कविता : गाउँका सिंहदरवार

कविता : गाउँका सिंहदरवार

भरियाका छाँया माथि दोछाँया बनाएर
आकासको कालोपत्रे सडक पछ्याएर
सिंहदरवार गाउँमा आईपुगेको छ ।

 

परिचित गाउँको इतिहासको गर्भमा
विज्ञानका थुतुनाले उदिनेर
बन्दैछन् फगत लोकतन्त्रका किर्तन मण्डली
भोकको नाभि छेडेर गाडिएको छ राष्ट्रिय झण्डा
वेसक्याम्पमा ढाकर बिसाएर
भरियाहरु रित्तै चढ्दैछन् महङ्गीको सगरमाथा ।

 

एउटा घरमा भत्ता सत्ता र दरवारीया ब्यन्जन
अर्को घरमा पसिनाको भुटुनमा आफ्नै काँचो रगतको राग
फापरको पिठामा दुःखको घुन छानिरहेछन्
साना साना झुपडीहरु
जति जन्माए नि बाझै भएकी धर्ती माता
खोज्दै छिन् आफ्नो जवान छोरो
गाउँका सिंहदरवारको योजना शाखामा
खात लागि सके
केही थान बृद्धालय बनाउने पेण्डिङ फायलहरु ।

 

भिरमा फुलेकी सुनाखरीले
आत्मदाह गर्दै छ पुरातात्विक ढुङ्गाका काखमा सुतेर
गाउँको प्राण बोकेका जरुवा मुहानहरुले
लेखिरहेछन् सुईसाईड नोट
मन्द मन्द हुँदैछन् चराका गीतहरु
आ–आफ्नै शितलतामा बेखवर
चौतारीका आलिङ्गन वरपिपलले
हस्ताक्षर गर्दैछन् यमराजले दिएको डिभोर्स पेपरमा ।

 

दरवारीया ढाडसमा उर्दी छाँटिरहेछन्
गाउँका चिप्लेकिरा भ्यागुताहरु
सयौं वर्षका सपनाहरुलाई
दुईचार मुरी अविरले पुरेर
उमार्दैछन् बैमनस्यताको धारिलो हतियार
किलकिलेमा पासो लगाउने अक्षर कोरेर
माईनेट घुमाउदैछन् लोपोन्मुख काँडे भ्याकुरहरु
अन्जान जस्तो बटारिरहेछन्
दमनको हाईड्रोलिक स्ट्रिङ ।

 

गाउँ गोठ पधेरी रवाफको आगो बलेको छ
उज्यालो छ अध्यारोमा हिड्नेलाई तर बस्ती जलेकोछ
बर्षौ पछि उधारो उठेको ब्यपारीको मुस्कान जस्तो
हाँसो फैलिएको छ  औषत अर्नामा
भैसीको ढाडमाथि चढेर बाली चराउँदैछन्
नव महिषपालका गोठालाहरु
खै राता रात के कारोवार गर्दा हुन्
दिउँसो आँखा  नदेख्ने अन्धा गुर्वे सापहरु
गाउँ क्षणमै विषाक्त भएको छ
किनकी अहिले गाउँमा सिंहदरबार आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...