तेजाब प्रहारबाट घाइते युवतीलाई मन्त्री ढकालले भने- ‘उपचारमा सरकारले सहयोग गर्छ’

Bhanubhakta

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् ।

मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए ।

‘तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ’, पीडितसित कुरा गर्दै उनले भने, “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए ।

उनीसँगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुगेका थिए । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिएका थिए ।

स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए ।

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

मोहम्मद काठमाडौँको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ । पीडित युवती र उनकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्थे । पछि पीडित युवतीले उक्त कारखानामा काम गर्न छाडेका थिए ।

पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा.सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताए ।

“पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ”, उनले भने । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । तेजाबा प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।

प्रतिकृया दिनुहोस