सीमा सुरक्षामा सेना खटाउने कार्ययोजना बनाउँदै सरकार

Nepal army

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

स्रोतका अनुसार सेनालाई सीमामा खटाउन आवश्यक पर्ने नीतिगत विषयको तयारीमा रक्षा मन्त्रालय जुटेको छ । सो रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने मन्त्रालयले लिएको छ । अहिले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको मुख्य जिम्मेवारी छ, अब नेपाली सेनालाई सीमाको सुरक्षाको जिम्मेवारी दिने गरी नीतिगत तहका काम अघि बढाइँदै छ,’ स्रोतले भन्यो ।

सीमामा सेना खटाउने विषयमा नीतिगत रूपमा तयारी भइरहेको छ । त्यसका लागि सुरक्षा नीति र प्रतिरक्षा नीति पनि त्यहीअनुसार हुनुपर्छ, कार्ययोजना बनाइँदै छ । सेनाले कोभिड–१९ को संक्रमणपछि भने सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको फोर्सलाई सहयोग गर्दै आएको छ । नेपालको संविधानको धारा २६६ मा सुरक्षा परिषद् रहने र २६७ मा नेपाली सेनासम्बन्धी व्यवस्था गरिएको छ ।

नेपालको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेपछि नेपाल र भारतबीच सीमा विवाद बढ्दोक्रममा छ । नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना संकलनका लागि भने गर्न छुट्टै निर्देशनालय बनाएर काम अघि बढाइएको बताउँदै आएको छ । नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फ भारतसँग १ हजार ७ सय ५१ किलोमिटर लामो खुला सीमा छ भने उत्तरतर्फ नेपाल र चीनबीच १ हजार ४ सय १४ किलोमिटर लामो सीमा छ ।

प्रतिकृया दिनुहोस