‘नआत्तिनु हजुरको छोरी झन मनोबल उच्च बनाएर रोगलाई परास्त गरेर कर्ममा फर्किन्छे’

Simran tiwari

काम गर्दै गर्दा कोरोना संक्रमित भएछु । स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।

म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु । मलाइ थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र मात्र पढेको होइन । जस्तो सुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकुँ र गर्छु भनेर नर्स पेशा अंगालेको हुँ । आफ्ना व्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केहि वर्ष भइसकेछ । काम गर्दै गर्दा यो अवस्था आउँछ होला भन्ने सोचेको थिएनौं ।

तर एक्कासी संसारलाई नै तर्साउने गरी कोरोना भाइरस फैलियो । कयौं देशहरुमा हजारौ नागरिकको ज्यान गयो । बिस्तारै अवस्था जटिल बन्दै गयो । बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो । तर कहिल्यै हतोत्साहित नभई निरन्तर आफ्नो कर्ममा लागिरहेँ । मैले सोचे की म एकजना नर्सले गाह्रो हुने भयो, म संंक्रमित हुन्छु कि भनेर । फेरि आफ्नो काम छोड्ने हो भने हालत के होला ? भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझाबलाई ग्रहण गर्दै काममा लागिरहेँ ।

घरमा बुवाआमा र भाइ बहिनीलाई आफैँले सम्झाएँ । ‘म मा मात्र सीमित छैन, बाबा ममी मैले समाजका लागि काम गर्नुपर्छ । म यतिखेर घरमा काम नगरी बस्ने हो भने मैले नर्स पेसा अंगालेको अर्थ हुँदैन । नआतिनु म सुरक्षित भएर बिरामीको सेवा गर्नेछु’ भनेर घर परिवारलाई सम्झाउँदै आफ्नो कर्ममा लागिरहेँ ।

कयौ रात बाबा ममी निदाउनुभएको छैन । कतै छोरी संक्रमित त हुने होइन भनेर । भोली समाजले के भन्ला ? छि–छि र दुर–दुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थ्यो । केहि दिन अगाडी अस्पतालमा उपचार गरिरहनुभएका बिरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुने । उहाँहरुलाई सधैँ हामीले रेखदेख गरिरहेका हुन्थ्यौं । एक्कासी त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु । पछि आफुलाई समाले । त्यसपछि हामीलाई छुट्टै ठाउँमा राखियो । त्यसको पर्सीपल्ट म लगायतका साथीहरुको कोरोना टेष्टका लागि स्वाब लगियो । नभन्दै हाम्रो रिपोर्ट पनि पोजेटिभ आयो । एकछिन तनावमा रहे । कसरी घर भन्ने होला ? अब के हुने हो ? भन्ने भयो ।

म आफुलाई समाले । म आज कमजोर महसुस गरे पनि मेरो परिवारलाई चिन्ता हुन्छ । समाजलाई चिन्ता पर्छ । मैले मनोवल उच्च बनाउनुपर्छ भन्ने सोचे । अहिले आफ्नो मनोबल उच्च बनाएर मैले यो रोगलाई परास्त गर्छु भन्ने आत्मबिश्वास लिएको छु । फेरि परास्त गर्छु पनि । म आत्तिएकी छैन । बिरामीको सेवा गर्दागर्दै, कर्म पूरा गर्दागर्दै म संक्रमित भएकी हुँ । हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस् । हामीले रोग रहरले सारेका हैनौं । आफ्नो जिम्मेवारी  पूरा गर्दा हो ।

पहिला नै हामी डराएर बिरामीको सेवा नगरेको भए बिरामीको अवस्था के हुन्थ्यो ? सबैको सोच सकारात्मक बनोस् । संक्रमित नर्स, डाक्टर, सुरक्षाकर्मी लगायतका आम नागरिकलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने, हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन, डाक्टर , नर्स, परिवार, साथिभाई, आफन्तजन, समाजका सबै नागरिकहरुप्रति अस्पतालको बेडबाट धन्यवाद ब्यक्त गर्दछु । सन्चो भएपछि उहीँ मनोबलका साथ हजारौ बिरामीको सेवा गर्नेछु । मलाइ नर्स हुनुमा गर्ब छ ।

बाबा मामु, नआत्तिनु हजुरको छोरी झन मनोबल उच्च बनाएर रोगलाई परास्त गरेर कर्ममा फर्किन्छे । म हारेको छैन, झन ममा मनोबल दरो भएको छ ।

(भरतपुर सेन्ट्रल अस्पताल भरतपुरमा विगत साढे दुई वर्षदेखि काम गर्दै आएकी सिम्रन तिवारीलाई कोरोना संक्रमण भएको छ । उनले आफुलाई संक्रमण भएपछि आफैँले फेसबुकमा लामो स्टाटस पोष्ट गरेकी छन् । उनकै पोष्टलाई यहाँ प्रस्तुत गरिएको हो । सम्पादक)

प्रतिकृया दिनुहोस