प्रचण्डले किन ल्याए ‘फुट’ वा ‘जुट’ मध्येको एक विकल्प ?

प्रचण्डले भने, ‘त्यो गल्ती गरिएछ भन्ने महशुस भएको छ’

Sachiwalaya 10

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्तिसंघर्ष निर्णायक मोडमा पुगेको छ । नेकपाभित्रको विवाद चर्किँदै गर्दा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी विकल्पका विषयमा गम्भीर हुँदै दुईवटा विकल्प प्रस्तुत गरे ।

‘हामीसँग अब दुईवटा विकल्प छ । एउटा संघर्ष गर्दै जाने र पार्टी फुटमा जाने । त्यो विकल्प सोच्न पनि हुँदैन । अर्को विकल्प एकतावद्ध भएर जानुपर्छ । एकतावद्ध त्यागले मात्र सम्भव छ अहंकारले छैन’ स्थायी कमिटी बैठकमा प्रचण्डले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीजी पनि त्यागका लागि तयार हुनुपर्छ । हामी सबैले त्याग गरे मात्र एकता सम्भव छ । त्यसका लागि सबैले जोड दिनु आवश्यक छ ।’

‘पार्टी एकता गर्दा हामीले के सम्झौता गरेका थियौँ र अहिले कहाँ छौँ । सुरुमा एकजना अध्यक्ष एकजना प्रधानमन्त्री भन्ने कुरा थियो । लिखित नै गरेर फेरि आधा–आधा कार्यकाल सरकारको नेतृत्व भन्ने भयो’ प्रचण्डले भने, ‘त्यसपछि एउटाले पार्टी र अर्काले सरकार भन्ने भयो । मैले यी सबै छाडेको छु । अब को जिम्मेवार बन्नुपर्ने ?’

प्रचण्डले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताए । ‘मैले पहिला पार्टी एकता हुँदाको सम्झौता छाडेर पार्टीको हकमा जे लाभ हुन्छ भनिएको थियो त्यो भएन’ प्रचण्डले भने, ‘त्यो गल्ती गरिएछ भन्ने महशुस भएको छ ।’

पार्टी एकता हुनुभन्दा एक दिन अगाडि अर्थात् ०७५ जेठ २ गते ६ बुँदे सहमतिमा समानता र समान अवधिका आधारमा आबश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने विषय पनि थियो । ०७६ मंसिर ४ गतेको सचिवालय बैठकले दाहाललाई कार्यकारी अध्यक्ष दिने र ओलीले पाँच बर्ष सरकार चलाउने सहमति गरेको थियो । तर, प्रचण्डले कार्यकारी भूमिका नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यसले नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्ष निर्णायक मोडमा पुगेको देखाउँछ । पार्टी स्थायी कमिटि बैठक अगावै आफ्नो पल्लाभारी बनाउने एकपछि अर्को प्रयासमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सक्रियता देखाइरहेका छन् ।

प्रतिकृया दिनुहोस