव कोइरालाले मुख्य खलनायकको भुमिका निभाएका छन् ।

गीतको म्युजिक भिडियोमा कलाकारहरू हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुवर, सन्ध्या गौतम बराल, बाल कलाकार बिर्षा बराल र इजुलिया आचार्यको समेत अभिनय छ । गीतमा कोरस आवाज सुनितामी परियार र स्मृति शाहीले दिएका छन् । हिमाल शर्मा, मिलन कटुवाल र सजुन राईले छायांकन गरेका दृष्यहरूलार्ई प्रविण भट्टले सम्पादन गरेका छन् । प्रकाश सपुतकै युट्युब च्यानलबाट २०७७ साउन १७ गते यो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘बदला बरिलै’ गीतमा कला पक्ष निकै शसक्त र राम्रो रहेको छ । गीतका प्रत्येक शब्दहरू मर्मस्पर्शी खालका छन् । पुरानो तिजि भाकाको मेलोडीमा रहेको यो गीतको संगीत पनि निकै कर्णप्रिय छ । देवी घर्तीको स्वरले गीतका शब्द र संगीत माथी पूर्णरूपमा न्याय गरेको छ । देवीको त्यो स्वर सुनेपछि यस्तो लाग्छ, त्यो गीत गाउन अन्य गायीकालाई दिएको भए सायद त्यो गीतप्रतिको सहि न्याय हुँदैन थियो ।

गायिका मात्र होइन, मुख्य नायिका र अन्य कलाकारहरूको छनौटमा पनि सर्जक सपूत सफल देखिएका छन् । सबै कलाकारहरूले आ–आफ्नो भुमिका राम्रोसँग निभाएका छन् । नायिका केकी अधिकारी र खलनायक ध्रुव कोइराला दुबैको अभिनयमा जिवन्तता झल्कन्छ । यो गीतको भिडियोले सिद्द गरेको छ की प्रकाश लोकदोहरी गाउन, गीतका शब्द सृजना गर्न, संगीत भर्न र अभिनय गर्न मात्र होइन, निर्देशनमा पनि अब्बल छन् । यो गीतको म्युजिक भिडियो हेर्ने जो कोहीका पनि आँखा रसाउँछन् । भिडियोका प्रत्येक दृष्यहरूले दर्शकहरूको मन छुन्छन् ।

‘बदला बरिलै’ गीत झट्ट सुन्दा र हेर्दा बलात्कार गरी हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घट्ना जस्तो लाग्छ । गीतको म्युजिक भिडियो हेर्ने दर्शकले देवी घर्तीको आवाज र केकी अधिकारीको अभिनयमा निर्मला पन्तकै स्वरूप कल्पिने गर्छन् । नारीलार्ई दासी र खेलौना सम्झने हाम्रो समाजभित्र जरा गाडेर बसेको गलत सोचलार्र्ई उजागर गरेको छ यस गीतले । हाम्रो प्रशासन, न्याय प्रणाली र राजनीतिक नेतृत्व तहभित्रको भ्रष्ट तस्बिरलार्ई छर्लंग उतारिदिएको छ गीतले ।

‘खुलेन कहिल्यै न्यायको ढोका बरिलै गरिबको चापीले’

निकै यथार्थ बोलेको छ यस गीतको यो टुक्काले । यो गीत रिलिज हुनुभन्दा दुई दिन अगाडि अर्थात् २०७७ साउन १५ गते कञ्चनपुर जिल्ला अदालतले निर्मता पन्तको बलात्कार र हत्याको घटनामा प्रमाण नष्ट गरेको अभियोग लागेका आठ प्रहरी अधिकृतहरूलार्ई सफाइ दियो । २०७५ साउन १० गते बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका –२ उल्टाखामस्थित आफ्नो घरबाट निस्किएकी १३ वर्षीय बालिका निर्मला पन्त अर्को दिन उखुबारीमा मृत अवस्थामा भेटिइन् । मेडिकल रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको प्रमाणित भयो । तर लाशको मुचुल्का उठाउने बेलादेखि नै स्वयम् प्रहरी प्रशासनबाटै घटनाका प्रमाणहरू नष्ट गर्ने काम भएको भिडियोहरू सामाजिक सन्जालमा छाए । अनुसन्धानमा गएको प्रहरी टोलीसमेत प्रमाण नष्ट गर्ने काममा लागेको आरोप लाग्यो । बलात्कारी र हत्यारालार्ई गिरफ्तार गरी कारवाहीको माग गर्दै देशैभरी आन्दोलन भयो । अन्ततः अदालतले प्रमाण् नष्ट गर्ने भनिएकाहरुलाई सफाई दियो ।

