आज ३ बजे सरकारी निवासमा नेकपाको स्थायी कमिटी बैठक बस्ने

Nekapa sachibalaya baithak

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ । पटकपटक स्थगित हुँदै आएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

हिजो सचिवालय बैठक सकिनासाथ दुबै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । आन्तरिक किचलोमा परेको नेकपाको हिजो बसेको सचिवालयको बैठकअघि अध्यक्षद्धयको सहमतिपछि पार्टी एक भएर जाने संकेत देखिएको छ । यद्यपि असन्तुष्ट खेमालाई मिलाउन अझैं प्रयसा गर्नुपर्ने अवस्था छ ।

नेकपाको आन्तरिक विवाद समाधान उन्मुख भएसँगै नेताहरुले छलफल थालेका छन् । सचिवालयका चार असन्तुष्ट नेतासँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल थालेका छन् ।

आफ्नो निवास खुलमटारमा प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामवेद गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा बादललाई छलफलका लागि बोलाएका हुन् ।

विवाद समाधानका लागि पटकपटक दुई अध्यक्षबीच छलफल हुँदै आएकोमा हिजो सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकमा ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेपछि नेकपामा जारी विवाद केही हदसम्मका लागि टरेको छ । ओलीको महाधिवेशनको प्रस्तावमा अर्का अध्यक्ष प्रचण्डले सहमति जनाएका छन् ।

गत असार १० गते सुरु भएको बैठकमा समसामयिक विषयहरु छलफलको एजेण्डा बनाइएको भए पनि सुरुमै प्रधानमन्त्रीको राजीनामा माग हुँदा पार्टीमा विवाद उत्पन्न भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल लगायतले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा माग गरेका थिए ।

ओली कुनै पनि हालतमा राजीनामा नदिने अडानमा रहेपछि पार्टीभित्र लामै समयसम्म विवाद चलेको थियो । आजको स्थायी कमिटी बैठकमा आन्तरिक विवाद समाधान तथा पार्टी एकताका बाँकी कामबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस