डुइङ बिजनेसमा १६ स्थान सुधार, नेपाल व्यवसाय गर्न सजिलो मुलुक

Nepal sudhar

काठमाडौं । नेपालभित्र व्यावसायिक गतिविधि सञ्चालनको वातावरणमा गत वर्षभन्दा निकै सुधार भएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘डुइङ बिजनेस प्रतिवेदन २०२०’ मा नेपाल १९० देशमध्ये १६ स्थानले सुधार गर्दै यस वर्ष ९४औँ स्थानमा पर्न सफल भएको छ ।

डुइङ बिजनेस प्रतिवेदनका अनुसार दक्षिण एसियामा नेपाल व्यवसाय गर्न सजिलो मुलुकमध्ये तेस्रोमा परेको छ । नेपालभन्दा अगाडि भारत ६३औँ र भुटान ८९औँ स्थानमा छन् । नेपालभन्दा पछाडि श्रीलंका ९९औँ, पाकिस्तान १ सय ८औँ स्थानमा छन् ।

व्यवसाय गर्न सजिलो बनाउने सन्दर्भमा उल्लेख्य सुधार गर्नेमा दक्षिण एसियाली मुलुकहरू परेका छन् । दक्षिण एसियाका भारत, पाकिस्तान र अफगानिस्तान डुइङ बिजनेसमा सबैभन्दा सुधार गर्ने २० मुलुकमध्येमा परेका छन् । व्यवसाय गर्ने हिसाबले विश्वमा सबैभन्दा सजिलो मुलुक न्युजिल्यान्ड बनेको छ । त्यसपछि क्रमशः सिंगापुर, हङकङ, डेनमार्क र दक्षिण कोरिया परेका छन् ।

मुलुकमा व्यवसाय गर्न सजिलो अथवा अप्ठ्यारो अवस्था बुझाउने ‘डुइङ बिजनेस प्रतिवेदन २०२०’ मा नेपालले उत्साहजनक सुधार गरेको छ । सन् २०१९ को सुरुआतमा नेपाल ११०औँ स्थानमा थियो । ५ वर्षअगाडि सन् २०१५ मा समेत नेपाल ९४औँ स्थानमै थियो ।

विश्वका १ सय ९० देशहरूमा व्यवसायसँग सम्बन्धित नियम–कानुनहरूको अवस्था मूल्यांकन गरेर हरेक वर्ष डुइङ बिजनेस प्रतिवेदन प्रकाशन गर्ने गरिन्छ । विदेशी लगानीकर्ताले कुनै पनि देशमा लगानी गर्ने निर्णय गर्नुअघि डुइङ बिजनेस प्रतिवेदनमा सम्बन्धित मुलुकको अवस्थालाई समेत हेर्ने गर्छन् ।

१० सूचकमध्ये ऋण प्राप्ति र अन्तरदेशीय व्यापार, साना लगानीकर्ताको सुरक्षा, समस्याको समाधानमा नेपालको अवस्था राम्रो छ । ऋण प्राप्तिमा नेपाल ३७औँ, अन्तरदेशीय व्यापारमा ६०औँ, साना लगानीकर्ताको सुरक्षामा ७९औँ र समस्या समाधानमा ८७औँ स्थानमा छ । व्यवसाय सुरु गर्ने सूचकमा नेपाल १३५औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालमा कुनै नयाँ व्यवसाय सुरु गर्न २२.५ दिन लाग्छ ।

प्रतिवेदन तयार गर्दा विभिन्न १० सूचक र त्यसभित्र पनि अनेकौँ उपसूचकका आधारमा व्यवसाय गर्ने वातावरण कस्तो छ भनेर तुलना गर्ने गरिन्छ । व्यवसाय दर्तादेखि बन्द गर्दासम्म पूरा गर्नुपर्ने प्रक्रियामा लाग्ने अवधि, लागत, जनशक्ति, कागजपत्रका आधारमा कुन देशमा व्यवसाय गर्न कति सजिलो हुन्छ भनेर तुलना गर्ने गरिन्छ । प्रतिवेदनका अनुसार नेपालले गत वर्षको तुलनामा निर्माणको अनुमति लिने, ऋण लिने, विदेशमा व्यापार गर्ने तथा करार कार्यान्वयन गर्ने प्रक्रियाहरूमा सुधार गरेको छ ।

सम्पत्ति दर्तासम्बन्धी सूचकमा सुधार आएको छ । सम्पत्ति दर्ता गर्दा लाग्ने समय एक दिन बढे पनि लागत भने कुल मूल्यको १४ दशमलव ८ प्रतिशतबाट घटेर ८ दशमलव ६ प्रतिशतमा झरेको छ । अस्थायी भवन निर्माणको अनुमति लिने लागत घटेको हो ।

भवनको गुणस्तर नियन्त्रण सूचकमा सुधार आएको छ । त्यस्तै, ऋण लिनेसम्बन्धी सूचकमा पनि नेपालले सुधार गरेको छ । खासगरी, कर्जा सूचनाको गहिराइसम्बन्धी सूचकमा उल्लेख्य सुधारका कारण ऋण लिन सजिलो भएको प्रतिवदेनको ठहर छ । त्यस्तै, सीमापार व्यापारमा लाग्ने अवधि र लागत घटेका कारण सोसम्बन्धी सूचकमा पनि नेपालले सुधार गरेको छ ।

व्यवसाय सुरु गर्ने र सम्पत्ति दर्ता गर्ने प्रक्रिया अझै खराब भएको प्रतिवेदनले उल्लेख गरेको छ । व्यवसाय सुरु गर्ने वेला सामाजिक सुरक्षा कोष तथा स्थानीय तहको वडामा पनि दर्ता गर्ने व्यवस्थाका कारण अवधि र लागत बढेकाले त्यसमा नेपालको स्तर खस्केको हो ।

वडा कार्यालयमा व्यवसाय दर्ता गर्दा २ दिन तथा सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा ५ दिन समय थप लाग्छ । सामाजिक सुरक्षा कोषमा निःशुल्क आबद्ध हुन सकिने भए पनि वडामा भने २ हजार शुल्क तिर्नुपर्छ । बिजुली जोड्ने, अल्पसंख्याक लगानीकर्ताको संरक्षण गर्ने, कर तिर्ने र टाट पल्टेको समस्या समाधान गर्नेसम्बन्धी व्यवस्थामा भने कुनै परिवर्तन नभएको प्रतिवेदनले उल्लेख गरेको छ ।

गत वर्ष डुइङ बिजनेस प्रतिवेदनमा नेपालको स्थान कमजोर हुँदा त्यसलाई सरकारले प्रतिष्ठाको विषय बनाएको थियो । त्यसो हुँदा यसबीचमा व्यवसायसम्बन्धी कानुन सुधारमा सरकारले उल्लेखनीय कदम चालेको प्रतिवेदनले औँल्याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...