सोती घटनामा संलग्नमध्ये ५ जना पुर्पक्षमा कारागार चलान

Rukum ghatana aaropit

रुकुम पश्चिम । सोती घटनाका फरार ५ अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले बुधबार उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिए ।

उनका अनुसार चौरजहारी नगरपालिका–८ का तुलराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती मंगलबार अदालतमा उपस्थित भएका थिए । ५ मध्ये भीमबहादुर घर्तीलाई भने असार २८ गते जिल्ला अदालतमा आफैं हाजिर भएपछि बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरिएको थियो ।

यी ५ जनासहित सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ । ३ मा २ नाबालक रहेको र उनीहरुलाई बालसुधारगृहमा पठाइएको छ । ३ जना साधारण तारेखमा छुटेका थिए भने १ जना १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

गत जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरी नगरपालिकाका ५ र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ गरी ६ जनाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस