अध्यक्ष ज्यू, ‘हलो’ र ‘गाई’ को झमेलाबाट मुक्ति कहिले दिनुहुन्छ ?

Janakraj pathak nishannews

अध्यक्ष ज्यु,
पार्टी एकताबारे तपाइको सामाजिक सञ्जालमा निस्केको भनाईप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । तपाइले आफु कसैको दवावमा काम नगर्ने भनेर लेख्नुभएको भनाइको म खुल्ला दिलले समर्थन गर्दछु । पार्टीप्रति प्रतिवद्ध म जस्ता राप्रपाका हजारौ कार्यकताहरुलाई के विश्वास छ भने तपाई लगायत अन्य दुई नेताहरु पशुुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि कसैको दवाव र प्रभावमा काम गर्ने नेता होइनन् ।

तपाईहरु तीनै जना कसैलाई दवाव दिने या अरु कसैको दवाव सहेर काम गर्ने व्यक्तिहरु होइन । यो विषेशता भविष्यमा पनि कायम राख्न अनुरोध गर्दछु । तर यसको साथै पार्टीको भविष्यको लागि मिलेर तपाइँहरु तीन जनालाई काम गर्ने चरित्र कायम गर्न पनि म नम्र निवेदन गर्दछु । मेरो सामान्य सोचाइँमा पार्टी नेताहरुले आफ्नो आत्मसम्मान कायम राख्नु आवश्यक छ भने भोलीका लागि मिलेर एक–अर्कालाई विश्वासमा लिएर काम गर्नु झन् जरुरी छ । यसमा कहीँ कतै कमी कमजोरी नहोस् ।

अध्यक्षज्यु,
तपाइले पार्टीको आधारपत्र अनुसार जानुपर्ने कुरा गर्नुभएको छ । यो ठीक हो । तर तपाईहरु तीनै जनाले पार्टीको झण्डाबारे निर्णय गर्नुभयो । पार्टीको विधानबारे निर्णय गर्नुभयो र पार्टीमा तपाइहरु सर्वोच्च हौं भनी घोषणा गर्नुभयो । यी सबै काम तपाई तीन जनाले गर्न हुने तर पार्टीको चिन्हबारे निर्णय गर्न किन नहुने ? यसमा अलमल गर्नुपर्ने कारण के छ ?

आधारपत्रमा चिन्हबारे ६ महिनाभित्र निर्णय गर्नुपर्छ भनिएको छ । अब ६ महिना पुग्न धेरै दिन बाँकी छैन । यदी ५ महिनामा पनि यो विषयलाई टुंगोमा पु¥याउन सक्नुभएन भने कार्यकर्ताले कसरी बुझ्ने ? के हामी फेरि आ–आफ्नो घर फर्किने हो ? यो विषय तपाईहरुकै हातमा छ । यो बेला तपाईहरुले जोडबल गर्नुभएन भने इतिहासले तपाईहरुलाई धिक्कार्ने छ । यसतर्फ सोच्नु भएको छ की छैन ?

तपाइले एकतामा जोड दिनुभएको छ । यो स्वागतयोग्य छ । तपाईले हजारौं कार्यकर्ताको मनोवल उच्च राख्न पवित्र गीतालाई उचालेर कम खानु भएको थियो । त्यो बेला कसम खाँदा कहिले नफुट्ने सबै काम समयमै पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । हामीलाई के आशा छ भने पक्कै पनि तपाईले हामीलाई निरास बनाउनु हुने छैन ।

अध्यक्ष ज्यु,
रापपा (नेपाल) र राप्रपालाई गाई चुनाव चिन्हसँग माया छ र गाई अंकित झण्डासँग माया छ । यो बुझ्न सकिने कुरो हो । त्यस्तै राप्रपा संयुक्त र राप्रपालाइ पनि हलोप्रति भावना छ र हलो अंकित झण्डाप्रति भावना छ । यो पनि यथार्थता हो ।

हाम्रा साथीहरु दुबै चिन्ह र झण्डा लिएर राप्रपाको ३० वर्षे इतिहासमा चुनाव लडेको छन् । २०५१ सालको प्रत्यक्ष चुनावमा हलो चिन्हबाट राप्रपा तेस्रो ठूलो दल भएको थियो । राप्रपाका १७ जना माननीयहरु र मन्त्री भएका थिए । यो समयमा राप्रपाको हलो चिन्हबाट दुई जना हाम्रा नेताहरु प्रधानमन्त्री भए । तपाई र पशुपती शमशेर राणा मन्त्री हुनुभयो भने डा.प्रकाशचन्द्र लोहनी कार्यवाहक प्रधानमन्त्रीसम्म हुनुभयो । यो हलोको इतिहास हो । त्यस्तै गाईबाट २५ जना सांसदको साथै तपाई उप–प्रधानमन्त्री र अरु मन्त्री हुनुभयो । हामीले आज राम्रो संगठनलाई गर्न केही नसके पनि जनताको आवाज बोक्न सकेका छौं । त्यही भएर हामीलाई जनताले खुलेरै मत दिएका हुन् र दिँदै आएका पनि छन् ।

यसकारण हलो र गाई दुुबैलाई समातेर दुबै पक्षका कायकर्ताहरुलाई उत्साह दिएर अघि बढ्न झण्डामा अड्किनु कतिको जायज हो ? पार्टीको झण्डमा गाई नै राखिएको अवस्थामा चुनाव चिन्ह नै राख्नुपर्छ भन्ने छ र ? यो कतिको बुद्धिमानी हो ? अब कुन राख्ने भनेर टुंगोमा पुग्ने दायीत्व तपाईहरुकै हो । यो बेला तपाईहरुले बोल्ट डिसिजन गर्न सक्नुभएन भने पार्टीको भविश्य उज्जल नहुन पनि सक्छ । त्यसका लागि समयमै तपाईहरुले निष्कर्ष निकाल्नुपर्छ । तर कहिलेसम्म ? हामी यही प्रश्नको उत्तरको खोजमिा छौं ।

अध्यक्ष ज्यु,
तपाईले राप्रपाभित्र ‘मिर्जाफर’ प्रवृत्ति देखियो भनी गुनासो गरेको थाहा पाइयो । यो तपाईले कसलाई भन्न खोज्नु भएको हो ? यो बुझन सकिएन । पार्टीमा कुनै कुरामा असहमति राख्यो भन्दैमा त्यसलाई मिर्जाफर भन्नु गलत हो की होइन ? राप्रपाका सबै कार्यकर्ता एकता चाहन्छन् । यसको पक्षमा ‘वोल्ड’ निर्णय देख्न चाहन्छन् ।

अब हामीले एक अर्कालाई मिर्जाफर या यस्तै अन्य नाम दिए सकारात्मक सन्देश दिँदैन । मेरो सानो बुझाइमा राप्रपामा कोही मिर्जाफर छैनन् । त्यसैले आफ्नो मुल्यांकन एकपटक आँखा चिम्लेर हामी सबैले गरौं । पार्टी एकतालाई मुर्त रुप दिनतिर लागौं ।

अध्यक्ष ज्यु,
नेकपाको अक्षमता र भ्रष्टाचार, नेपाली कांग्रेसको निस्किृयताले जनता पिल्सिएका छन् । जनता अहिले तेस्रो प्रजातान्त्रिक र राष्ट्रवादी दलको खोजीमा छन् । यो ठाउँ अब राप्रपाले पूरा गर्न सक्दैन र ? सक्छ । त्यसका लागि हामीले यो एतिहासिक चुनौतिको सामना गर्न सक्नुपर्छ । हामी अहिले मिलेर नगए आउँदो दुई वर्षमा तपाईहरु देश हाँक्ने ठाउँमा पुग्ने सम्भावना नरहन सक्छ ।

आगामी दिनमा जनताका अधिकार स्थापित गर्न हामी सक्षम छौं भन्ने संकल्प बोक्न सक्नुपर्छ । यो देशलाई निकास दिने काम तपाईहरुको हो । यस्तो जिम्मेवारी पाउने बेलामा पार्टीभित्रको सामान्य समस्या हल गर्न किन हिच्किचाउनु हुन्छ ? पार्टीलाई सही ठाउँमा लैजाने जिम्मा तीन जनाको हातमा छ । त्यसकारण पनि एकापसमा मिलेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । आशा छ, तपाईहरु मेरो यो अपेक्षालाई ‘मिर्जाफर’ को बिल्ला भिराएर कमजोर बनाउने प्रयन्त हुने छैन ।

उही
जनकराज पाठक

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...