परराष्ट्रले भन्यो, कसैको भावनामा चोट पुर्‍याउने प्रधानमन्त्रीको आशय थिएन

Kp oli 7

काठमाडौं । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।’

प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा राम नेपालकै भएको र रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको दाबी गरेका थिए । जसलाई लिएर प्रधानमन्त्रीको नेपालमा र भारतमा आलोचना भइरहेको छ । उनको अभिव्यक्ति पदीय जिम्मेवारी र कूटनीतिक मर्यादाअनुसार नआएको उनीहरूको भनाइ छ ।

परराष्ट्रले सांस्कृतिक परम्पराअनुसार विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म हरेक वर्ष विवाह आउने गरेको स्मरण गराएको छ । हरेक वर्ष विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट सीताको जन्मभूमि नेपालको जनकपुरमा जन्ति आउने परम्परा छ ।

परराष्ट्रको विज्ञप्तिमा लेखिएको छ, ‘श्रीरामको जन्मभूमिलाई लिएर विभिन्न पौराणिक कथाहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिमा रामको जन्मभूमिको बारेमा थप अध्ययन र अनुसन्धानमा जोड दिन उक्त धारणा व्यक्त गर्नुभएको थियो ।’

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०१८ मे मा जनकपुर–अयोध्या यात्रु बस सेवालाई महत्त्वका साथ उद्घाटन गरेको परराष्ट्रले स्मरण गराएको छ । उसले नेपाल र भारतका जनताबीचको सांस्कृतिक सम्बन्धलाई नेपालले महत्त्वका साथ लिएको पनि जनाएको छ ।

साथै विवाह पञ्चमीमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने तथा २०१८ मा दुुई देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।’

परराष्ट्रको विज्ञप्ति हेर्नुहोस्

 

प्रतिकृया दिनुहोस