कविता : हो उ दमै हो

Devi kafle 3 saun 077

काजीको छोराको बिहे
शुभसाईतलाई बाजा अगाडि
अनि दुलाहा र जन्ती ।
नौमती बाजा साईतका लागि
बजाउन मानेका टोली खोजिन्छ ।

हो उ दमै हो
उसले असाध्य मिठो धुनमा
सहनाई बजाउँछ अनि दुलही लिन जाँदा
बाधा नपार्न त्यही माने जन्तीको अगाडि लाग्छ ।
तर त्यही साईत पार्ने मानेले साईतको कलश
छुन पाउँदैन, त उ तल्लो जात पो हो
उ दमै हो ।

पण्डितबाको खेतमा रोपाइँ छ
ठूलो फाँटमा अठार हल गोरु नारिएका छन्
आली र कान्लामा बाउसे दुई बीस छन्
रोपाहार असारे गीत गाउँदै ताँती लागे
अब शुभ साईतमा रोपाइँ शुरु गर्न पञ्चे बाजा
घन्काउन फेरि मानेकै टोली आइपुग्यो
जब मानेले सहनाई बजाउन थाल्यो शुभ साईत मै
रोपाइँ शुरु भयो अर्नी खानेबेला मानेका टोली
तल्लो आलीमा अलक्क अञ्जुलीमा करुवाको
पानी थाप्दै छन् उनीहरुले अर्नी छुनुहुँदैन
किनकी उनीहरु त तल्ला जात पो हुन्, दमै हुन् ।

रतनबिरको छोराको भात खुवाईमा
आंगन, पिँढी, फलैंचा, बार्दली खचाखच
पाहुँना बिहान सखारै साईत जुरेको
शुभ साईतमा लाईदिने नयाँ भोटो, दौरा
अनि फेरि पञ्चे बाजा लिएर माने आई पुग्यो
मानेले सिलाएका नयाँ लुगामा शुद्याएर
छोरालाई भात खुवाउन बसालियो
बाहिर कर्नाल बजाए अनि शुभ साईत मै
पास्नी भयो तर मानेले सिलाईदिएका चोखा लुगा
उसले बजाएको साईतको बाजा तैपनि उसले
भात खुवाउन पाएन किनकी उ त तल्लो जात पो
उ त दमै पो ।

न्वारनमा चोखो भोटो, पास्नीमा चोखो दौरा
कजिनीको पञ्चमी पुजामा लाउनी चोखो चोलो
बिष्टले काजक्रियाबाट उम्कदाँ लाउनी चोखा
लबेदा सुरुवाल अनि बिहे, व्रतबन्धमा बटुकले लाउने
पहेंला पहिरन मानेले नै सिलाउँछ
सियोमा धागो हाल्ने बेला थुकिथुकिकन चोखो हुन्छ ।

बिहे, व्रतबन्ध, रोपाईं ठूला कार्यमा मानेलाई
सहनाईसँगै साईतमा अगाडि लगाईन्छ
तै पनि माने किन अछुत ?
आखिर माने किन अछुत ??

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...