पार्टी फुट्छ भन्‍ने हल्ला निराधार हो : वरिष्ठ नेता खनाल

Jhalnath khanal

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकढिक्का बनाउन लागि परेको बताउँदै फुटको हल्लाबाट आतंकित नहुन र धैर्य नगुमाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।

विभिन्न समाचारमाध्यममा पार्टी विभाजनको दिशामा गयो, वरिष्ठ नेता खनालले नै निर्देशन दिए भनेर समाचार सम्प्रेषण भएकाप्रति गम्भीर चिन्ता र आपत्ति व्यक्त गर्दै उनले अहिले नेकपा विभाजनको कुनै खतरा नरहेको स्पष्ट पारेका छन् ।

उनले भने, “मैले पार्टी विभाजन हुँदैछ भनेर निर्देशन दिएको भन्ने समाचार आएछ । म आफैं वार्ता र संवादमा सहभागी भएर पार्टी एकतालाई सुदृढ तुल्याउन लागि परेको छु । पार्टीका विवाद, विमति विधिसम्मत तवरले हल हुन्छ भन्नेमा म विश्वस्त छु,” ।

उनले भने, अहिले पार्टी फुटको सम्भावना पनि मैले देखेको छैन । पार्टी फुटको पक्षमा कोही उभिन्छ भन्ने मलाई लाग्दा पनि लाग्दैन । पार्टी फुटाउने तत्त्व आफैं समाप्त भएर जान्छन् । सञ्चारमाध्यमहरूमा झलनाथ खनालले पार्टी फुटाउने निर्देशन दियो भनेर समाचार आएछ । त्यो निराधार छ ।”

प्रतिकृया दिनुहोस