राष्ट्रिय ध्वजावाहकको पक्षमा : आफ्नो भनेको आफ्नै हो

Hira bk kartik 10 - हिरा विश्वकर्मा

मैले आजभन्दा तीस वर्ष अगाडि लुफ्थान्साको काठमाडौंदेखि फ्र्यान्कफर्टसम्मको जहाज चढेको थिएँ । मेरो जीवनको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हुँदा मलाई अन्य वायुसेवाको बारेमा केही पनि थाहा थिएन । अतः सो वायुसेवाले जे सेवा दियो, त्यो मेरो लागि नौलो र सम्झनायोग्य थियो । संसारकै प्रतिष्ठित वायुसेवा मध्येको एउटा भएको हुँदा त्यसको सेवा नराम्रो हुने कुरै भएन । तर केही वर्षपछि यसले युरोपवाट नेपालमा हुने उडान बन्द गर्यो ।

यहाँबाट जाँदा हिथ्रो विमानस्थमा ओर्ले पनि फर्किदाँ भने ग्याटवीक विमानस्थलवाट फर्किने साइत जुर्यो । लण्डनवाट फ्र्यान्कफर्ट, दुवइ र बीचमा हजयात्रीहरुलाई समेत लिएर आउनुपर्ने भएको हुँदा साउदी अरेवीयाको जेद्दा विमानस्थल हुँदै आउने रुट पर्यो । ग्याटवीक विमानस्थलको नेपाल वायुसेवा निगमको काउण्टर जसलाई कुनै एउटा वेलायती सेवा प्रदायकले संचालन गरेको थियो । त्यसमा तत्कालीन शाही नेपाली वायुसेवा निगमका स्टेशन म्यानेजर भेटिए ।

मलगायत केही नेपाली तथा विदेशी यात्रुहरु पनि थिए । सबै यात्रीहरुलाई उनले भनिरहेका थिए । लगेज एलाउन्स खासमा २५ किलो हो । तर तपाईहरुको सुविधाको लागि मैले ४० किलोसम्म कुनै अतिरिक्त रकम नलिई लगिदिन्छु । यसो भन्ने बित्तिकै एकजना नेपालीले त्यसको उपयोग गरिहाले । मेरो लण्डनको करीव २ हप्ताको बसाईपछि नेपाल फर्किन लाग्दा जहाजको ढोकाभित्र छिर्ने बित्तिकै नेपालमै छिरेको जस्तो अनुभव भयो । मलाई लाग्छ विदेशमा धेरै समय बिताएकाहरुका लागि नेपाल वायुसेवा निगमप्रतिको सबैभन्दा ठूलो लगाव यहि हो । देशको माटो नेटेक्दै जहाजमै त्यसको अनुभूति गर्नु ।

त्यस्तै २५ वर्ष अगाडि बम्बैबाट काठमाडौं फर्किने क्रममा जहाजमा चढियो । निर्धारित समयभन्दा २ घण्टा ढिलो थियो । अहिलेसम्म मैले जतिपटक नेपाल वायु सेवाको जहाज चढेको छु समयमा कहिल्यै पनि उडेको पाएको छैन । त्यो रोग आजभन्दा तीन दशक पहिले थियो, अहिले पनि त्यस्तै होला । काठमाडौंबाट बम्बैको उडान सुरु भएको धेरै भएको थिएन । अतः प्रचारको लागि करीव १३ हजार भारुको प्याकेजमा थुप्रै भारतीयहरु काठमाडौ आइरहेका थिए । त्यसमध्ये एउटा हनिमुन जोडी पनि थियो । म र मेरो मित्र सँगैको सिटमा थियौं । तर त्यो हनिमुन जोडी छुट्टा छुट्टै परेछन् । यस्तोमा विमान परिचारिकालाई अप्ठेरो लागेछ अनि हामीलाई सोधिन् यो हनिमुन जोडीलाई छुटायाउन अप्ठेरो पर्यो अतः तपाईहरु उनीहरुको सीटमा कृपया गइदिनु हुन्छ ? पहिले त हामीलाई असजिलो महशुस भयो । किनभने हामीले सँगै चेकइन गरेको हुँदा सँगै सीट पाउनु स्वाभाविक थियो । अनि हामीलाई उठाउन खोज्दा एकप्रकारले रीस पनि उठ्यो । तर विमान परिचारिकाको आग्रहको अगाडि हामीले नाई भन्न सकेनौं । विमान परिचारिकाको त्यस्तो व्यवहार देखेपछि विमानमा भएका सबै भारतीय पर्यटकहरु खुशी नहुने कुरै भएन ।

