सेनाको दादागिरीः त्रिचन्द्र मिलिटरी हस्पिटल पहिले भवन बनाएर दबावमा नक्सापास

Ooooo

काठमाडौँ । काठमाडौँको प्राइम लोकेशन महाङ्कालमा नेपाली सेनाले करिब ९० बर्ष पुरानो पुरातात्विक महत्वको त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर आधुनिक भवन बनाएको छ । त्यो भवन अहिले विवादमा परेको छ । भवन निर्माण सम्पन्न भैसकेपछि विवादमा आउनुका केही कारण छन् । पहिलो, भवन बनाएर दवावमा नक्सापास गराउनु र अर्को पुरानो संरचनामा बनेको अस्पतालमा चौतर्फी विरोध हुँदाहुँदै व्यापार शुरु गर्नु । ०७२ को भूकम्पअघि १४ तल्लाको बनाउने भनिएको सो भवन अहिले ८ तल्लामा फिनिसिङ भएको छ ।

भवन फिनिसिङ त भयो, तर नक्सापासको किचलो अझै सकिएको छैन् । भवन निर्माणअघि नै नक्सा पास गनुपर्नेमा सेनाले बलमिच्याईं गरेको छ । सैनिक कल्याणकारी कोषको रकमबाट बनाएको सो भवन नेपाली सेनाले काठमाडौँ महानगरपालिकालाई दवाव दिएर केही समयअघि मात्रै नक्सापास गराएको खुलेको छ । भवन निर्माण सम्पन्न भैसकेको खुलाएर काठमाडौँ महानगरले सो भवनको नक्सा पास गरिदिएको छ । जंगी अड्डाले महानगरसँग ‘महानगरले चाहेको बेला भवन भत्काउन सक्ने’ कवुलियतनामा गरेको छ ।

नक्सापास बिना भवन बनाएको हुनाले महानगरले सेनाको ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ भवन अभिलेखिकरण गर्ने भएको छ । अभिलेखिकरण गर्नुको अर्थ महानगरले चाहेको बेला सो भवन भत्काउन सक्छ । महानगरको सो सर्तमा जंगी अड्डाले सहमति जनाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता (सह–सचिव) राजेश्वर ज्ञवालीले जानकारी दिए । उनले भने, ‘भवन निर्माणपछि नक्सा पास भयो, अब अभिलेखिकरण गर्ने निर्णय भएको छ ।’

अभिलेखिकरण बापत सेनाले थप दस्तुर तिर्नुपर्छ । तर, सो दस्तुर छुट गराउन जंगी अड्डाले महानगरमा निवेदन दिएको छ । दस्तुरबापत तिर्नुपर्ने करिब १० लाख छुट गराउन सैनिक कल्याणकारी कोषका अधिकारीहरु लागिपरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयरले नगर कार्यपालिकाबाट पास गराएर अभिलेखिकरण दस्तुर मिनाहा गर्न सक्छन् ।

बेलायतको नासो लडाईंमा ज्यान गुमाउने अमर सैनिकको सम्झनामा युद्धको भरपर्दो सहयोगी नेपाललाई उपहारस्वरुप बेलायतले सो अस्पताल बनाइदिएको थियो । प्रथम विश्वयुद्धमा भाग लिएका र ज्यान गुमाएका नेपाली सैनिकको सम्झनामा बनेको सो अस्पतालले मुलुकमा पहिलोपटक फाइबर अप्टिक इन्डोस्कोपी प्रविधि भित्र्यायो । बेलायत सरकारको त्यतिबेलाको २६ लाख नेपाली रुपैयाँ सहयोगमा अस्पताल बनेको थियो ।

जंगी अड्डाले सो पुरानो भवनलाई त्यहि स्वरुपमा नयाँ बनाएको दावी गरेको छ । सेनाको इतिहाससँग जोडिएको सो अस्पतालका संरचना छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सारिएको छ । सो भवनको भुईं तल्लामा अहिले डेन्टल र फिजियोथेरापी विभाग मात्रै सञ्चालनमा छन् ।

डेन्टल र फिजियोथेरापी विभागबाट दैनिक ३ देखि ५ सय बिरामीले सेवा पाउने गरेको सैन्य प्रवक्ता ९सहायकरथी० सन्तोष बल्लभ पौडेलले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘त्यहाँ दुईवटा भवन छन्, अस्पताल भवन पुरानै अवस्थामा चलिरहेको छ, पछाडीको अर्को भवन भाडामा लगाइएको हो ।’

४९ करोड भाडामा नेपाली सेनाले गैरनाफामुलक प्रयोजनका लागि भन्दै ०७१ मा ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ भत्काएर सैनिक परिवार र सर्वसाधारणलाई पनि स्वास्थ्य सेवा दिनेगरी अस्पताल बिस्तार गर्ने घोषणा गरेको थियो । भवन बनेपछि अस्पताल विस्तारको साटो खुम्च्याइयो । अहिले अस्पताललाई जम्मा दुईवटा विभागमा सिमित गरेर सो भवन सेनाले भाडामा लगाएको छ ।

