पहिरोले गोरखाको नौलीखोला थुनियो

Gorkha

काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ ।लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो ।

९–१० घण्टा भयो, पहिरो गएर नौलीखोला थुनिएको छ,’ स्थानीय वीर गुरुङले भने, ‘पानी बग्न नपाएर ताल बनिसक्यो ।’ मापुमा डाँडा नै भासिएको र पहिरो जाने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको उनले बताए ।

पहिरो गएको क्षेत्रभन्दा तलपट्टि रहेका नौलीखोला, नयाँबस्तीदेखि झरनासम्मका स्थानीयलाई अहिले सुरक्षित ठाउँमा सारिसकिएको छ । करिब ७० घरधुरी जोखिममा रहेको गुरुङले जानकारी दिए ।

खोलानजिकैको गाउँका स्थानीय सुरक्षित ठाउँमा सरिसकेको र जोखिममा रहेका अरू बस्ती पनि सर्ने क्रममा रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । ‘पहिरो जाँदा ठूलो ढुंगा खसेर खोलामा बसेछ, अनि पानीले निकास पाएन,’ उनले भने, ‘ताल झन्–झन् ठूलो हुँदै छ ।’

उक्त क्षेत्रमा सेना र प्रहरीको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘सुरक्षा टोली जाँदै छन्, त्यहाँको अवस्था हेरेपछि कसरी खोल्न सकिन्छ त्यहीअनुसार हामी अघि बढ्छौ,’ उनले भने ।

प्रतिकृया दिनुहोस