यी त केही नमुना मात्र हुन् । सत्ता, शक्ति र पैसाका सामु हाम्रो न्याय प्रणाली लम्पसार परेका यस्ता अन्य पनि कैयौ उदाहरणहरू छन् । न्यायालयको ढोका गरिबको साचोबाट होइन, पैसाको बिटोबाट मात्र खुल्छ भन्ने तथ्य घटनाक्रमहरूले प्रस्ट पार्दै लगिरहेका छन् । गीतमा प्रकाशले ठिकै भनेका छन्, न्यायको ढोका यहाँ गरिबको चापीले खुल्ने गरेको छैन ।

गीतको भिडियोमा लोक दोहोरी प्रतियोगीतामा प्रमुख अतिथी बनेका व्यक्तिमा जुन निच सोच र अपराधिक मानसिकता देखाइएको छ, त्यस्तो प्रवृत्ति बोकेका मान्छेहरू हाम्रो समाजमा प्रसस्त हुन सक्छन् । त्यो त एउटा प्रतिनिधि पात्र मात्र हो । पाप, पुण्य र नैतिकता, अनुशासनका ठूलाठूला प्रवचन दिने धर्मभिरू, बाबाहरूसमेत यौन काण्डमा फसेका समाचारहरू हामीले देखिरहेकै छौ । राजनीति, कलाकारिता, समाजसेवा यी कुनै पनि क्षेत्र त्यस्तो छैन, जहाँ महिला हिंसा नभएको होस ।

‘बदला बरिलै’ गीतले प्रस्ट रूपमा संकेत गरेको छ । समाजमा बलात्कार, हिंसा र अपराधहरू समाजका ठूलाबडा भनाउँदाहरूको संरक्षण मै बढिरहेको छ । सबैभन्दा पहिला तिनै ठूलाबडा भनिनेहरूको सोचमा परिवर्तन ल्याउनु जरूरी छ । उनीहरूले बोली र व्यवहारमा समानता ल्याउनु आवस्यक छ ।

‘बदला बरिलै’ ले हाम्रो समाजमा व्याप्त गलत सोच, प्रवृत्ति र अपराधिक मनोवृत्तिको यथार्थ चित्रण त गरेको छ नै, तर समाधानको प्रष्ट मार्ग भने देखाउन सकेको छैन । भुत–प्रेत भनेका अन्धविस्वास र काल्पनिक कुरा हुन् । मानिसलार्ई डर त्रासमा राख्न र आफ्नो स्वार्थ सिद्द गर्न इतिहासमा कुनै ठूलाबडाहरूले रचेको काल्पनिक कुरा हुन् भुत प्रेत । भुत प्रेत बनेर आफूमाथि भएको अन्याय र अत्याचारको बदला लिने कुरा अहिलेको बैज्ञानिक युगमा हास्यास्पद र पत्याउनै नसकिने कुरा हो ।

भन्न त भिडियोको अन्तिममा सर्जक प्रकाश स्वयमले आफुलार्ई भुत प्रेत हुन्छ भन्ने कुराप्रति विस्वास नरहेको कुरा बताएका छन् । तर भिडियोमा भुत प्रेत बनेरै बदला लिइएको देखाइएको छ । आफ्नै विस्वासका विरूद्धमा भुत प्रेत बनेर बदला लिइएको देखाउनुपर्ने बाध्यता के थियो र त्यस्तो ? के त्यसको ठाउँमा अरू कुनै स्वभाविक विधिद्वारा बदला लिएको देखाउन सकिँदैन थियो र ? भिडियो हेरेपछि स्वभाविक रूपमा प्रश्न उब्जिन्छ ।

