निषेधाज्ञा पालनामा कडाई : मर्निङ वाक’ निस्के पनि कारवाही, अटेर गरे एक महिनासम्म कैद

रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरु सडकमा तैनाथ

Ktm prasasan

काठमाडौँ । मध्यरातीदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा शुरु भइसकेको छ । निषेधाज्ञाको बेलामा के तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ?

एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ ।

चैत ११ गतेदेखि साउन ८ गतेसम्म भएको लकडाउनका बेला सामान्यतय मानिसहरु घर बाहिर पनि निस्किएकै थिए । मर्निङ पनि गरेकै थिए । शुरुका दिनमा मानिसहरु डराएर घर बाहिर ननिस्किए पनि दोस्रो सातादेखि त चहलपहल बढकै थियो ।

लकडाउन सकिनुअघिसम्म उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । तर, पछिल्लो दिन दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेका छन् । त्रास बढेको छ । अस्पतालहरुमा शय्याको अभाव भइसकेको छ । एकप्रकारले काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्ने स्थिती आइसकको छ ।

यसलाई रोक्न बुधबारदेखि लागु भएको निषेधाज्ञाको आदेशानुसार प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा खुबै कडाई गर्ने छ । यतिसम्मकी मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर निस्किए पनि सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने भएको छ ।

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बन्दाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्छन्, ‘अटेरी गर्ने वा मलाई केही हुँदैन भन्नेहरुलाई योपटक सजिलो छैन । उहाँहरु कारवाहीको दायरमा आउनुहुन्छ ।’

अनावश्यकरुपमा मानिस घरबाट निस्किए कारवाही हुनेछ । सार्वजनिक तथा नीजि सवारीसाधनसमेत निस्कन पाउने छैनन् । यसपाली खाद्यान्न, औषधीजन्यबाहेकका ढुवानीसमेत रोकेको प्रजिअ दाहालले बताए ।

रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरु सडकमा तैनाथ छन् । हिजो अपरान्ह महागनगरी प्रहरी आयुक्त डीआइजी विश्वराज पोखरेलले उपत्यकाका परिसर, वृत्त इञ्चार्जहरुलाई बोलाएर कडाई गर्न निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले पनि आफू मातहतका सबै ट्राफिक युनिटका इञ्चार्जहरुलाई बोलाएर कडाई गर्न निर्देशन दिएका छन् । निषेधाज्ञामा हिड्न पाउने छुट भएका बाहेक जो कसैलाई पनि हिडडुल गर्न रोक्न उनले निर्देशन दिएका छन् ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन् । काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ ।

जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन । सवारीसाधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध बोक्ने गाडी चल्न पाउनेछन् ।

त्यसैगरी विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।

पत्रकारका लागि के व्यवस्था छ भन्ने जिज्ञासामा सकेसम्म न्यून सङ्ख्या हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने काठमाडौँका प्रजिअ दाहालले बताए ।

कोभिड १९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्ने छ ।

अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा विहान ९ः०० देखि १०ः३० बजेसम्म र बेलुका ३ः०० देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । त्यसबाहेकका अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने । मुल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारवाही गरिने छ । आदेश उल्लंघन गरे कडा कारवाही हुने चेतावनी दिइएको छ ।

प्रतिकृया दिनुहोस