भाग्यवाद र ब्राम्हणवादमा आधारित अन्धविश्वास र चिन्तन कहिले हट्ला ?

Ganesh bk kartik 14 - गणेश वि.के.

नेपाली जनताको ७ दशक लामो संघर्षको दौरान भएका आर्थिक/सामाजिक सन्नीकट सचेतनाको संयोजनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिकताको झ्यालबाट भविष्यमा जातीय छुवाछूत र सबैप्रकारका भेदभावमुक्त सुन्दर, शान्त र प्रगतिशील नव नेपालको दलितमैंत्री तस्विर सहजै देख्न सकिने राजनीतिक अवस्थामा हामी अहिले आइपुगेका छौं ।

मुलुक संवैधानिक र राजनीतिकरुपमा जातीय छुवाछूतमुक्त बनेको छ । सोको नियमन गर्ने कानून बनेको छ भने सोको प्रभावकारी अनुगमन गर्न संवैधानिक राष्ट्रिय दलित आयोगको संवैधानिक र कानूनी सुनिश्चितता भइसकेको छ ।

दुई दुई वटा संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानमा थुप्रै सकारात्मक व्यवस्थाहरु हुँदाहुँदै पनि नेपाली दलित समुदायमाथिको आधारभूत शोषण, उत्पीडन र अपमान कायम छ । भूमिहीनता, बेरोजगारी, हलिया, हरवाचरवा, बालीघरेप्रथा र चरम श्रम शोषण जारी छ । राजनीतिक र प्रशासनिक क्षेत्रमा दलितलाई नयाँ नयाँ तरिकाले बहिष्करणको प्रकृया यथावत छ ।

हिजो सेवा हुँदा बालीघरे आज उद्योग हुँदा निजी कम्पनीको शिकार हुने धरातलीय अवस्था विद्यमान रहेको छ । दलितमाथिको विशेषतः दलित महिलामथिको हिंसा चरम अवस्थामा छ । दलितभित्र पनि मधेशी दलितको आर्थिक, राजनीतिक र सांस्कृतिक जीवन भयावह अवस्थामा छ । नयाँ संविधानको बैधानिक बाटोमार्फत सामाजिक न्यायसहितको समृद्धिको यात्रामा दलितहरुको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको पुनःसंरचना पहिलो शर्त हो ।

समृद्धिको बाधक जाति व्यवस्था 
नेपालको राजनीतिमा जातिव्यवस्था मूल अन्तरविरोधका रुपमा रहदै आएको छ । आज विश्वभरिमा जाति र धर्मका नाममा ठूला ठूला युद्धहरु भइरहेका छन् । जाति व्यवस्था व्यवस्थापन गर्न नसक्दा आतंककारी गतिविधिमा परिणत भएका छन् । आजका साना साना समस्याहरु ठूलाठूला आन्दोलनमा परिणत भएका हजारौ उदाहरण दिन सकिन्छ । हामीले नेपाली राजनीतिकको बैचारिक पक्ष हल गरेको भए पनि समाजिक तथा आर्थिक पक्ष सम्बोधन गर्न सकेका छैनौं । हाम्रो देशमा अझैँ पनि भाग्यवाद र ब्राम्हणवादमा आधारित अन्धविश्वास र चिन्तन जस्ताको त्यस्तै रहेको छ ।

हाम्रो संस्कारमा भनेको बाहुन भनेको खाली चिन्तन मनन र पुरेत्याईं गर्ने, क्षेत्रीहरु लड्ने भिड्ने गर्ने र वैश्यहरुले व्यापार गर्ने र श्रमिकहरुले शुद्रहरुले अपहेलित भएर बस्ने भन्ने जुन हजारौं वर्षदेखिको मनुवादी चिन्तन छ, यो जातपातको प्रणाली हाम्रो निम्ति अत्यन्त ठूलो बाधक छ । जबसम्म यस्तो जातपात प्रथा र श्रमलाई यसरी विभाजित गर्ने परम्परा व्यवहारतः अन्त गर्न सक्दैनौं, त्यतिबेलासम्म हामीले देशको विकास गर्न सक्दैनौं । समृद्धि त अझ टाढाको कुरा हो ।