बलात्कारी र हत्याराहरूले सजाय पाउनैपर्छ । यदि कानुन र प्रशासनले त्यस्ता अपराधीलार्ई सजाय दिन सकेन भने पीडितहरू मिलेर उसलार्ई जनस्तरबाट नै कारवाही गर्नुपर्छ । त्यस्ता अपराधीक मानसिकता बोकेका दुष्टहरू यो समाजमा रहुन्जेल यो समाज कहिल्यै पनि सभ्य बन्न सक्दैन, समुन्नत र समानतामुलक बन्न सक्दैन । त्यसैले त्यस्तो बलात्कार जस्तो अपराधीक सोच बोकेर समाजमा छिपेका गलत तत्वहरूलार्ई कारवाही गर्नै पर्दछ ।

मलार्ई लाग्छ ‘बदला बरिलै’ गीतले दिन खोजेको मुल सन्देश त्यही हो । सायद त्यही कुरालार्ई बुझाउन भुत प्रेतको बिम्ब लिइएको हुनसक्छ । तर राम्रो सोचाई र नियतका साथ ल्याइएको भए पनि यो गीतको भिडियो हेरिसकेपछि त्यसले अन्धविस्वासलार्ई जीवित राख्न मद्दत गरेको जस्तो देखिन्छ ।

जिउँदो छँदा नसके पनि मरेपछि पनि बदला लिन सकिन्छ है भन्ने सन्देश पनि जान सक्छ । त्यसबाट भन्नेतर्फ पनि ख्याल गरिनु पथ्र्यो । जब कुनै समस्याको उजागर गरिन्छ भने आफुले देखेको बुझेको त्यो समस्याको सामाधानको उपाय पनि गीतमा राख्दा राम्रो हुने थियो । तर गीतमा समाधानको त्यो उपाय प्रष्ट रूपमा खुलाइएको छैन ।

एकछिन भिडियोलार्ई एकातर्फ पन्छाएर गीतका शब्द मात्र सुन्ने हो भने त्यहाँ कारूणिक व्यथा र बेदना मात्र भेटिन्छ । बदला लिनुपर्छ है भन्ने भावना जागृत गराउने शब्द भेटिँदैन । महिलालार्ई समाजले खेलौना जस्तो देख्ने गरेको गीतमा उजागर गरिएको छ । यो यथार्थ पनि हो । तर समाजमा महिलालार्ई दासी र खेलौना ठान्ने सोचको विकास गराएको भनेको सामन्ती पुरातनवादी विचार र सस्कारले हो । सामन्तवादी र साम्राज्यवादी सस्कार र सस्कृतिका विरूद्धमा नजुधीकन हामीले नारी पुरूषले बराबरी हक र अधिकार पाउने थिती देशमा बसाल्न सक्दैनौ । गीतले त्यो कुरा प्रस्ट रूपमा बोल्न सकेको छैन ।

समाजमा व्याप्त गलत सोच र प्रवृत्तिका विरूद्धमा सचेतजनहरूबाट निरन्तर अभियान चलाएर मात्र हामीले सभ्य र समानतामुलक समाज निर्माण गर्न सक्ने छौ । महिलामाथि हुने गरेका यौनजन्य हिंसाका विरूद्धमा पनि हामीले लगातार रूपमा सचेतनाका अभियानहरू चलाईराख्नु पर्छ । मानवभित्र छिपेर बसेको दानवीय प्रवृत्ति हटाउन सचेतनाको अभियान निरन्तर निरन्तर चलाईनुपर्दछ ।

गीत र संगीत सचेतना जगाउने एउटा प्रभावकारी माध्यम हो । एउटा नेताले घण्टौसम्म भाषण गरेर बुझाउन नसकेको कुरा गीतको एकै टुक्काले बुझाउन सक्छ । जे होस्, ‘बदला बरिलै’ बलात्कार र महिला हिंसालार्र्ई मुख्य विषयबस्तु बनाएर एउटा थथार्थवादी गीतको रूपमा आएको छ । गीत निकै हृदयस्पर्शी खालको छ ।

यस्तै सामाजिक विषयवस्तुलार्ई आधार बनाएर आगामी दिनमा अझ चेतनामुलक सृजनाहरू आइरहुन् । युट्युबमा यो गीत सार्वजनिक भएको अर्को दिनदेखि नै लगातार ट्रेडिङमा परिरहेको छ । सर्जक प्रकाश सपूत र ‘बदला बरिलै’ गीत निर्माण टीमको मेहनत छ ।

(लेखक : हाँक साप्ताहिकका सम्पादक हुन् । उनी रक्तिम साँस्कृतिक अभियानका कलाकार पनि हुन् ।)

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...