मञ्चबाट चर्काे भाषण गर्दैमा जातीय विभेदको अन्त्य हुँदैन

Devi kafle 2 kartik - देवी काफ्ले

गरीबको झुपडीमा अझैँ चुल्हो बलेन
श्रम चल्यो सिप चल्यो पानी चलेन ।

माथी खरीबोटबाट बिहानै माल्दाई बेशीतिर झरे । आँगनको छेऊमा टुप्लुक्क देखा परे । बिहानको नमस्कार पनि टक्रयाए, मिठो मुस्कानसहित केही निहुरिएर । एकछिन सञ्चो बिसञ्चो भलाकुसारी भयो । हिजो अस्ती त आउनुभएन, माल्दाई कता जानु भाथ्यो र ? ‘अम्लिसो काट्न गथेँ । अब हिउँदलाई दाउरा पनि बनाम्न परो केरे । भिरमुनी कान्छा बाले बुटो काट्दे माइला भन्नुन्तो र त्यतै कामतिरै अल्झें मेडम’ उनले एकै सासमा सबै कामको विवरण सुनाए ।

टोपीको घेरो मुनीबाट हातले कन्याउँदै यताउता हेरे र ङिच्च दाँत देखाउँदै चेप्रो पार्दै भने, ‘मेडम चिया त हजुरकै हातको मिठो ।’ म पनि मक्ख परेँ मेरो पकाउने कला सर्बत्र भएछ भनेर ।

म पनि पैसा तिर्ने पाहुना थिएँ त्यस गाउँमा । म बसेको घर बाहुनको । म बाहुन । म तराईमा हुर्के बढेकी पहाडको रीतिरिवाज खासै थाहा नभएको । माल्दाईले फेरि आवाज दिए, ‘मेडम आज हजुरको लागि एउटा चिनो बनाउनु छ ।’ म के के होला भन्ने सोच्दै छिरे भान्सामा । भान्साबाट चिया लिएर बाहिर आएँ । माल्दाई आँगनको डिलनेर मुडामा बस्नु भाथ्यो । घरबेटीलाई चिया दिएँ । मेरो हातमा दुईवटा गिलास थियो, सरासर दाहिने हातको गिलास माल्दाईलाई दिएँ । देब्रेमा मेरो लागि चिया ।

माल्दाईले गिलास समातिहाले । उता बाटोतिरबाट आवाज आयो, ‘हातको गिलास पनि छोइयो कति ख्याल नअर्नु भको मेडम ?’ म हेरेको हेरेई भएँ । माल्दाईले ‘लौ बर्बाद खै दिनुस् मेडम । तो च्या पनि छोइयो नी’ भन्दै अध्याँरो अनुहार लगाए । मैले ‘नाई दिन्नँ यो चिया मेरै हो’ भने । जितेरै खाएँ । माल्दाई अम्रिसोको मूठो अगाडि राखेर मुट्ठी पार्न लागे । म हेर्दै थिएँ । हेर्दाहेर्दै राम्रो छिनिक्क परेको कुचो तयार भयो ।

माल्दाईले मलाई भने, ‘मेडम हजुरलाई उपर अरू केही दिन त सकिनँ, यो कुचो जतन साथ लैजानुस् है ।’ म अवाक् थिएँ । मनमा अनेक तर्कहरू निस्किरहेका थिए । तिहार आउने बेला थियो । मलाई फेरि अथ्र्याए । लक्ष्मी पूजाको दिनमा लक्ष्मी यही कुचोले भित्र्याउनु है भनेर ।

एउटा हातको गिलास अर्को हातले दिँदा छोइन्छ भनेर छोइछिटो हाल्ने हामी उनै कथित अछूतले दिएको कुचोले लक्ष्मी पूजाको दिनमा लक्ष्मी भित्र लैजाँदा लक्ष्मीले मलाई भनिनन् कि यो त अछूतले तयार गरेको कुचो हो । आजसम्म पनि मैले त्यो कुचो घरभित्र डुलाउँदै छु । भान्सादेखि कोठा चोटा चाहार्ने त्यो कुचो अछूतले बनाएको हो । तर, म कहाँ निर्धक्क सबैतिर छुँदैछ ।

कुनै दिन न त मेरा पूजा कोठामा बिराजमान भगवानले भन्नुभएको छैन कि यो अछूतले बाटेको कुचोले मलाई नछोऊ भनेर । न त कुनै पण्डित या धर्म ब्याख्याताले भन्नु भएको छ की कुचो कसले बाटेको भनेर । अनि हामी छूत र अछूत छुट्टयाउने महान् सोच भएका बुद्धिजिविले उसले छोएको पानीमा बाराबार किन ?

