सरकारले पहुँचको आडमा आचरण र मर्यादा भुल्ने सभामुखलार्ई उन्मुक्ति दियो र ?

Kumar panta kartik 4 - कुमार पन्त ‘शिशिर’

समाजमा सकारात्मक कर्मको सम्मान तथा नकारात्मक कर्म प्रतिको तिरस्कार र घृणाले मात्र उन्नत समाज विकास सम्भव छ । समाज विकास निरन्तर गतिमा अगाडि बढिरहेकै हुन्छ । तर यसमा मानव समुदायको सचेततापूर्वक पहलले त्यसलार्ई उन्नत, मानवतायुक्त तथा आधुनिक समाजमा रूपान्तरण गर्न सम्भव हुन्छ । समाजको प्रतिबिम्बको रूपमा राजनीतिक दल, विभिन्न सामाजिक संघसंस्था र सरकार हो भन्ने बिर्सन मिल्दैन । नेपाली समाजको वर्तमान अवस्थालार्ई पनि यहि समाजशास्त्रीय मान्यताबाट हेर्न सके आजको अवस्थालार्ई सजिलोसँग मनन् गर्न सकिन्छ ।

पछिल्लो समयमा नेपाली समाजमा केही सामाजिक घटनाहरू प्रतिनिधि घटनाको रूपमा घटित भएका छन् । त्यसलाई बुझ्ने सवालमा समेत सामाजिक रूपमा विभाजित दृष्टिकोण हामी देख्न सक्छौ । यस आलेखमा घटनाको पक्ष र विपक्षमा तर्क गर्नु भन्दा पनि त्यस घटनाक्रम पछाडि सामाजिक तरंग तथा नेपाली मनोविज्ञानका बिषयमा उल्लेख गर्ने सानो प्रयत्नको रूपमा प्रस्तुत गर्न खोजिएको छ ।

नेपाली समाजमा सकारात्मक रूपबाट कुनै पनि घटनालाई छलफल गर्नु भन्दा नकारात्मक पाटोलाई पहिला असरल्ल चर्चा गर्ने गरिन्छ । कुनै पनि सकारात्मक काम भयो भने त्यसलाई स्वभाविक रूपमा हुने कुरा हो भनी संकुचित गर्ने र नकारात्मक कुरा खोतल्ने अनि त्यसलाई हुनुभन्दा बढी नकारात्मक चर्चा गर्ने प्रवृत्ति व्याप्त छ र त्यसैमा विभाजित तथा निर्देशित विचारहरू सामाजिक सञ्जालहरूमा सञ्चारित गरिन्छ । द्वन्द्वात्मक भौतिकवादले सबै घटनालाई एकको दुईमा विभाजनको रूपमा बुझ्न हामीलाई प्रेरित गर्छ । यदि यसो हो भने सबै घटनाहरूको सहि पाटो र गलत पाटो अनिवार्य हुन्छ । सकारात्मकताको मात्रा बढी हुँदा त्यसलाई सकारात्मक घटनाको रूपमा र नकारात्मकता बढी हुँदा त्यसलाई गलतको रूपमा बुझ्ने र त्यसै अनुसार धारणा बनाउँदा सहि हुन्छ ।

नेपाली समाजमा प्रायःजसो पूर्वनिर्धारित धारणा नै सार्वजनिक गरिन्छ । त्यसको उदारण बर्तमान सरकारको कामका सन्दर्भमा विभिन्न आलोचनालाई लिन सकिन्छ । हो आम नेपाली जनताको तीब्र बिकास र समृधिको आकाक्षालाई त्यही रूपमा बर्तमान सरकारले अगाडि बढाउन सकेको छैन र सक्ने कुरा पनि होइन । बिकास निर्माण, शुसासन, कानुन व्यवस्थाको पालन लगायतका कुराहरू जनताले जीवन व्यावहारमा अनुभूति गर्न केही बर्ष लाग्न सक्छ । तर भए गरेका सकारात्मक कार्यहरूको बारेमा पनि आम रूपमा बहस भयको हामी कम पाउछौ ।किन यसो भयको होला भनी यदि हामी घोत्लिन्छौ भने यसमा दुई वटा कारण हामी पाउन सक्छौ ।

एउटा कारण केही जमातलाई यो ब्यबस्था र परिबर्तन पटक्कै मन परेको छैन ।यसको कमजोरिलाई बढाइचढाइ गरेर भयपनी वा कपोलकल्पित आक्षेप तयार गरेर भए पनि परिबर्तन र अग्रगमन को बिरूद्ध आमजनतामा भ्रम पैदागर्न सकिन्छकी भनेर मरिहत्ते लागि रहेकै छन । तिनिहरूबाट सकारात्मक बहसको अपेक्षा गर्न सकिने कुरै भएन ।

अर्को कारण नेपाली समाजको चिन्तन नकारात्मक कुराको बिरूद्ध घनिभुतरूप आवाज उठाउने तर सकारात्मक कामलाई यो त स्वभाविक नै हो भनेर त्यसको समर्थनमा सामान्य दुई शब्द पनि खर्च नगर्ने । यसो हुँदा नकारात्मक कुराको प्रचार आमरूपमा हुने र सकारात्मक कुरालाई सधैं ओझेलमा राख्ने । नेपाली समाजको यो प्रवृत्तिको कारणबाट समेत राम्रा र सहि कामको बहस कम भएको हो भन्न सकिन्छ ।

नेपालमा २३ वर्ष पछाडि छिमेकी देश चीनबाट महामहिम राष्ट्रपति सि चिनफिङको दुई दिनको राजकीय भ्रमण सम्पन्न भएको छ । यसबाट नेपालले कति आर्थिक, राजनीतिक तथा कुटनैतिक फाइदा लिन सक्यो ? त्यो सरकारले सार्वजनिक गर्ला । तर यस भ्रमणबाट नेपालको अन्तर्रास्ट्रिय छवि उचो भएको छ । यो भ्रमण गराउन नेपालको वर्तमान सरकारले खेलेको भुमिकालाई किन मुक्तकण्ठले प्रशंसा नगर्ने ? हामीले वर्तमान नेपाल सरकारलार्ई धन्यवाद दिन कन्जुस्याइँ गर्नुपर्ने कुनै कारण छैन । महामहिम सि को भ्रमण पछाडि केही विद्वानहरूले सार्वजनिक संचार माध्यममा ‘महामहिम सि उनको स्वार्थ अनुरूप नेपाल भ्रमण गरेका हुन् । यसमा नेपाल सरकारले नाक नफुलाए हुन्छ’ लगायत भनेको पनि सुनियो ।

कांग्रेस नेता अफताब आलामले एउटा जघन्य अपराध लुकाउन झण्डै दुई दर्जन मानिसलाई जीउँदै इट्टाभट्टाको चिम्नीमा जलाएर हत्या गरेको र उनलाई सर्वोच्च अदालतले दश वर्ष अगाडि नै पक्राउ गर्न आदेश दिँदासमेत राजनीतिक संरक्षणको कारणले उनी पक्राउ परेका थिएनन् । वर्तमान सरकारको अपराधप्रति शुन्य सहनशीलताको कारणले उनी पक्राउ परे । के यसमा मत विभाजित हुन जरूरी छ र ? के हामी सबैले सरकारको यस्ता सकारात्मक कामको प्रशंसा गर्दा समाजमा सकारात्मकता नै बढ्ने होइन र ? के यो सरकारले राजनीतिक पहुँचको नाममा आचरण र मर्यादाविरूद्ध गतिविधि गर्ने सम्मानित सभामुखलार्ई उन्मुक्ति दियो र ? कानुन सबैलाई समान हुन्छ भन्ने आभास वर्तमान सरकारले आमजनतामा दिलाएको कुराको प्रशंसा आम जनस्तरमा हुनुपर्छ ।

सकारात्मक कुराको पक्षमा नेपाली समाज एकताबद्द हुनु आजको आवस्यकता हो । नकारात्मकता मात्र बाँढेर समाजमा घृणा फैलाउनेलाई तिरस्कार गर्ने र सकारात्मकता, उन्नत तथा आधुनिक समाज निर्माणमा योगदान दिनु हामी सबैको कर्तव्य पनि हो । तर, यसमा हामीले किन कन्ज्यूँस्याई गरिरहेका छौं ? सकारात्मक कुराको समर्थन गर्ने र नकारात्मक कुराको विरोध गर्ने कुराको थालनी हामीले किन गरिरहेका छैनौं ? यसतर्फ हामीले सोच्ने हो समाज परिवर्तन हुन कुनै समय लाग्दैन ।

(लेखक अखिल नेपाल होटल मजदुर संगठनका बरिष्ठ उपाध्यक्ष हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...