नेप्सेमा आयो उछाल : नेप्से परिसूूचक ७५.७७ अंकले बढ्दा १३३६.५२ अंक कायम

Share  market

काठमाडौं । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ ।

गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खुलेको थियो । त्यसअघि गत वैशाखको दोस्रो सातासमेत बजार दुई दिनका लागि खुला गरिएको थियो । लगातार ओरालो लागेपछि बजार पुनः बन्द गरियो ।

यही असार १४ गते आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गयो । स्टकका अनुसार सोमबार बजार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको थियो । बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगायो र आजका लागि कारोबार स्थगन भएको जनाएको छ ।

आज बुुुधबार नेप्से परिसूूचक हिजोको तुुलनामा ७५.७७ अंकले बढेर नेप्से १३३६.५२ अंक कायम भयो भने सेन्सेटिभ इण्डेक्स १५.१० विन्दूूले बढेर २८७.०२ पुुगेको छ । आज नेप्से उपसमूहमा रहेकामध्ये ११ वटा समूहमा हरियाली छायो भने एउटा मात्र रातो पोतियो ।

जीवन बीमा समूहमा ५४८.५३ अंकको उछाल आएको यो दिन निर्जीवनबीमा समूहमा ३२२.४१ अंकको बढोत्तरी भयो । त्यस्तै बैंकिङ समूहमा ८२.३ अंक, व्यापार समूहमा ३३.४८ अंक, विकास बैंक समूहमा ५७.०६ अंक, जलविद्युत् समूहमा ३३.६७ अंक, वित्त समूहमा ४.७५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १०२.५७ अंक, अन्य समूहमा २०.९४ अंक, लघुवित्त समूहमा १०१.२३ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ ।

आज होटेल्स् समूहमा ५.१५ अंकको गिरावट आएको छ । यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १३५ कम्पनीका ११ लाख १ हजार २ कित्ता सेयर ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँमा कारोबार भयो ।

आजको दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भयो । यो दिन यो कम्पनीले मात्र ६ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार गर्यो ।

त्यस्तै कुमारी बैंकको संस्थापक सेयरले ४ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीले ४ करोड २४ लाख रुपैयाँ, शिवम सिमेन्टले २ करोड ५७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले १ करोड ७८ लाख रुपैयाँ, एनएमबी बैंकले १ करोड ७६ लाख रुपैयाँ, नागरिक लगानी कोषले १ करोड ७५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले १ करोड ४७ लाख रुपैयाँ, नबिल बैंकले १ करोड १८ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरले ९७ लाख ४८ हजार रुपैयाँ बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र धेरै गुमाउने
आजका दिन नेप्सेमा सूचीकृत १२९ कम्पनीका सेयरधनीहरुले कमाएका छन् भने ६ वटा कम्पनीका सेयरधनीहरुले गुमाएका छन् ।

आज २३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । जसमा सिटिजन्स बैंक इन्टरनेसनलको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ ।

यसैगरी साना किसान लघुवित्त, नागरिक लगानी कोष, नेसनल लाइफ इन्स्योरेन्स, आरएमडीसी लघुवित्त, बुटवल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंक, नेपाल पुनर्बीमा कम्पनी, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सूर्य लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन बैंक, फस्र्ट माइक्रोफाइनान्स, ग्रामीण लघुवित्त, नेपाल इन्स्योरेन्स, एभरेस्ट बैंक, एनसीसी बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

आज नेसनल माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाएका छन् । यो दिन यो कम्पनीको सेयर मूल्यमा झन्डै ४ प्रतिशतको गिरावट आएको छ ।

प्रतिकृया दिनुहोस