आज यूरोप किन विकास भयो ? किनभने १५ औं शताब्दीमा त्यहाँको क्याथोलिक चर्च हाम्रो हिन्दू धर्मजस्तै अत्यन्तै जड थियो । त्यसलाई उनले सुधार गरे र त्यहाँबाट सुरु भएको पुनर्जागरण औद्योगिक क्रान्ति हुँदै प्रबोधनतर्फ अगाडि बढ्यो । डा.अम्बेडकरले जबसम्म जातपातलाई जरैदेखि उन्मुलन गरिँदैन, त्यतिबेलासम्म हामीले हिन्दू धर्मलाई मात्रै अँगालेर देश विकास हुँदैन भन्नुभएको थियो । जसका कारण भारतले पाकिस्तान र बंगलादेशमा विभाजनको पीडा आज पनि खेपिरहेको छ ।

अबको दलित आन्दोलनको मार्गचित्र
अबको दलित आन्दोलनको मुख्य संघर्ष दलाल पूजीवादका विरुद्ध र सहायक संघर्ष सामन्तवादका अवशेषहरुका विरुद्ध केन्द्रीत हुनेछ । अब हाम्रा सामुदायिक वा जातीय मुक्तिका आन्दोलनहरु वर्गीय आन्दोलन अर्थात् वर्ग संघर्षका सबै रुपको सबै स्तरमा अभ्यास गर्दै समाजवादको आवश्यकताद्धारा प्रशिक्षित गर्दै लैजाने आम संघर्षसम्बन्धी निति निर्माणमा जोड दिनुपर्दछ । यस परिवर्तित सन्दर्भमा दलाल पूँजीको ठाउँमा राष्ट्रिय पूँजीको विकास गर्ने राष्ट्रिय अभियान संचालन गरिनुपर्दछ । अब हाम्रो आन्दोलनले जनताको शक्तिलाई व्यापक रुपमा संगठित गर्नु, त्यसका आधारमा निर्वाचित जनप्रतिनीधिहरुलाई हाम्रो लक्षहरु अनुकुल नीतिहरु निर्माण गर्न दवाव दिनु र जनप्रतिनीधिसभामा हस्तक्षेप बढाउँदै राष्ट्रिय पूँजी निर्माणमा पहल गर्नुलाई जोड दिनुपर्छ ।

जातीय छुवाछूत र भेदभावको उन्मुलन गर्दै जनताको राष्ट्रिय एकता कायम गर्नुपर्दछ । यसो गर्न सक्दा हालको दलाल पूँजीको राष्ट्रिय पूँजी निर्माण हुनेछ । अहिलेको मध्यमवर्ग राष्ट्रिय पूँजीपति वर्गमा रुपान्तरण हुनेछ । दलाल पूजीपति वर्गको घोर प्रतिक्रियावादी तप्का पलायन हुनेछ । अथवा रुपान्तरण भएर राष्ट्रिय पूँजीपतिमा परिणत हुनेछ । त्यस बेलासम्म हालको गरीवी र सबै खाले विभेदका स्वरुपहरु आधारभूत रुपमा समाप्त हुनेछन् ।

अहिलेको विभेदको शिकार भएका दलित, महिला, जनजाति, मुश्लिम, मधेशीलगायत पिछडिएको क्षेत्रका जनतामाथि हुँदै आएको परम्परागत क्षेत्रीय, जातीय छुवाछूत र विभेदको आधार पनि अन्त्य भएर उनीहरु मानव मर्यादा सहितको वास्तविक बहुसंख्यक श्रमजीविवर्गमा रुपान्तरण भई संगठीत भएको हुनेछन् । त्यसपछि हामी बहुसंख्यक श्रमजीवि वर्गको भौतिक तथा साँस्कृतिक सम्पन्नताका स्थानीय, प्रादेशीक र राष्ट्रिय गौरवका योजनाहरु निर्माणमा जुट्ने छौं । जसले भूमिको सार्वजनिक स्वामित्व, सार्वजनिक सम्पतिको व्यापक बृद्धि, सहकारीमा आधारित अर्थतन्त्रको स्थपाना, शिक्षा र स्वास्थ्यमा राज्यको ग्यारेण्टी जस्ता समाजवादी आधारहरु तयार हुनेछन् ।
(लेखक नेकपाका नेता हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...