अझैं उसैगरी घन्किन्छ ‘रिटिङ, रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’

Lp joshi

लाग्छ, लोकगायक एलपी जोशी ८४ हैन, ४८ मा छन् । पूर्वी नेपालमा हुने अधिकांश लोक सांस्कृतिक कार्यक्रममा उनी पुगेकै छन् । ‘पहिला यस्ता कार्यक्रममा त्यति बेलाउँदैन थिए’, उनी भन्छन्, ‘अहिले त धेरै निम्तो आउँछ ।’ ६ दशकभन्दा लामो समयदेखि नेपाली लोकगीतको गायन, संकलन र संरक्षणमा चुर्लम्म छन्, एलपी । जति बेला गीत गाएर आर्थिक उपार्जन गर्ने कुनै सम्भावना थिएन, त्यति बेलादेखि नै लोकगीत/संगीतमा जीवन समर्पण गरे, उनले ।

पूर्वी पहाड धनकुटामा जन्मिएको ठिटोलाई काठमाडौं आएर गीत गाउन त्यस बेला ठूलो चुनौती थियो । गीत रेकर्डिङका लागि रेडियो नेपालबाहेक ठाउँ थिएन। त्यसका लागि पनि स्वर परीक्षा पास गर्नुपर्थ्यो ।

०००

रिटिङ, रिटिङ नबजाऊ बिनायो

बिनायोले मन मेरो छिनायो

ऐयाया आकाका

यो लोकगीत नसुन्ने सायदै होलान् । २०१८ सालमा रेडियो नेपालमा रेकर्ड गराएको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । केटाकेटी, तन्नेरीदेखि बूढापाकाको पनि मुखैमा झुन्डिएको छ, यो लोकभाका । यसको संकलक र गायक पनि जोशी नै हुन् ।

धनकुटाका आठपहरिया जातीयका महिलाहरू मेखली लगाउँथे । बाबरीको फूल र बिनायो बाजा भिरेर हिँड्थे, उनीहरू । पुरुषले भने कमै बोक्थे बिनायो। यो हेर्दा सानो तर मुखले च्यापेर हातले झड्काल्दा अत्यन्तै मीठो संगीत दिने। जोशीलाई सानैदेखि बिनायोबारे जिज्ञासा थियो । यसको धुनले मोहित बनाएको थियो । त्यसैले त उनले यो गीत रचे । 

‘यो गीत मैले २०१० सालतिर गाउँथेँ तर रेडियोमा हैन, गाउँघरमा गाएर हिँड्थेँ’, उनी भन्छन्, ‘तर, यति लोकप्रिय होला भन्ने त सोचेकै थिइनँ ।’ यही गीतका कारण जोशीले रेडियो नेपालबाट सुप्रसिद्ध लोक गायकको उपाधि पाए । हुन त बिनायो शब्द जोडिएको यो गीत मात्रै हैन । जोशीले बिनायो बाजाको गुनगान गरेर अन्य गीत पनि गाएका छन् । ‘बिनायो बाजा त्यस बेला कसैले चिन्दैनथ्यो । मैले काठमाडौंलाई चिनाएँ’, उनी भन्छन्, ‘मैले गीत नबनाएको भए आठपहरिया जातिमै सीमित हुने थियो कि !’

पूर्वेली भाकाको यो गीत सुरुमा त रेडियो नेपालमा खासै बजेन । तर, पूर्वमा मेलापात हिँड्दा हरेकको मुखमा झुन्डिएकै हुन्थ्यो । यो गीतको माग बढेपछि २०१९ सालदेखि रेडियो नेपालमा असाध्यै बज्यो । त्यस बेला घरमा रेडियो थिएन । अर्काकोमा सुन्न जाँदा पनि कति बेला बज्थ्यो, बज्थ्यो पत्तै नहुने । उनले आफ्नो गीत आफैंले सुन्न पाएनन् ।

२०२४ सालमा उनी सांस्कृतिक कार्यक्रममा भाग लिन नेपालको तर्फबाट रुस गएका थिए । त्यहाँबाट फर्किंदा रेडियो बोकेरा आए । ‘त्यसपछि मात्रै बल्ल आफ्नो गीत सुन्न पाइयो । रेडियो कानमै हुन्थ्यो त्यो बेला’, उनी सम्झन्छन्, ‘तर त्यो बेलाको रेडियो कहाँ अहिलेको जस्तो थियो र ! कानमै राखेर सुन्नु पर्थ्यो । साह्रै सानो आवाज ।’

त्यस बेला ‘रिटिङ रिटिङ’सँगै अर्को एउटा गीत पनि रेडियोमा असाध्यै बज्थ्यो । जुन अहिले पनि उत्तिकै चर्चामा छ ।

वल्लो खोलो पल्लो खोलो

कमिलाको गोलो भनेर

हो रानाज्यू

कमिलाको गोलो भनेर ।

उनका गीत रिमेक गर्छु भन्दै माग्न आउने अहिले पन उत्तिकै छन् । तर, उनलाई आफ्नो सिर्जना अर्कालाई दिने कुनै रहर छैन । ‘जति चर्चा भयो मैले गाएरै भयो । मेरो गीत रिमिक्स गरेर आधा हिस्सा दिन्छु भन्ने धेरै आए । तर, मेरो विवेकले सम्झौता गर्न दिएन’, उनले भने, ‘मेरो गीतको हिस्सा कसैलाई दिएँ भने त म मरिगएँ नि ! मेरो सिर्जना मारिगयो नि !’

जब पहिलो गीत रेकर्ड भयो

उनले कमै गीत रेकर्ड गराएका छन् । तर, जति गीत रेकर्ड गराए सबै गीत चर्चामा छन् । लोकका दुःख, वेदना र खुसीलाई टपक्कै टिपेर संगीतमा ढाल्ने जोशीले तीन दर्जन मात्रै गीत गाए । त्यो पनि रेडियो नेपालबाहिर रेकर्ड गराएका छैनन् ।

‘कसैले एउटा गीत रेकर्ड गराउँदा १० वटा गराएँ भन्छन् । तर, म त्यसो भन्दिनँ। मैले तीन दर्जन गीत रेकर्ड राएँ । तर, २०४० देखि रेकर्ड गराएको छैन। जति मेरा गीत लोकले मन पराएका छन्’, उनी भन्छन्, ‘गीत धेरै रेकर्ड गराएर केही हुँदैन । कम भए पनि जनताको मनमा बस्ने हुनुपर्छ ।’

रेडियो नेपालमा गीत गाउन पनि छनोट भएर आउनुपर्थ्यो । पूर्वाञ्चलमा छनोट समिति थियो । समितिले उनलाई पनि छनोट ग¥यो । त्यसपछि काठमाडौं आउने भनेपछि उनमा कौतूहल बढ्यो। कहिल्यै नदेखेको काठमाडौं कस्तो होला ? यही कौतूहलले गीत सिर्जना भयो ।

नेपाली माया नेपालै कस्तो छ ।

सरमा सर अक्षरै लेख्ने नेपाली माया

नेपाली कागजैमा

‘त्यस बेला काठमाडौंलाई हामी नेपाल भन्थ्यौं । नेपाल आउन त्यति सजिलो पनि थिएन’, उनी भन्छन्, ‘त्यही बेला यो गीत रचेँ । राजा महेन्द्रको राज्याभिषेकमा आएको म गीत रेकर्ड गराएर फर्किएँ ।’ रेडियोमा गीत गाउने कमै हुन्थे त्यस बेला । जोशी गाउँ फर्किएपछि उनको पहिचान नै बदलियो ।

‘त्यो बेला त रेडियोमा गीत गाउने मान्छे कस्तो हुन्छ भनेर हेर्न आउँथे’, उनी भन्छन्, ‘मलाई देखेर सबै अचम्म पर्थे । त्यस्तो सानो रेडियोमा यत्रो मान्छे कसरी पस्यो भन्थे ।’

त्यो बेला काठमाडौं आउने कलाकारलाई सरकारले दिनको छ रुपैयाँ दिन्थ्यो रे ! त्यो पैसाले काठमाडौंमा खाना–बस्न मज्जाले पुग्थ्यो । अहिले कथाजस्तै लाग्छ, जोशीलाई ।

०००

२०१९ सालमा तत्कालीन राजा महेन्द्र पूर्वाञ्चल भ्रमणमा गएका रहेछन् । संयोगले जोशी राजाको भ्रमणका बेला सांस्कृतिक उपसमितिको सचिव भए ।

‘सरकार धरानमा आइबक्स्यो । मलाई नाम के हो भनेर सोध्नुभयो। तर, मैले सुनिनँ। राजासँगै विजयपुरका प्रधानपञ्च सूर्यप्रसाद उपाध्यायले मेरोबारेमा भन्नुभयो’, उनी भन्छन्, ‘त्यसपछि त मलाई पनि बोल्ने आँट आयो। मैले सरकारलाई गीत सुनाउन रहर छ भनेँ। उहाँले विराटनगर आउनू भन्नुभयो।’

त्यसपछि जोशीले विराटनगरमा भएको कार्यक्रममा राजालाई गीत सुनाउने मौका पाए। उनले गाउँका दर्जीहरूले गाएको सुनेर त्यही भाकामा गीत बनाएका थिए। ‘त्यो बेला दमाई गीत भन्न हुँदैनथ्यो’, उनी भन्छन्, ‘दमाई गीतलाई सगुने पनि भन्थ्यो। मैले महेन्द्र सरकारलाई सगुने भनेर सुनाएँ।’

के को कुर्को के कोमा कुर्को

कुरौनीको कुर्को पो साइँला।

अहिलेको त झिल्केन मात्रै।

पोइ त राम्रो पोहोरको न लैलै।

यो गीत सुनिसकेपछि राजा महेन्द्र मज्जाले हाँसे रे ! जोशीलाई भने राजाको सामुन्ने गीत गाउँदा असाध्यै डर लागेको रहेछ। लगत्तै राजा महेन्द्रले उनलाई बोलाएछन्।

‘ओहो ! सम्झँदा त अहिले पनि आङ जिरिंग हुन्छ। सरकारले बलाउँदा त म त सल्र्याकसुर्लुक भएँ। ला ! कतै बिगारे कि क्या हो ! जस्तो लाग्यो’, उनी उत्साहित हुँदै भन्छन्, ‘मसँग नयाँ सिरकको खोल थियो। त्यो पाउमा राखेर जदौ सरकार भनेँ।’ त्यस बेला जोशीलाई राजा महेन्द्रले भनेछन्, ‘तिमी काठमाडौं आउन सक्छौ ? फागुनमा राष्ट्रिय लोकगीत सम्मेलन हुँदैछ आउनू।’

राजाले यति भनेपछि त जोशीमा खुसीको सीमै रहेन। उनी फेरि काठमाडौं आए। उनले विराटनगरमा राजालाई सुनाएकै गीत गाएछन्। प्रतियोगितामा निर्णायक थिए— बालकृष्ण सम, धर्मराज थापा र लक्ष्मण लोहनी। ‘म आफूलाई भाग्यमानी ठान्छु’, उनी भन्छन्, ‘बालकृष्ण समले जज गरेको प्रतियोगितामा भाग लिन पाएँ।’ उनको यो गीतले प्रशंसा पायो। सबैभन्दा धेरै प्रशंसा त समले नै गरेको जोशी बताउँछन्।

‘उहाँले चिसो चुह्लो किताब लेख्नुहुँदै रहेछ। त्यसको हिरो एउटा दमाई केटा हुँदो रहेछ। हिरोनीचाहिँ बाहुनी। उनीहरूबीच प्रेमसम्बन्ध हुँदो रहेछ। तर, केटीको विवाहमा केटाले नै सनई फुकेर अन्माउनुपर्ने रहेछ’, उनी भन्छन्, ‘बालकृष्ण समले मलाई बल्ल मेरो किताबको हिरो भेटेँ भनेर प्रशंसा पनि गर्नुभयो।’

त्यही गीतका कारण राष्ट्रिय लोकगीत प्रतियोगितामा जोशी प्रथम पनि भए। उनले राजा महेन्द्रबाट स्वर्ण पदक पाए। यसलाई उनी जीवनकै ठूलो उपलब्धि ठान्छन्।

कोठामा बसेर लोक गीत बन्दैन

जोशीका पालामा लोकगीत ‘लोक’बाटै टिपेर ल्याइन्थ्यो। पछिल्ला समय सिर्जना भएका गीत त्यति राम्रा नभएको जोशी दाबी गर्छन्। ‘अहिले लोकगीत सिर्जना गर्न मेहनत गरिँदैन’, उनी भन्छन्, ‘रातारात अरूका गीत चोरेर हिट हुने रोग लागेको छ।’ लोगीतका लागि असाध्यै मेहनत चाहिने जोशीको अनुभव छ।

