म्याग्दी पहिरो : एकाघरका ९ जनाको लहरै राखेर दाहसंस्कार, दागबत्ति दिनेसम्म कोही भएनन्

Pahiro

म्याग्दी । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा २८ जनाले ज्यान गुमाए । सोही घटनामा परी मृत्यु भएका वीरबहादुर नेपालीको परिवारका छ जनालाई दागबत्ती दिने घरका कोही पनि भएनन् ।

दुई भाइका परिवारका छ जनाको पहिरोले बगाएर मृत्यु भयो । एक जना भने गम्भीर घाइते भएर बाँचे । त्यही बस्तीमा निद्रामा रहेका ३१ जनालाई पनि पहिरोले बगायो ।

घुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अहिलेसम्म २७ जनाको शव भेटिएको छ भने बिम र मराङमा भने अझै चार जना बेपत्ता रहेका छन् ।

मालिका गाउँपालिका–७, बिमका गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, वीरबहादुरका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीले पहिरोमा परी ज्यान गुमाए । पूर्णबहादुर नेपाली गम्भीर घाइते भए । उनको पोखरामा उपचाररत भैरहेको छ । आफ्नो र भाइ वीरबहादुरको सबै परिवारको मृत्यु भयो । उनले परिवारलाई जोगाउन खोज्दै गर्दा आफैँ गम्भीर घाइते भए ।

असार २६ गते बिहान ३ बजे गम्भीर घाइते भएका उनको २७ गते शनिबार दिउँसोसम्म छट्पटाएरै भग्नावशेषमा रहे । उनलाई बेनीका नारायण जिसीको पहलमा प्रभु एयरको हेलिकोप्टरले उद्धार गरी पोखरा पुर्याइयो । पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई प्रभु एअर र नेपाली सेनाको एनआई सेभेन्टिन हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाडौंमा उपचारका लागि पठाइएको छ ।

आफू घाइते अवस्थाको पीडाले छट्पटिइ रहेका पूर्णले आफ्नो परिवारका छ जनाको लास हेर्न र दागबत्तीसम्म पनि दिन पाएनन् । उनको परिवारको सबै सदस्यलाई दागबत्ती नाताले काका पर्ने एक जनाले दिए ।

बिमकै ४० वर्षीया विष्णु र चार वर्षिय बहिनी इच्छा गुमाएका १० वर्षीय बालक आफ्नो ठूलोबुबाको घरमा किरिया बसेका छन् । बहिनी र आमा गुमाएका बालकका बाबा सोमनाथ र उनी भने बिहान अलिक छिटो उठेर बाहिर निस्केकोले जोगिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट खटिएको प्रहरी टोलीले घटनाको मुचुल्का बनाएर परिवारलाई हस्तान्तरण गर्यो । धौलागिरी गाउँपालिका–६ मराङको राम्चेमा मृत्यु भएका एकाघरका नौ जनाको एकै स्थानमा लहरै राखेर दाहसंस्कार गरिएको थियो । त्यस्तै मराङको बेँसीमा सात जनालाई एकै ठाउँमा लहरै र अर्का दुइ जनालाई अर्को ठाउँमा सँगै राखेर दाहसंस्कार गरिएको थियो । अर्को दिन भेटिएका एक जनालाई भने छुट्टै सदगद गरिएको थियो ।

बिमकी एलिसा केसी, मराङ कल्लेनीका जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको डिएसपी किरणाजङ्ग कुँवरले जानकारी दिए ।

धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को बिम, दुले र नुर्बाङमा पहिरो गएको हो । पहिरोमा परेर घाइते भएका छ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । पहिरोबाट मराङमा २०, बिममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको छ ।

 

प्रतिकृया दिनुहोस