कविता : ए आमा ! बा’को बन्दुक दिनुहोस्

Nistosh np poim

ए आमा !
मेरो निधार चुम्नु छ भने
चुमी हाल्नुस्
सायद फर्किन सक्छु
नफर्किन पनि सक्छु
म फेरि एक पटक
जंगल पस्दैछु
खै कहाँ छ बा’को बन्दुक दिनुहोस् ।

अन्यायका हगुल्टाहरू हातमा बोकेर
धर्मका व्यापारीहरू मतिर आइरहेका छन्
विभेदको आगो आँखामा दन्काएर
परम्पराका ड्राइभरहरू मलाई डराइरहेका छन् ।

अजितको प्रेम देखेर ईष्र्या गर्नेहरूका
गर्दन रेट्नु छ
चुलो छोएको जघन्य अपराधमा
मनवीरेको हत्या गर्नेहरूलाई
जिउँदै जलाउनु छ
बोक्सी भनेर मारिएकी
निर्दोष लक्ष्मीका
ती संरक्षित हत्याराहरूलाई
फाँसी लगाउनु छ ।

दितिया अनि रुपमतीको
बलात्कारपछि हत्या गर्ने
पिचासुहरूको लिंगमा
तेजाव छर्किनु छ आमा !
मलाई ‘म’ जस्तै नदेख्ने
यो समाजको छातीमा
बन्दुक पड्काउनु छ
अनि यसरी भएको अन्यायलाई
रमिता सम्झेर खित्का छाड्नेहरुका मुखभित्र
ग्रेनाइट छिराउनु छ ।

ए ! आमा
अंगाल्न रहर छ भने
एकचोटि अंगाली हाल्नुस्
मेरो अंगालो रहन पनि सक्छ
सायद नरहन पनि सक्छ
म फेरि बा’का सपनाहरूलाई जिवित गर्न
जंगल पस्दैछु
खै कहाँ छ बा’को तरबार ?
मलाई आशीर्वाद दिनुहोस् ।

प्रतिकृया दिनुहोस