कोरोनाका कारण स्थिती अझैं भयाभव बन्ने डब्ल्यूएचओले दियो यस्तो चेतावनी

Who chief

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोभिड–१९ (कोरोना) महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको बताएका छन् ।

गत वर्षको डिसेम्बरदेखि फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोडभन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ भने पाँच लाख चार हजार ३ सय ४५ संक्रमितको ज्यान गएको छ । यही महामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै खराब भएको छ ।

विश्वभरको अर्थव्यवस्था र सामाजिक जनजीवनमा निकै असर परेको छ । यति धेरै मानवीय र आर्थिकरसामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको डा. टेड्रोसले बताएका हुन् ।

उनले भनेका छन्, ‘यो महामारी चाँडै अन्त्य होस् भन्ने चाहन्छौं, तर सत्य यो हो कि हामी अझै यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौं । केही देशले नियन्त्रणमा लिएजस्तो देखिए पनि विश्वभर यो समस्या कायमै छ । राष्ट्रिय र विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको छ, त्यसैले खराब समय आउन बाँकी नै छ ।’

यदि विश्वभरका सरकारले महामारी नियन्त्रणका लागि सही नीतिहरु पालना गरेनन् भने यसले अरु धेरै मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताएका छन् । महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले आग्रह गरेका छन् । बेलायतले लकडाउनका बेला पालना गर्नुपर्ने नियमलाई झन् कडा बनाएको छ । लेस्टर शहरमा कोरोना भाइरस संक्रमित थपिँदै गएपछि लकडाउनमा कडाई गरेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) ले जुलाई १ तारिखदेखि धार्मिकस्थल खुला गर्ने भएको छ । त्यहाँको सरकारले सबै मस्जिद र अन्य धार्मिकस्थल खोल्ने घोषणा गरेको हो । हालसम्म युएईमा ४८ हजार २४६ जना संक्रमित भेटिएका छन् ।

संक्रमितमध्ये ३ सय १४ जनाको ज्यान गएको छ । महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म २५ लाख ८६ हजार ८४४ संक्रमित फेला परेका छन् । यीमध्ये एक लाख २६ हजार १२७ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि सबैभन्दा नराम्ररी प्रभावित ब्राजिलमा १३ लाख ६८ हजार १ सय ९५ जना संक्रमित भेटिएका छन् । त्यहाँ ५८ हजार ३ सय १४ जना संक्रमितको ज्यान गएको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म पाँच लाख ४८ हजार ३ सय १८ जना संक्रमित फेला परेका छन् भने १६ हजार ४ सय ७५ जनाको ज्यान गइसकेको छ ।

भारत यतिखेर कोरोना महामारीबाट अति प्रभावित मुलुकको सूचीको चौथो स्थानमा छ । नेपालमा हालसम्म १३ हजार २ सय ४८ जना संक्रमित पहिचान गरिएको छ भने २९ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस