मंगलबारदेखि गंगालाल अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा अनिश्चितकाल बन्द

Gangalal hospital

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका ७ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा उपचार गर्दै आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गरेको हो ।

केन्द्रले सोमबार विज्ञप्ति निकाल्दै कोभिड संक्रमण महामारीको रुप लिइरहेको र अस्पतालमा भर्ना भएका बिरामीहरुमा पनि कोभिड पोजिटिभ देखिएकाले सेवा बन्द गर्नु परेको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार सोमबार अस्पताल भर्ना भएका ७ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार मात्रै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत ४ जनामा संक्रमण देखिएको थियो ।

सोमबारै ललितपुरको स्टार अस्पतालमा २ जना, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एक–एक जना गरी ४ जना भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको थियो ।

यसअघि केएमसी सिनामंगल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, नर्भिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतमा पनि भर्ना भएका बिरामी तथा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस