फेरि शुरु भयो जोर विजोर प्रणाली, राति ९ बजेदेखि ५ बजेसम्म हिँडडुल बन्द

Sawari sadhan

काठमाडौं । मुलुकभर कोरोना संक्रमण बढेसँगै सरकारले फेरि भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । अबदेखि जोर गतेका दिन जोर नम्बरका र विजोर गतेका दिन विजोर नम्बरका यातायात मात्रै सञ्चालन हुनेछन् ।

चैत ११ गते लकडाउन घोषणा गेपछि सरकारले २६ असारदेखि यातायात सञ्चालनमा सहज बनाउन निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो ।

सरकारले यही भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो । तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए ।

काठमाडौं उपत्यका लगायत स्थानमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २ सय जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू जनाएको छ ।

सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’

 

प्रतिकृया दिनुहोस