२० वर्ष अगाडिको कुरा हो । काठमाडौंबाटै मुम्वई जाने उडान थियो, निर्धारित समय भन्दा दुई घण्टा त्यसै ढिलो भएको थियो । बल्ल तल्ल वोईङ विमान उड्यो । तर तीन घण्टाको उडानमा एक घण्टा जति उडिसकेको थियो, विमान परिचारिकाले घोषणा गरिन प्राविधिक कारणले गर्दा विमान पुनः काठमाडौंतर्फ फर्किदै छ । विमान लगभग भरिभराउ थियो । आरएले दिएको खाना, मदिरा तथा वियरमा सबै यात्रु मस्त थिए र विमानभित्र कोलाहलनै थियो । तर विमान परिचारिकाको त्यस्तो घोषणा भएपछि विमानभित्र सन्नाटा छायो । गन्तव्यमा पुग्नुपर्ने विमान पुनः काठमाडौंमै फर्किनु भनेको कुनै राम्रो कुरा त थिएन । काठमाडौंमा पुनः अवतरण गरेपछि एकघण्टा विमानस्थमा रोकियो । त्यसबीचमा सुरक्षा संकेत गर्ने एउटा कुनै डल्लो जुन फेर्न मिल्ने वस्तु थियो त्यो छुटेको रहेछ । त्यो पुन विमानमा ल्याएपछि विमान मुम्वईका लागि उड्यो । साँझको ६ बजे पुग्नुपर्ने उडान रातिको १० बजे पुग्यो । हामीले डर र खुशी मिश्रित स्वरमा भन्यौं आरए यस्तै हो ।

मलाई जानकारी भएअनुसार काठमाडौं र दिल्लीको उडानमा भारतीय विमान सेवाहरुले खाना त दिन्थे । तर वियर वा मदिरा दिँदैनथे । तर आरएले दिने भएको हुँदा भारतीय तथा नेपाली यात्रुहरुको रोजाई आरए हुन्थ्यो । पछि भारतीय विमान सेवाहरुको व्यापार खस्किने डरले उनीहरुले पनि आरएको प्रतिस्पर्धामा त्यस्तो सेवा दिन थाले ।

विगत तीन दशकको अवधिमा मैले धेरै नेपाल वायु सेवा लगायत अन्य वायुसेवाका जहाजहरु चढेको छु । तर एअर चाईनाको उडान मेरो लागि अविश्मरणीय र सम्झन लायक रह्यो । मंगोलियाको राजधानी उलनवटोर जाने क्रममा वेईजिङ वा सिउल हुँदै जानुपर्ने भयो । छिमेकी देश भए पनि चीनलाई हेर्ने र बुझ्ने अवसर नमिलेको हुँदा हामीले वेईजिङको रुट रोज्यौं । अतः हामीले काठमाडौं, ल्हासा, छेन्दु र वेईजिङ हुँदै उलनवटोर जानुपर्ने भयो । काठमाडौंदेखि ल्हासाको उडान करीव १ वजे भए पनि ३ घण्टा अगाडि विमानस्थल पुग्ने क्रममा घरमा खाना जुरेन । अन्य अन्तर्राष्ट्रिय उडानमा पेटभरि खान दिने भएको हुँदा विमानमा खान पाइहालिन्छ भन्ने लागेर घरको दालभातलाई छाडियो ।

