विश्वकप छनोटमा नेपाल अस्ट्रेलियासँग ५ गोलले पराजित, नेपाल निरीह

Nepal football

क्यानबेरा (अस्ट्रेलिया) । विश्वकप छनोट फुटबलको बिहीबार खेलिएको खेलमा घरेलु टोली अस्ट्रेलियाले नेपाललाई ५—० गोलको फराकिलो अन्तरले हराएको छ ।

अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित जियो रंगशालामा खेलिएको एकपक्षीय खेलमा अस्ट्रेलियाका लागि छैटौं मिनेटमै जेमी म्याकलरेनले पहिलो गोल गरेका थिए । त्यसअघि खेलको पहिलो मिनेटमा रञ्जित धिमालले दिएको ब्याक पासलाई गोलरक्षक किरन चेम्जोङले क्लियर गर्न खोज्दा बल रिबाउन्ड भई नेपाली टोली गोल खानबाट जोगिएको थियो ।

पाँचौं मिनेटमा पनि अस्ट्रेलियन खेलाडीको प्रहारलाई नेपाली टोलीका गोलरक्षक किरनले उत्कृष्ट बचाउ गरेका थिए । प्रारम्भदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राखेको थियो ।

अस्ट्रेलियाले दोस्रो गोल १९औं मिनेटमा गर्‍यो । दोस्रो गोल पनि जेमी म्याकलरेनले नै गरे । अजिज बेचिचको हेड पासमा म्याकलरेनले हेड गोल गरेका हुन् ।

अस्ट्रेलियाका लागि तेस्रो गोल २४ औं मिनेटमा ह्यारी सटरले गरे । उनले क्रेग गुडविनको कर्नर पासमा गोल गरेका थिए । नेपालले अस्ट्रेलियाजस्तो प्रभावशाली टोलीविरुद्ध पनि सुरुदेखि नै रक्षात्मक नभई आक्रामक नीति अपनाएको थियो जसका कारण नेपालले प्रारम्भदेखि नै एकपछि अर्को गोल ब्यहोर्नु पर्‍यो ।

पहिलो हाफमा अस्ट्रेलियाले ३–० को अग्रता लियो । खेलको ५८औं मिनेटमा अस्ट्रेलियाले चौंथो गोल थप्यो । अस्ट्रेलियन खेलाडी ह्यारी सटरले हेड गरेको बल बचाउन खोज्दा नेपाली डिफेन्डर दिनेश राजवंशीसँग ठोक्किएर गोल हुन पुग्यो । ६५ औं मिनेटमा नेपाली प्रशिक्षकले अभिषेक रिजाललाई निकालेर विमल घर्तीमगरलाई मैदानमा प्रवेश गराए ।

नेपाली टोलीका स्विडिस प्रशिक्षक योहान कालिनले सुरुमा दुई प्रभावशाली खेलाडी नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई मैदानमा ओरालेका थिएनन् । नेपाली प्रशिक्षकले ७९ औं मिनेटमा अञ्जन विष्टलाई निकालेर तेज तामाङलाई मैदानभित्र प्रवेश गराए ।

नेपाली टोलीका गोलरक्षक किरन चेम्जोङले अस्ट्रेलियन खेलाडीले प्रहार गरेको करिब एक दर्जन उत्कृष्ट प्रहारलाई विफल पारेका थिए। उनी नेपाली टोलीका कप्तान पनि हुन् ।

८५ औं मिनेटमा नेपाली प्रशिक्षकले विशाल राईको स्थानमा सन्तोष तामाङलाई मैदानमा प्रवेश गराएका थिए । खेलको ९० औं मिनेटमा नेपालले पाँचौं गोल खायो । अस्ट्रेलियाका जामी म्याकलरेनले नेपाली टोलीका रक्षकहरुलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए ।

करिब २५ हजार दर्शक क्षमताको जियो रंगशालामा नेपाल र अस्ट्रेलियाबीचको खेल हेर्न करिब १८ हजार पाँच सय ६३ दर्शक उपस्थित भएका थिए । दर्शक दिर्घामा नेपाली टोलीका समर्थकको बाक्लो उपस्थिति रहेको थियो । खेल हेर्न करिब आठ हजारको संख्यामा नेपाली समर्थक उपस्थित थिए ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपाली टोलीले खेलेको यो तेस्रो छनोट खेल हो । कुवेतसँग उसैको घरेलु मैदानमा खेलिएको पहिलो छनोट खेलमा नेपाल ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । त्यसपछि नेपाली टोलीले दोस्रो छनोट खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २–० गोलले हराएको थियो । उक्त खेलमा दुबै गोल अञ्जन बिष्टले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...