दोहोरी कला नेपालमा मात्र सम्भव छ : प्रम ओली

Saujanya pmphoto1

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताए ।  मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उनले हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको पनि बताए ।

उनले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका माध्यमबाट मानिसलाई जोड्दै राष्ट्रियतालाई बलियो बनाएको बताए । प्रधानमन्त्रीले अर्को प्रसङ्गमा अनुकूल प्राकृतिक वातावरणका कारण दोहोरी नेपालमा मात्र सम्भव भएको बताए । 

‘अयोध्या हाम्रो वीरगञ्ज शहरदेखि नजीकै छ, त्यतिबेला जनकपुरबाट नेपाली छोरी सीताको विवाह अयोध्याका राजकुमार रामसँंग हुनु अनौठो होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘निःसन्तान राजा दशरथले पुत्रेष्टि यज्ञ नेपालकै रिडीमा गरेकाले राम पनि नेपाली जस्ता लाग्छन् ।

उनले मिथिलाको जनकपुर ज्ञान केन्द्र रहेको र त्यतिबेला विद्वान्विदुषीबीच विमर्श गर्ने परम्परा रहेको उल्लेख गर्दै नारायणीको सुरम्य किनारमा बाल्मीकिको आश्रम हुनु, कोशी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्तरि र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि तपोभूमि हो भन्ने बुझिन्छ भने ।

“हिमवत्खण्डमा सूक्ष्म जीव र गँड्यौलादेखि हात्ती र एकसिंगे गैंडाजस्ता भीमकाय जीव पनि छन्, जमीनमा खोस्रेर निकाल्नुपर्ने यार्सागुम्बादेखि अग्लाअग्ला देवदारु वृक्षसम्म छन्, चट्टानैचट्टानबाट झर्नाहरू निस्केका छन् र तिनमा छन्द छ, लय छ । यहाँ रोदी हुन्छ, र दोहोरी नेपालजस्तो प्राकृतिक सौन्दर्यले घनीभूत भूमिमा मात्र सम्भव हुन्छ । हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ र त्यो लय नै हाम्रो काव्यलाई जीवित गराउने महत्वपूर्ण तत्व बनेको छ । त्यो गद्यजस्तो बिर्सिइँदैन, युगौंँयुगसंँग कण्ठमा रहन्छ” ।

प्रधानमन्त्रीले आफूले बाल्यकालमा पढेका एक दुई कविता कण्ठाग्र सुनाउँदै छन्द र लयको महत्वमाथि जोड दिँदै भने, “त्यसैले भानुभक्तीय रामायण सम्भवतः सबैभन्दा बढी पढिएको काव्य हुनुपर्छ ।” संस्थाहरू अनन्त ज्वाला जस्तो ननिभ्ने वा स्वचालित घडी झैंँ चलायमान भइरहनुपर्नेमा दाउरा ठोसे मात्र हुरुक्क बल्ने नत्र धिपधिप गर्ने आगोझैंँ भएको अनुभव सुनाउँदै ओलीले भने, “कुनै कुनै घडी चलाउन शरीर हल्लाउनुपर्ने हुन्छ ।”

अर्को प्रसङ्गमा उनले सत्य ब्रह्मझैं बलवान् हुने कुरा बताए ।  संसद्मा आफूले केहीअघि मात्र बोलेको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री ओलीले भने, सत्यमेव जयते हाम्रै पुर्खाको ध्वनि हो । यो हाम्रै हो । सत्यका पछाडि लाग्न छाड्न मिल्दैन ।’

कार्यक्रममा  प्रधानमन्त्री ओलीले दुई वर्षअघि चन्द्रागिरिमा सम्पन्न ‘हिमवत्खण्ड कलासाहित्य सम्मिलन– २०७५’ को स्मारिकाको विमोचनसमेत गरेका थिए । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयले साहित्य र कलाको महत्वलाई राम्ररी बुझ्ने प्रधानमन्त्रीको नेतृत्व पाएको बताए ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...