निर्धारित समयमा ल्हासाको लागि यरचाईनाको बिमान उड्यो । विमान परिचारिकाहरु सबै एकनासका २५ वर्षमुनीको देखिन्थे । उनीहरुको सत्कारमा खोट लगाउने ठाउँ थिएन । तर जब खाना बाडियो, हामीलाई लाग्यो त्यो स्टार्टर होला, केवल चिया कफि तथा एउटा सानो वन दिइएको थियो । जुन खाना आरएले आन्तरिक उडानमै दिन्थ्यो । करीव सवा एक घण्टाको अवधिमा ल्हासा विमानस्थलमा ओर्लदासमेत केही खान दिईएन । ल्हासा विमास्थलमा हाम्रो करीव २ घण्टाको ट्रान्जिट भयो । त्यहाँबाट करीव ३ घण्टाको ल्हासा छेन्दु उडान भयो । बिहानदेखि त्यहि वन र चियाको भरमा बसिरहेका हामीले तीन घण्टा लामो उडानमा केही मीठो र पेटभरि खान पाईने आश गरेका थियौं । तर त्यो आशमा त्यतिवेला तुषारापात भयो, जुन बेला हामीले इटालियन स्वादको चीसो चाउचाउ त्यो पनि खाजा खाए जस्तो दिइयो । छेन्दुवाट वेईजि¨को करीव ५ घंटाको उडानमा पनि त्यहि वन र चिया खाईयो । राती दश वजे वेइजि¨ पुगे पनि होटल नजिकको एउटा रेष्टुरामा गएर भोक मार्ने अवसर बल्ल तल्ल पाईयो ।

हामी फर्किदा उलनवटोरवाट बेइजिङका लागि बिहानै १० बजेको उडान लिने कार्यक्रम थियो । तर खराव मौसम र चीन तथा मंगोलियाको असमान्य द्वीपक्षीय सम्बन्धको कारणले गर्दा हाम्रो उडान रातिको आठ बजे मात्र हुने खवर आयो । हामीलाई बिहानैदेखि बिचल्लिमा पारेको हुँदा एयर चाईनाले स्थानीय होटलमा केही समय बस्ने व्यवस्था मिलाएको रहेछ । हरेक कोठामा दुईजना बस्नुपर्ने, होटलको कुनै पनि सेवा पैसा लिएर मात्रै लिनुपर्ने र हिड्ने बेलामा एकदमै सामान्य खाना दिइयो । विमानभित्रको सेवा त मैले पहिले नै वर्णन गरिसके । फर्किदाँ पनि सेवामा कुनै नयाँपन थिएन । मलाई लाग्यो एर चाईना जस्तो चीनको सबैभन्दा ठूलो विमान कम्पनीको सेवा त्यस्तो छ भने अरुको कस्तो होला । मेरो यस्तो अनुभव रहेको हुँदा मेरो जिज्ञाशा हुन्छ चीनको विमान सेवा उपयोग गर्ने अन्य नेपाली यात्रुहरुको अनुभव कस्तो हुन्छ ?

लामो समय सीमित विमानमा खुम्चिएको हाम्रो राष्ट्रिय ध्वजावाहकले पर्याप्त विमान पाएको छ । तर नेवानि ठूलो घाटामा छ । विगतको गौरवमय परम्परा यसले कति कायम गरेको छ पछिल्लो केही वर्ष यसको सेवा प्रयोग नगरेको हुँदा थाहा छैन । तर जहाँ जहाँ नेपालीहरुको बाहुल्यता छ, त्यहाँ यसले सेवा विस्तार गरेमा यो असफल हुने कुरै छैन । किनभने विदेशी भूमिमा विमानभित्रै आफ्नोपन पाउने अन्य कुनै विमान सेवा हुँदैनन । विमान सेवाको सफलता सुरक्षा, समयमा उडान, विश्वसनीयता तथा आतिथ्य सत्कारमा भर पर्छ । मेरो विचारमा हाम्रो ध्वजावाहक समयमा उडान तथा विश्वसनीयतामा केही कमजोर भए पनि अन्य दुईमा अव्वल छ यसैलाई पूजीकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...