शुक्रबार साँझसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

Corona death all use

काठमाडौं । अपरान्ह साढे ४ बजे आयोजित स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा ९९ पुगेको थियो , तर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या साँझसम्ममा १०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । साँझ धनुषामा मृत्यु भएका एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या १०० पुगेको छ ।

श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।

कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

सिराहाको बिष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको पनि कोशीमै उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ३ जेठमा पुष्टि भएको थियो ।

बाह्रबिसे, सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केसीको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा शिशुलाई जन्म दिएकी उनी भोलिपल्ट डिस्चार्ज भएर राम्चेस्थित घर पुगिन् । स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य केन्द्र, बाह्रबिसे हुँदै धुलिखेल अस्पताल पुगेको उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

साउन ६ गतेसम्म मृतकको संख्या ३९ थियो । तर वीरगञ्जमा समुदाय स्तरको संक्रमण देखिएसँगै मृतकको संख्या बढ्यो र १४ गतेसम्म मृतकको संख्या बढेर ४९ पुगेको तथ्यांक छ ।

यो संख्या दोब्बर बढी हुन भने जम्मा १६ दिन लाग्यो । साउन ३० गते अपराह्न साढे ४ बजे आयोजित स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङमा दिएको जानकारीअनुसार मृतकको संख्या ९९ थियो । त्यसमा वीरगञ्जमा मृत्यु भएका बाराका एक युवकको तथ्यांक थिएन ।

प्रतिकृया दिनुहोस