राष्ट्रकवि घिमिरेको आज १० बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

Madhavprasad ghimire

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । १०१ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएको थियो ।

घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली' का साथै तारादेवीले गाएको 'मनको बाँध' चलचित्रको 'फूलको थुङ्गा बगेर गयो' तथा नारायणगोपालले गाएको 'आजै र राति के देखेँ सपना'जस्ता गीत पनि रचेका थिए ।

उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई ‘राष्ट्रकवि’को रूपमा अभिनन्दन गरिएको थियो ।

प्रतिकृया दिनुहोस