प्रचण्डले भने, देश दुर्घटनामा जाने वा पार्टी जाने गतिविधि हुन दिन्नँ

Prachanda 26

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरु ‘हतारमा केही कुरा गरेर भोली फुर्सदमा पछुताउनुपर्ने अवस्था नआओस् भन्नेमा सतर्क रहेको बताएका छन् ।

‘मैले देश दुर्घटनामा जाने वा पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यपूर्वक पहल गर्ने विश्वास दिलाउँछु’, शनिबार चितवन आएका प्रचण्डले माडीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा प्रचण्डले भने ‘आफूले निर्णय गर्न हतार गर्दा देश वा पार्टी दुर्घटनामा पर्न सक्ने भएकाले हतार गरेको थिएनौं ।’

‘म पार्टीको एउटा अध्यक्ष । मैले देश दुर्घटनामा जाने वा पार्टी जाने गतिविधि हुन नदिन अन्तिम समसयसम्म पहल गर्ने विश्वास दिलाउन चाहन्छु’, प्रचण्डले भने, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना हुन्थ्यो वा के हुन्थ्यो भन्न सक्दिनँ ।’

उनले देश वा पार्टीलाई दुर्घटनाबाट जोगाउन आफूले अन्तिम समयसम्म पहल गर्ने पनि बताए । ‘सकारात्मक सोचका साथ समाजलाई अग्रगामी सहजता दिन सक्छौँ भन्ने बुझिदिनुभयो भने परिवर्तनको लडाईं सहज हुन्छ’, उनले भने, ‘सकारात्मक सोचले मात्र जितिन्छ र पार्टीलाई एकता गर्न सकिन्छ ।’

‘देशलाई राजनीतिक स्थायित्व दिने, कम्युनिस्ट पार्टी नेतृत्वमा विकास र समृद्धिको नयाँ यात्रा तयार गर्ने, समाजवादको आधार स्थापित गर्ने लक्ष्यका साथ पार्टी एकता गरेका हौँ । एकता प्रक्रिया अगाडि लाने प्रतिवद्धता संकल्पनसहित साझ उम्मेदवार र साझा घोषणापत्रसहित चुनाव लड्यौँ’, प्रचण्डले भने, ‘पार्टी एकता गरिछाड्छौँ भनेर तपाईंहरुका अगाडि उभिएर बोलेका थियौँ । त्यसैको कारण जनताले विश्वास गरेर दुई तिहाइको बहुमतसहित सरकार र विकासको नेतृत्व गर्ने अवसर दिए । देशलाई कही कसैले कुनै बहानामा कमजोर पार्नुहुँदैन भन्नेमा दृढ छौँ ।’

‘यो समयमा पार्टीभित्रको विवाद चर्काएर केही केपी ओलीलाई छोड्नु हुन्न भनिरहेका छन् । अर्कोतिर प्रचण्डलाई छोड्नु हुन्न भन्ने पनि देखिएको छ’, प्रचण्डले भने, ‘तपाईंहरु त्यस्तोमा नलागिदिनुहोस् । हामी जित्छौँ ।’ उनले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीसँगको पछिल्लो भेट सकारात्मक भएको भन्दै छिट्टै समस्या समाधान हुने बताए ।

नेकपा अध्यक्ष प्रचण्ड र अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसँगको द्वन्द्व चर्किदै गएपछि नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार र राहतमा लाग्न समग्र पार्टी पंक्तिलाई अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस