बेलायतको जेलमा ११ नेपाली

Embassy of nepal london uk 20200807040830

लन्डन । लन्डन ११ नेपाली विभिन्न अभियोगमा बेलायतको जेलमा छन्। लन्डनस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूमध्ये धेरैलाई यहाँको अध्यागमन कानुन उल्लंघन गरेको मुद्दा लागेको छ। बेलायत सरकारले दूतावासलाई उपलब्ध गराएको तथ्यांकले आठ नेपाली अहिले अध्यागमनसम्बन्धी मुद्दामा जेलमा रहेको देखाएको छ।

उनीहरूमध्ये केहीलाई अध्यागमन कानुन मिचेको आरोपमा डिटेन्सन सेन्टरमा राखिएको हो। केहीलाई भने अध्यागमनसँग सम्बन्धित भए पनि नक्कली कागजपत्र, नक्कली बिहेजस्ता गम्भीर अपराध मुद्दा छ।

तीन नेपालीलाई जघन्य अपराधको अभियोग लगाइएको छ। जसमध्ये एक जनालाई हत्याको आरोप लागेको छ। झन्डै ४० वर्ष उमेरका ती पुरुष हत्या मुद्दामा एक वर्षदेखि जेलमा रहेको दूतावासले जनाएको छ।

त्यस्तै, अर्का एक नेपाली पुरुष पनि मानव तस्करीमा संलग्न रहेको अभियोगमा जेलजीवन बिताइरहेका छन्। दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार एक वर्षअघि बेलायतका जेलमा रहने नेपालीको संख्या २१ थियो।

उनले भने, ‘यहाँ धेरै नेपाली अध्यागमन कानुन उल्लंघन गरेको अभियोगमा जेल पर्ने गरेका छन्। इमिग्रेसन डिटेन्सन सेन्टरमा राखिएका धेरैलाई नेपाल पठाइसकिएका कारण अहिले जेलमा रहनेको संख्या घटेको हो।’

अहिले बेलायतका जेलमा रहेका नेपालीको मुद्दाको अन्तिम छिनोफानो भने भइसकेको छैन। बेलायतस्थित एभरेस्ट ल फर्मका सोलिसिटर राजु थापाको अनुभवमा पनि अध्यागमन मुद्दामा धेरै नेपाली बेलायतका जेलसम्म पुगेका छन्।

भिसामा समस्या हुने वा अध्यागमन कानुन मिच्नेलाई सुरुमा डिटेन्सन सेन्टरमा राखिन्छ। जहाँबाट मुद्दा लडेर कतिपय बेलायतमै बस्न पाउँछन् भने कतिपयलाई सीधै नेपाल पठाइन्छ।

बेलायतमा अध्यागमनबाहेक हत्या, बलात्कार, मानव बेचबिखन, ठगीलगायत गम्भीर अपराधमा मुछिएका नेपालीको मुद्दासमेत हेरेको अनुभव सोलिसिटर थापासँग छ। जेलमा पर्ने नेपालीका नेपालस्थित आफन्त र परिवारले यहाँको दूतावास तथा एनआरएनएसहितका संस्थालाई सम्पर्क गरी सहयोगको याचना गरेका छन्।

हामी सम्भव भएसम्म सबै नेपालीलाई सम्पर्क गर्ने कोसिस गर्छौं। तर, अधिकांश हाम्रो सम्पर्कमा समेत आउन चाहनुहुन्न’, दूतावास प्रवक्ता आरन भन्छन्, ‘इमिग्रेसनका सामान्य केसमा हुनेका लागि होम अफिसमा सम्पर्क गरी छिटो मुद्दा टुंगो लगाइदिन वा नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्ने गरेका छौं।’

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई पनि यहाँ जेलमा रहने केही नेपालीका परिवारले नेपालबाट सम्पर्क गरी सहयोग गरिदिन आग्रह गर्ने गरेका छन्। जेल परेकाहरूलाई सम्पर्क गर्न खोज्दा उनीहरू भेट्न नमानेको तर आफूहरूले उनीहरू सरसल्लाहका लागि भेट्न खोजेको गुरुङ बताउँछिन्।

 

प्रतिकृया दिनुहोस