‘कोठामा बसेर आधुनिक गीत सिर्जना गर्न सकिएला तर, लोकगीत सिर्जना गर्न सकिँदैन’, जोशी भन्छन्, ‘लोकले लोकलाई सुनाउनुपर्ने गीत नै लोकगीत हो। त्यसकारण लोकगीत सिर्जना गर्न लोकमै जानुपर्छ। सबै संस्कार र संस्कृति बुझ्नुपर्छ। लोकको बोली सुन्नुपर्छ र उहाँहरूले नै बोलेका बोली टिपेर गीतमा ढाल्न सक्नुपर्छ।’

आफ्नो पालाका र अहिलेका गीतमा आकाश–जमिनको फरक देख्छन् जोशी। ‘एउटै गीतमा लोक र आधुनिक मिसिएको हुन्छ। अहिलेका त लोकगीत हो कि आधुनिक हो बुझ्नै गाह्रो’, उनी भन्छन्, ‘लोकगीतको संरक्षण गर्न अब एकदमै गाह्रो छ। यसका लागि सरकारले चासो देखाउनुपर्छ।’

०००

झापाको दमकमा बस्दै आएका उनलाई अहिले पनि विद्यालय, बालआ श्रम गएर नानीहरूसँगै रमाउन मन लाग्छ। ‘जसको आमाबुबा हुँदैन, त्यस्तो ठाउँमा गएर नानीहरूसँग खेलेर। उनीहरूसँगै गाएर उनीहरूको अनुहारमा अलिकति भए पनि खुसी ल्याउँदा आनन्द लाग्छ’, उनी भन्छन्, ‘अहिले पनि दमक आसपासका बालआ श्रम तथा विद्यालयमा गएर यसरी नै रमाउने गरेको छु। धनकुटे कान्छासँग मिलेर सिर्जनशील अभियान चलाएका छौं।’

लोकगीत गाउनु उनको रहर हो। जीवनको अन्तिमा क्षणसम्म लोकगीतमै रमाउने उनको लक्ष्य छ। ‘लोकगीत मनको रहर हो। त्यो बेला गीत गएर आर्थिक उपार्जनको सम्भावनै थिएन र त गीतमा गाइयो’, उनी भन्छन्, ‘मनको रहर अझै पूरा भएको छैन।’

उनको एउटा इच्छा छ— चलेकी गायिका अञ्जु पन्तसँग गीत गाउने। ‘केही दिन रियाज गरेँ भने त अञ्जु पन्तसँग पनि गाउन सक्छु’, उनी भन्छन्, ‘माइक समाएपछि बुढ्यौलीपन त हराइहाल्छ नि !’

चोरीको आरोप

जोशीलाई एउटा दुःखेसो छ। चर्चित म्युजिक ब्यान्ड नेपथ्य र त्यसका गायक अमृत गुरुङले आफ्नो गीत चोरी गरेर कुनै हिस्सा नदिएको उनको आरोप छ।

खिपिमा खिपि बिनायो बाजा

मुखको तालले पनि बज्दैछ

गम्केर हो चट्टै।

गीतको अधिकांश लय र सुरुको शब्द चोरेर नेपथ्यले ‘सानोमा सानो कमलको हाँगा...’ बनाएको जोशीको आरोप छ। ‘मलाई केही चाहिएको हैन। अमृतले गाउँदा एलपी जोशीको गीत हो भनेर भन्दिए हुन्छ। दाइ तपाईंको नाम राखिदिएँ भन्दा हुन्छ’, उनी भन्छन्, ‘तलको सम्पूर्ण लाइन नै चोरेको छ। मेरो अर्को गीत पनि थियो रेशम भन्ने।’

अमृत यो गीत गाउनुपहिला जोशीको घरमै जान्थे रे ! तर, पछिल्लो समय आफ्नो फोन पनि उठाउन छाडेको जोशीको आरोप छ । ‘उसले अहिले त फोन पनि उठाउँदैन। मैले गीत चोरेपछि भनेको पनि छु’, उनी भन्छन्, ‘एकपटक दमकमा आउँदा एलपी दाइको गीत गाउन पाउनु भाग्य हो भनेर कन्सर्टमै भनेको थियो । मसँग माफी माग्न खोज्दै थियो । मैले जनतासँग माग भनेँ। किनकि यो गीत जनताको मुखमा झुन्डिएको छ भनेँ ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...