कार्यकर्तालाई प्रकाण्डको निर्देशन :जनताको उद्धार, राहत र सेवामा खट्नु

Biplav prakanda

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बाढीपहिरोपीडित जनताको उद्धार, राहत र सेवामा जुट्न पार्टीका नेता–कार्यकर्ताहरूलाई विशेष निर्देशन दिएका छन् । प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाएकाहरूप्रति पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाण्डले विज्ञप्तिमार्फत मृतकका आफन्तजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । उनले बाढीपहिरोमा परी बेपत्ता भएका जनताको शीघ्र उद्धार तथा वास्तविक अवस्था सार्वजनिक गर्न, घाइतेहरूको निःशुल्क, उचित उपचारको व्यवस्था गर्न, मृतकका आफन्त एवम् पीडित जनतालाई पर्याप्त राहतको व्यवस्था गर्न र घरवारविहीन जनताको पुनर्बासको व्यवस्था गर्न सरकारसँग जोडदार माग पनि गरेका छन् ।

प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘देश र नेपाली जनता कोरोना भाइरसको आक्रमण, आतङ्क र बेथितिका विरुद्ध जीवन–मरणको सङ्घर्ष गरिरहेको बेला गतसाताबाट सुरु भएको अभूतपूर्व वर्षाका कारण बाढी र डुबानले म्याग्दी, तनहुँ, गुल्मी, कास्की, जाजरकोट, कालीकोट, सङ्खुवासभा, चितवन र तराईका जिल्लाहरूलगायत देशभरि धनजन र भौतिक संरचनाको ठूलो सङ्ख्यामा क्षति हुन पुगेको छ । सर्वप्रथम प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाउन पुगेका दर्जनौँ मृतकप्रति हाम्रो पार्टी गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँहरूका आफन्तजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

प्रकाण्डको विज्ञप्तिमा भनिएको छ, ‘दर्जनौँको सङ्ख्यामा बेपत्ता भएका जनताको शीघ्र उद्धार तथा वास्तविक अवस्था सार्वजनिक गर्न, घाइतेहरूको निःशुल्क, उचित उपचारको व्यवस्था गर्न, मृतकका आफन्त एवम् पीडित जनतालाई पर्याप्त राहतको व्यवस्था गर्न र घरवारविहीन जनताको पुनर्बासको व्यवस्था गर्न सरकारसँग पार्टी जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल संसदीय राज्यव्यवस्थाको जनविरोधी चरित्र, गैरजिम्मेवारीपना र अक्षमताका कारण अव्यवस्थित बस्ती र असुरक्षित आवासमा दैनिक गुजारा चलाउन विवश आमनेपाली जनतालाई आफैँ उच्च सतर्कता कायम राख्न आग्रह गर्दै नेता–कार्यकर्ताहरूलाई पीडित जनताको उद्धार, राहत र जनसेवाको कार्यमा जुट्न पार्टी विशेष निर्देशन गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘विगत ४ महिनादेखि कोरोना भाइरसको महामारी र त्यसको रोकथामका निम्ति अवलम्बन गरिएको बन्दाबन्दी (लकडाउन) बाट सङ्कटग्रस्त बन्न पुगेको नेपाली अर्थतन्त्रको डरलाग्दो मार देशको उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा पर्न गएको छ । उत्तरसाम्राज्यवादी एवम् साम्राज्यवादी एकाधिकार पुँजीको चपेटा, दलाल पुँजीपति वर्गको षड्यन्त्रको निरन्तर सिकार बन्दै आएका राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरू मृत्युको मुखमा पुग्न विवश त छँदै थिए, यो बेलामा सरकारले जारी गरेको ‘कर असुली फरमान’ र बैङ्कहरूले ब्याज असुल गर्न थोपरेको थप ‘ऋण प्रपञ्च’ राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरूका निमित्त थप सङ्कटपूर्ण अवस्थाको कारण बन्न गएको छ ।

यो आपत्तिजनक र खेदजनक कार्यलाई सरकार र वित्तीय बैङ्कहरूले तत्काल स्थगित गरी बन्दाबन्दीको अवस्थामा सहुलियत ब्याजदर, व्यापार, व्यवसाय सुचारु भएर पुँजी परिचालित हुन थालेपछि कर र ब्याज बुझाउने व्यवस्था गर्न सरकार र वित्तीय बैङ्कहरूलाई पार्टी गम्भीर अपिल गर्दछ । अन्यथा कोरोना भाइरस र बन्दाबन्दीले थलापरेका राष्ट्रिय उद्योगी, व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र वित्तीय बैङ्कहरूको रबैया पार्टीले टुलुटुलु हेरेर बस्न नसक्ने कुरासमेत समयमै अवगत गराउँछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...