एकदिन काजी दाईको घर छाउने चटारो थियो । धन्सारको तल एउटा कुनामा सेलरोटी पाकेका थिए । ‘आज कुनै पर्व हो र भाउजु ? मैले सोध । उहाँको जवाफ थियो, ‘आज घर छाउने दिन खेतालालाई मिठो ख्वाउनु पर्छ नी नानी ।’ मैले सोधे ‘खोई खेताला को–को छन् त ? यसो यताउती हेरेँ । तिनै माल्दाई घरको धुरीबाट कराए ‘मेडम खरले घर छाको देख्नो छ ? ल हेर्नु यसरी छाएपछि पानी चुहिन्नँ । घर नी बान्की मिल्या दियाखिन्छ । हेर्नोस् त ।’

एकछिन पछि खाजा खाने बेला सबै तल ओर्लिए । अरु दुईजना सँगै पिँढीको छेऊमा थिए । माल्दाई आँगनको छेऊमा । उनलाई अलक्क रोटी अचार दिइयो । अलक्क पानी आंखोरामा दिइयो । जुन घरमा मान्छे जुनी काट्छ, त्यो घरको धुरीमा चढेर छाउने बेलासम्म छूत जस्तै भए । तर खानेबेला फेरि अछुत !

मन्दिरको गाह्रो लगाऊने माल्दाई काम सकिएपछि त्यहि मन्दिरमा पूजा गर्दा अछुत ? ढुंगेधारालाई ढुंगा कुँदेर धारो बनाइसकेपछि जब पानी खस्छ, अनि उनै अछुत ?

म सानै छँदाको घटना सम्झे । तल आइकहाँं ठुलाबाले साईला दमाईलाई भारी बोकाएर ल्याए भारी गह्रौं थियो होला । पिँढीमा बिसाउन खोज्दा आइले चिच्याएर भन्नुभो, ‘साईला ढोकाको भित्र घाम पुग्ने ठाऊसम्म लगेर बिसा भारी । मतलव ढोकाभित्र घाम पर्ने ठाऊसम्म उनीहरूलाई भारी लैजान बर्जित थिएन । तर भारी रोकेपछि तुरून्त बाहिर आउनुपर्ने । अर्नि खाँदा बाहिर आँगनको डिलमा बस्नुपर्ने । जुन सामान उसको पिठ्युँमा रहदाँ छोइएन, घरभित्र पसेपछि उसले छुन नहुने । छोयो भने छिटो हाल्ने ?

पूजाका लागि गह्रौं भारी ल्यायो, भित्र लगेपछि त्यो सामान देवतालाई चढाईयो । तर त्यो सामान चोखो, जसले पसिना बगाउँदै बोकेर ल्यायो, त्यो बोक्ने पिठ्यूँ अछूत ? वास्तवमा अछूत त हाम्रो सोच हो । किन हामी त्यो सोचलाई बदल्न सकेका छैनौं ?
समाज बदल्न पहिले पुरातनवादी सोच बदल्नुपर्छ भन्ने ज्ञान हामीभित्र नभएको हो की बदल्न नचाहेको हो ? हामी कतिसम्म अछूत छौं भन्ने त हाम्रो व्यवहारले प्रष्ट पारेको छ । जातीय बिभेद सामाजिक अपराध हो भन्ने भाषण गरेर मात्रै बिभेदको अन्त्य हुँदैन । त्यसको लागि त व्यवहार परिवर्तन गर्नु आवस्यक हुन्छ । हाम्रा घर आँगन कोठाचोटामा राखिएका, दिनहुँ चल्तीमा आएका अधिकांश सामान तयार गर्ने मेकानिक कसरी अछूत हुन्छन् ? तिनीहरूलाई किन दोस्रो दर्जाको मानव बनाइएको छ ?

जातीय बिभेदका बिषयमा काम गर्ने एनजिओ, आइएनजिओ, सरकार र तपाईं हामी सबैले सकारात्मक सन्देश दिनुपर्छ । स्कूले विद्यार्थीलाई ‘हामी मानव हौं, हामी फरक छैनौं, यो बिभेद त एउटा पुरानो रीत मात्रै हो, यो रीत त्याग्नुपर्छ’ भनेर शिक्षा दियौं भने केहि मात्रामा यो समाजमा परिवर्तन सम्भव छ । तर त्यता कुनै निकायको ध्यान गएको पाइँदैन । नेताले मञ्चमा भाषण ठोक्दैमा बिभेद अन्त्य हुँदैन । त्यसलाई व्यवहारमा लागू गर्नुपर्छ । त्यसका लागि नेतृत्व नै सचेत भएर लाग्नुपर्छ । मुलुक परिवर्तनको रेखा कोर्ने भनेको राजनीतिक नेतृत्वले नै हो । हाम्रो राजनीतिक नेतृत्वले यो समाजमा रहेका कुनै पनि मानवबीच फरक छैन भन्ने सन्देश दिन सक्ने हो भने समाज परिवर्तन सम्भव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...