सोमबारदेखि अन्तरजिल्ला यातयात चलाउन व्यवसायी मञ्जुर, यात्रु सुरक्षाको चुनौती उस्तै

Sawari sadhan

काठमाडौं । सरकारको निर्णयअनुसार सोमबारदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने भएका छन् ।

सरकारले असार २६ गतेदेखि नै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरु विभागमा आइतबार भएको छलफलपछि सवारीसाधान सञ्चालन गर्न तयार भएका हुन् ।

अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायतका माइक्रो र टेम्पुहरु सञ्चालनमा छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन हुने जानकारी दिए । व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागिसमेत तयारी भइरहेको बताएका छन् । कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन गरेको उनले बताए ।

छैन सुरक्षा
उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधा मात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।

सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । सुरुका दिनमा नचलेका सार्वजनिक यातायात हाल फाट्टफुट्ट चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन ।

विगतदेखि नै यातायात व्यवस्था विभागले बनाएका नियम नमान्ने गरेका सार्वजनिक यातायातले यसपटक पनि त्यस्तै गर्न थालेको यात्रुको गुनासो छ । दूरी कायम नगरी यात्रु सवारीमा राख्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भए पनि अनुगमन नहुँदा चालक, परिचालकले पुरानो बानी नसुध्रने देखिएको यात्रुको भनाइ छ ।

सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिएको छ । सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्नेलाई स्थलगत रुपमै कारवाही गर्न ट्राफिक प्रहरीलाई भनिएको विभागले जनाएको छ ।

हाल आएका गुनासो सम्बोधनका लागि प्रक्रिया अघि बढाइसकिएको छ । सिट क्षमताभन्दा आधा कम यात्रु राख्ने विषय जनताको स्वास्थ्यसँग सम्बन्धित रहेकाले अनिवार्य रुपमा अक्षरशः पालना गर्न विभागले आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस