बाढीले मच्चायो बबण्डर : तराईमा जलमग्न, बस्तीमा बाढी पस्दा बस्ती नै जोखिममा

Duban saptari

काठमाडौं । लगातारको वर्षासँगै प्रदेश २ र ५ का जिल्लाहरु जलमग्न भएका छन् । लगातारको वर्षाले खोलाहरूमा जलस्तर बढेसँगै बस्तीमा कटानको जोखिम बढेको छ । खोलाले तटबन्ध कटान गरेर बाढी बस्तीमा पस्न थालेको छ ।

सप्तकोसी नदीको पश्चिम तटीय क्षेत्रमा रहेको श्रीलंका टापु बाढीको जोखिममा परेको छ । दुई दिनयताको वर्षात्सँगैको कोसी बाढीको भेल पश्चिम क्षेत्र मोडिएकाले जोखिम भएको हो । बहाव अत्यधिक भएपछि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरको मुहानमा रातो झन्डा गाडिएको छ ।

भारत सरकारले पूर्वी तटबन्ध क्षति नपुगोस् भनेर पानीको बहावलाई पश्चिम धकेल्न ‘पाइलट च्यानल’ बनाउँदै आएको छ । गत हिउँदमा पनि त्रिकुटी आकारको तार राखेर कोसीको बहाव पश्चिम सोझिएपछि श्रीलंका टापुतर्फ जोखिम बढेको हो ।

अहिले कोसी ब्यारेजका लागि निर्माण सुरु गरिएको चतरामा नै नदीको बहाव बढेको छ । ब्यारेजमा शनिबार ३९ ढोका खोलिएको र पानीको बहाव २ लाख ७६ हजार क्युसेक प्रतिसेकेन्ड रेकर्ड भएको प्रहरीले जनाएको छ । भारतले कोसी तटबन्ध बर्सेनि मर्मत गर्दै आएको छ ।

केही दिन यताको भारी वर्षाले लेउती र गर्जुवा खोलामा आएको बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका –७ गर्जुवा गाउँको बस्ती जोखिममा परेको छ । दुवै खोलाको संगम स्थलमा ९ घर रहेको बस्ती छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गर्न थालेको स्थानीय भनाइ छ ।

खोलामा पानीको बहाव बढिरहेको छ । स्थानीयमा त्रास रहेको स्थानीय यामबहादुर राईले बताए । खोला कटालने उनको शौचालय समेत बगाइसकेको छ भने घर जोखिममा रहेको छ ।

गर्जुवा खोलामा आएको बाढीले धरान-धनकुटा कोशी राजमार्गसमेत पटक पटक अवरुद्ध हुने गरेको छ । पानी पर्ने वित्तिकै गर्जुवाको सिरमा पहिलो जाने गर्छ । सोही पहिरोको माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ । सडक डिभिजन कार्यालयले पहिरो पन्छाउन डोजर परिचालन गरेको छ । पहिरोले छिन् छिनमै बाटो अवरुद्ध भइरहेन्छ ।

झापामा कन्काई नदीले कटान तीव्र पारेको छ भने सप्तकोसीमा बहाव बढेपछि ३९ वटा ढोका खोलिएको छ । झापाको कनकाई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–१० सुकुम्बासी बस्तीका चार घर विस्थापित भएका छन् ।

बाढीले नदीको पश्चिम किनारमा कटान तीव्र पारेको छ । रेडक्रस सोसाइटीका झापाका सभापति लोकराज ढकालका अनुसार प्रेम उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालबहादुर ऋषिदेवको परिवार विस्थापित भएको हो ।

भारी वर्षासँगै कनकाई नदीमा आएको बाढीले करिब ८ सय मिटर जमिन कटान गरेको छ । कटान नरोकिएकाले सुकुम्बासी बस्तीका थप १५ घर उच्च जोखिममा परेका छन् । बस्तीमा ५९ घरपरिवारको बसोबास छ ।

अविरल वर्षासँगै केसलिया खोलामा आएको बाढीका कारण विराटनगर १२ बखरीका ३० परिवार बिस्थापित भएका हुन् । बखरी टोलमा पर्ने मुसहरी बस्तीमा केसलियाको पानी पसेपछि ३० परिवार विस्थापित भएका हुन । विस्थापित भएकाहरुलाई बखरी स्कुलमा सारिएको छ ।

लगातारको वर्षाले सप्तरी सदरमुकाम राजविराजको बिभिन्न सडक जलमग्न बनेको छ । अदालत रोड, तेतरी गाछीसहितका सडकमा पानी पसेको छ । वडा नम्बर २ र ५ का धेरै व्यक्तिको घरमा पानी पसेको छ ।

जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १४ गोबरगाढाको पुरै बस्तीमा पानी पसेको छ । पानीले डुबान भएपछि वस्ती नै घेरिएका छन् । यहाँ झण्डै ८० परिवारका २ सय जनाभन्दा बढी व्यक्ति घेरिएका छन् । यही नगरपालिकाको वडा नम्बर १३ रम्पुरा मल्हनियाँ, तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ सहितका ठाउँमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।

महोत्तरी सहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो ।

महोत्तरीका रातु, बडहरि, अङ्कुशी, मरहा, जङ्घा, भब्सी र बाँकेलगायतका नदीमा उर्लेको बाढीले कटान र डुबान बढाउँदै लगेको छ । पछिल्ला चार दिनयता बाढीको पानी गाउँ नगर बस्तीमा पसेपछि जताततै जलाम्य बनेको हो ।

लगातारको वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ परिवारको घर डुबानमा परेको छ । बाढीका कारण पाँच व्यक्तिको घर भत्केर क्षतिग्रस्त हुँदा उनीहरु छिमेकीको शरणमा बस्न बाध्य भएका छन् । प्रहरीका अनुसार मलगंवा ५ स्थित लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेको हो । घर डुबानमा परेपछि ती परिवारका १ सय ४७ जना घरबाट विस्थापित भएका छन् ।

पूर्वी चितवनको रत्नननगर नगरपालिकाको सौराहा क्षेत्र नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढी पस्द नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको नगर प्रमुख नारायण बनले जानकारी दिए ।

खगेरीको बाढीले रत्ननगर नगरपालिका–८ मा रहेको होटल रेड रूफ, होटल न्यु न्युरो, होटल ग्रीन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, संहाती छेउकुना रेष्टुरेन्ट र रत्ननगर नगरपालिका–७ मा रहेको बीगबोस रेष्टुरेन्ट, बेम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल डुबानमा परेका छन् ।

बाढीले वडा नम्बर ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ । रत्ननगर–७ मा रहेको रमाइलो डाँडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ । आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैंठकमा नगर प्रमुख नारायण वनले सौराहा क्षेत्र डुवानको खतरामा रहेको बताएका थिए ।

महोत्तरीको बर्दिवास–११ खयरमाराको एउटा बस्ती पहिरोको जोखिममा छ भने सडकहरू जलमग्न भएका छन् । पूर्वपश्चिम राजमार्गलाई पानीले कटान गर्न थालेको छ । चुरे क्षेत्रको फेदमा रहेको खयरमाराको पानीटंकी टोलका १० घरधुरी पहिरोको जोखिममा परेका छन् ।

लगातारको वर्षाले शुक्रबार राति पहिरो जाँदा बस्ती जोखिममा परेको हो । बर्दिवास नगरप्रमुख विदुर कार्कीले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क बस्न भनिएको बताए । वर्षाले पूर्वपश्चिम राजमार्गको महोत्तरी खण्डका विभिन्न स्थानमा कटान सुरु गरेको छ । बर्दिवास–४ का केही भाग कटान गरेको छ भने बर्दिवास बजार क्षेत्रमै राजमार्गमा खाल्डा पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...