श्रीजयन्ती निर्माण सेवासँग सेनाले मासिक ४ करोड ११ लाख ११ हजारमा घरभाडा सम्झौता गरिसकेको छ । भाडाबापत सेनालाई बार्षिक ४९ करोड ३३ लाख आम्दानी हुन्छ । ‘श्रीजयन्ती निर्माण सेवा’ सडक, पुल र जलविद्युत्त आयोजना निर्माण गर्ने ‘क’ श्रेणीको निर्माण कम्पनी हो । रोल्पाका निर्माण व्यवसायी खगेन्द्र बुढामगर यसका सञ्चालक हुन् ।

सेनाको भवनलाई ‘श्री जयन्ती निर्माण सेवा’ले ‘श्री जयन्ती ट्रेड सेन्टर’ नाम दिएर बुकिङ खुला गरेको छ । अहिले त्यहाँ इन्टेरियर डेकोरेशनको काम भइरहेको छ । खुद्रा पसल सञ्चालन गर्न नपाउनेगरी घरभाडा सम्झौता गरेको ‘श्रीजयन्ती निर्माण सेवा’ले सो भवनलाई ‘होलसेल हब’को रुपमा सञ्चालन गर्ने भएको छ ।

मापदण्ड मिचियो काठमाडौँ उपत्यकाको ‘कोर सिटी’ भनिने क्षेत्रमा पाँच तल्लाभन्दा अग्ला भवन निर्माण गर्न पाइँदैन् । मापदण्ड विपरित बनेको भन्दै महानगरले यसको नक्सा स्वीकृत गर्न मानेको थिएन् । सेनाको दवावपछि महानगर नक्सा पास गर्न बाध्य भएको थियो । त्यो पनि, व्यापारिक प्रयोजनमा लगाउन नपाउने सर्त राखेर ।

‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ले भवन निर्माण मापदण्ड पुरा गरेको छैन् । ११ रोपनी १५ आना २ पैसा १ दाम क्षेत्रफल जमिन ओगटेर बनेको छ, यो भवन । जसमा ३० प्रतिशत खुल्ला भाग छाड्नुपर्छ । तर, खुल्ला भागमा समेत पिल्लर उठाएर कोठा निकालेपछि महानगरले असहमति जनाएको छ । पहिले अस्पताल प्रयोजनार्थ नक्सा पास स्वीकृती मागेको सेनाले पछि व्यापारिक प्रयोजनार्थ नक्सा पास गर्न दवाव दिएको थियो ।

‘महानगरको मापदण्ड अनुसार जत्ति खुल्ला भाग छाड्नुपर्ने हो, त्यो छाडेको देखिएन्,’ काठमाडौँ महानगरका प्रवक्ता ज्ञवाली भन्छन्, ‘भवनका प्रयोजन परिवर्तन गरेर अभिलेखिकरण गर्ने निर्णय भएको छ ।’ सेनामा संयुक्त राष्ट्रसंघीय मिसन जाने सैनिकको पारिश्रमिक कटौती गरेर खडा गरिएको सैनिक कल्याणकारी कोषको पैसाबाट बनेको भवनमा व्यापार गरेपछि कत्तिपय उच्चपदस्थ सैन्य अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् ।

भवनबारे असम्बन्धित मान्छेहरुले अनावश्यक चासो राखेको भन्दै सैन्य प्रवक्ता पौडेलले भने, ‘त्यहाँ दुईओटा भवन छन, पुरानो भवन पहिलेकै स्वरुपमा छ । यो भवनबारे चासो हुनुपर्ने भूतपुर्व सैनिकको परिवारलाई हो । तर अरुको चासो चाहिँ आश्चर्यजनक देखियो ।

बेखबर पुरातत्वजीर्ण भइसकेको बसन्तपुरको दमकल राख्ने भवन नभत्काउन आदेश जारी गर्ने पुरातत्व विभागले सेनाले भत्काएको ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’बारे अनभिज्ञता जनाएको छ । सेनाले ९० बर्ष पुरानो भवन भत्काउँदा पुरातत्व विभागको स्वीकृती नलिएको खुलेको छ । चन्द्रशमसेरले बनाएको सो अस्पताल भवन भत्काउँदा विभागसँग स्वीकृती नलिएको पुरातत्व विभागका प्रवक्ता ९प्रमुख पुरातत्व अधिकृत० रामबहादुर कुँवरले जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै कुँवरले भने, ‘विभागमा भवन भत्काउने अनुमतिका लागि कुनै पत्र आएको छैन ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...