हेलिकोप्टरको होहल्लामा दब्यो विस्थापितको वेदना

Badhe pidit

काठमाडौं । वर्षासँगै बाढीपहिरोले जताततै विस्थापित हुन थालेपछि गाउँठाउँमा हेलिकोप्टर उडाउने प्रतिस्पर्धा चलेको छ । विपतको वेला पनि चुनावी सभाजस्तै फरक–फरक हेलिकोप्टर लगेर जाने प्रतिस्पर्धाले राज्यकोष दोहन भएको छ, तर विस्थापितले भने उद्धार र राहत नपाएको गुनासो गरिरहेका छन् । सिन्धुपाल्चोकको जम्बु क्षेत्रमा बुधबार राति पहिरो आएपछि बिहीबार बिहानै सभामुख अग्नि सापकोटा सेनाको हेलिकोप्टर लिएर सो क्षेत्र गएका थिए । मौसम खराब भएकाले धुलिखेलमा केही घन्टा रोकिएर उनी चढेको हेलिकोप्टर घटनास्थलतर्फ गएको थियो ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल र उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल पनि हेलिकोप्टरमा गएका थिए । कांग्रेस नेता मोहन बस्नेत पनि हेलिकोप्टर लगेर गएका थिए ।

‘जम्बु क्षेत्रका बासिन्दालाई स्थलमार्गबाटै बाह्रबिसे पुर्‍याउन सकिने अवस्था थियो, तर नेताहरूका हेलिकोप्टर आउँदै छन् भनेर घाइतेलाई पनि पर्खाइएको थियो, मौसम खराब भएकाले नेताका हेलिकोप्टर निर्धारित समयमा पुगेनन्, त्यसैले घाइतेको उपचारमा अनावश्यक ढिलाइ भयो,’ जम्बु क्षेत्रका बासिन्दाको भनाइ छ ।

तातोपानी भन्सारमा शरण लिएका विस्थापित
उता, बिहीबार सिन्धुपाल्चोकमा एकै पटक पाँच हेलिकोप्टरले आकाश थर्काए पनि शुक्रबारदेखि विस्थापितको पीडा मात्र सुन्न सकिन्छ । हेलिकोप्टरमा गएका नेताहरू हेलिकोप्टरमा नै फर्किए । पाखामा पाल टाँगेर बसेका विस्थापितले न लत्ताकपडा पाएका छन्, न खाद्यान्न ।

विस्थापितहरू केहीले आफन्तको घरमा शरण लिएका छन् भने केही सरकारी भवन, होटेल र खाली ठाउँमा पाल टाँगेर बसिरहेका छन् । बाढीपहिरोले बगाएका १४ घरका सहित जम्बुबाट एक सय २० जना आफन्तकहाँ शरण लिएर बसेका छन् । आफन्तजनले खानाको जोहो गरे पनि लत्ताकपडा नभएको पीडितहरूले बताएका छन् ।

‘लत्ताकपडा सबै पहिरोमा बगे । पाँच दिनदेखि एकसरो लुगामै छौँ,’ विस्थापित अर्जुन श्रेष्ठले भने, ‘फेर्ने लुगा नभएकाले घरबाहिर निस्कनै समस्या भएको छ ।’ पहिरोमा पुरिएर जम्बुमा दुई जनाको मृत्यु भएको थियो । बेपत्ता १६ जना अझै फेला परेका छैनन् ।

त्यस्तै, खागदलमा २० घरका ८० जना विस्थापित भएका छन् । उनीहरू रुम्टा गाउँमा पाल टाँगेर एकैठाउँमा बसिरहेका छन् । विभिन्न संघसंस्थाले खाद्यान्न दिए पनि लत्ताकपडा नभएको उनीहरूको गुनासो छ । सडक अवरुद्ध भएकाले खाद्यान्न र लत्ताकपडा पु¥याउन नसकिएको बाह्रबिसे नगरपालिका मेयर निम्फुञ्जो शेर्पाले बताए ।

नदीले कटान गरेकाले बाह्रबिसेदेखि नै कोदारी राजमार्ग बन्द छ । जुरेबाट राम्चे, मानेश्वाँरा हुँदै जम्बु पुग्ने वैकल्पिक बाटो निर्माण भइरहेको उनले बताए । सोमबार दिउँसोसम्म कच्ची सडक तयार हुने बताउँदै मेयर शेर्पाले भने, ‘विस्थापितलाई खाना खुवाएर पीडितलाई बचाउने काम गरेका छौँ । कच्ची मोटरबाटो तयार भएपछि सबै व्यवस्थापन गर्ने योजना बनेको छ ।’

त्यस्तै, भोटेकोसी गाउँपालिका–३ लार्चाआसपास नदीतटीय क्षेत्रका एक सय ६२ जना विस्थापित भएका छन् । उनीहरू तातोपानी भन्सार सुक्खा बन्दरगाहको भवनमा बसिरहेका छन् । उनीहरूका लागि भने वडा कार्यालयले खानाको बन्दोबस्त गरेको छ ।

तातोपानी, घट्टेखोला, तामाङगाउँ र यार्मासिङका ८० जना पनि विस्थापित भएका छन् । उनीहरू होटेल स्मल हेभनमा एकैठाउँमा बसिरहेका छन् । जताततै पहिरो गएकाले धेरै गाउँका बासिन्दा विस्थापित भएको नेकपा भोटेकोसीका अध्यक्ष आङछिरी शेर्पाले बताए । दिउँसोभरि पहिरो वरिपरि टहलिए पनि रात परेपछि त्रसित हुने गरेको उनले बताए ।

पहिरोमा परी विस्थापित भएका जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँका ३२ परिवार स्थानीय भगवती आधारभूत विद्यालयमा बसिरहेका छन् । आफन्त गुमाएकाका परिवार विद्यालयमै किरिया बसेका छन् ।

पहिरोमा परी शुक्रबार बेपत्ता भएका १२ मध्ये ११ जनाको शव भेटिइसकेको छ, एक जना अझै हराइरहेका छन् । आइतबार कमला सार्कीको शव भेटिएको हो । उनको दाहसंस्कार गर्न बाँकी छ । अन्य १० जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरूका परिवारजन विद्यालयमै किरिया बसेको स्थानीय शिक्षिक तीर्थराज बोहराले बताए ।

स्तै, बारेकोट गाउँपालिका–६ धुमामा बेपत्ता भएका दुई जना पनि फेलापरेका छैनन् । जुनिचाँदे– १ का डिल्ली चँदारा पनि तीन दिनदेखि फेला परेका छैनन् । बारेकोटको बोहोरा गाउँका १९ परिवार पनि विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।

पहिरोका कारण गाउँपालिकाभरि पाँच सय परिवार विस्थापित भएकोे प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए । ‘गाउँभरि पहिरो गएको छ । केही घर भत्किएका छन् भने केही जोखिममा परेकाले घर छोडेर सुरक्षित स्थानमा बसिरहेका छन्,’ सिंहले भने ।

पहिरोले बारेकोट–४ का दुई गाउँ चिराचिरा भएका छन् । गाउँभरि दर्जनौं पहिरो गएको स्थानीय लोकेन्द्र बोहराले बताए । ‘गाउँभरि जमिनमा चिराचिरा परेको छ । कतिवेला पहिरो जाने हो भन्ने डरले घरमा बस्न सकिएन,’ घर छाडेर विद्यालयमा बसिरहेका बोहराले भने ।

न्नपात पहिरोमै नष्ट भएकाले विस्थापितहरू समस्यामा परेको उनले बताए । ‘गाउँबाट मकै मागेर पिँध्नका लागि पनि घट्टजति खोलाले बगाएको छ । स्थानीय बजारमा चामल छैन,’ उनले भने । विस्थापितले राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

यसैबीच, पहिरोबाट विस्थापितका लागि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले राहत सामग्री ल्याएका छन् । काठमाडौंबाट हेलिकोप्टरमा राहत सामग्री लिएर आएका मन्त्री बस्नेत खराब मौसमका कारण पहिरो गएको गाउँमा भने पुग्न सकेनन् । राहत लिएर आएको हेलिकोप्टर छिमेकी ठकुरी जिरीगाउँको मकैबारीमा ल्यान्ड गरिएको थियो ।

बाढीपहिरोबाट आइतबारसम्म पश्चिम रुकुममा दुईजनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकाको रेजेखोलामा पहिरोले घर भत्किँदा सीता दमाईं र हाडिल परियारको मृत्यु भएको छ ।

त्यस्तै, हुम्लाको अदानचुली र चंखेली गाउँपालिकामा बाढीले केही घर भत्काएको र स्थानीयको उद्धारका लागि प्रहरी घटनास्थल पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ का एक जनालाई रामघाट खोलाको बाढीले बगाएको छ । उनी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

संखुवासभामा पहिरोले नौ घर बगाउँदा ११ बेपत्ता, उद्धारमा खटिएका एक युवाको मृत्युअविरल वर्षासँगै आइतबार बिहान गएको पहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीमा जुटेका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा ५५ वर्षीया हस्तकुमारी राई, उनका छोरीहरू २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता, ६५ वर्षीया गोरीमाया राई र उनकी २२ वर्षीया छोरी प्रकृति हराएका छन् । त्यस्तै, ४५ वर्षीया उत्तरकुमारी राई, ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई, ८२ वर्षीया आइतमाया राई, सन्दीप राई र शुभधन राई पनि हराइरहेका छन् ।

हराएकाहरूको खोजी गर्ने क्रममा एकाएक बेहोस भएका स्थानीय २५ वर्षीय मदन राईको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने डिएसपी मल्लले बताए । उनी दमको रोगी रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

सुरुमा १५ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएका ५५ वर्षीय भीमबहादुर राई, ७९ वर्षीय गोवासिंह राई, ६० वर्षीया फूलमाया राई र उनकी १४ वर्षीया छोरी भीमसरीलाई स्थानीयले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताए । उनीहरूमध्ये गोवासिंह गम्भीर घाइते छन् ।

बेपत्ताहरूको खोजीका लागि ताम्कु र सिसुवाटारस्थित प्रहरी चौकीबाट नेपाल प्रहरी र ताम्कुमा रहेको सेनाको टोली घटनास्थल पुगेको छ । तर, पहिरो झर्ने क्रम नरोकिएकाले उद्धार तथा खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि विराटनगरबाट आउन लागेको सुरक्षाकर्मीको टोली खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि रोकिएको छ ।

सदरमुकाम खाँदबारीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५–१५ जनाको टोली तथा सेनाको ३० जनाको टोली बिहान बेसिन्दा गएको सहायक सिडिओ मोहनमणि घिमिरेले बताए । यातायातको सुविधा नभएकाले हिँडेरै सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् ।

संखुवासभाका अन्य गाउँमा पनि पहिरो गएको छ । खाँदबारी नगरपालिका–१ देवकोटा चोकदेखि सातकुवा जाने सडकमा दुई सय मिटरमाथिबाट झरेको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण तीन परिवार जोखिममा रहेका छन् ।

त्यस्तै, खाँदबारी–१ कै ढोलबाजेस्थित सडक पहिरोका कारण आवतजावत अवरुद्ध भएको छ । खाँदबारी–३ मा पहिरोमा परी दुईजना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भनेर यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...