प्रधानमन्त्री भन्छन् : मलाई हटाउन नयाँ दिल्ली लाग्यो, तर म कमजोर छैन

Madan bhandari janma jayanti 14

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतको नयाँ दिल्ली र काठमाडौंमा षड्यन्त्र भइरहेको बताएका छन् ।

‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ’, प्रधानमनत्री ओलीले भने, ‘नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस् ।’

प्रधानमन्त्री निवास बालुवाटारमा भएको मदन भण्डारी जन्मजयन्ती कार्यक्रममा उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी पनि दिए । ‘‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ’ उनले भने, ‘मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’

‘नयाँ दिल्लीका मिडिया, बौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप, त्यतिमात्र होइन होटलहरुमा भइरहेका जमघटले मलाई प्रधानमन्त्रीबाट हटाउन के–के भइरहेको छ सजिलै बुझ्न सकिन्छ’ उनले भने, ‘चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो । अहिले हाम्रो बहुमत छ । ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्‍ने बताए । उनले भने, ‘नेकपा पार्टी र संसदीय दल पनि बहकावमा कुद्‍दैन । यति बुझे हुन्छ, नक्सा भूलचुकले छापिएको होइन ।’

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीबाट हटाउन प्रयास गर्नेलाई गर्न दिऔँ । कसैले हतार नगरे हुन्छ । अहिले म हट्ने हो भने नेपालका पक्षमा कोही पनि बोल्ने मान्छे हुन्न । आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि आवश्यक भएकाले बसेको हुँ ।’

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए । 'मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर अहिले हट्ने हो भने भने भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्छ । आफ्ना लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि म प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।'

नोपलको नागरिकता खल्तीमा राखेर भारतको पक्षमा तर्क गर्नेहरु नेपालमा भएको बताउँदै उनले नागरिकता ऐनको पक्षमा आफ्नो धारणा प्रष्ट पारेका छन् । उनले जमिन फिर्ता लिएरै छाडिने बताएका छन् ।

प्रतिकृया दिनुहोस