एक साताका लागि तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र पूर्णरुपमा सिल

Bandipur 9

तनहुँ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द भएका छन् ।

सोमबार बसेको आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै आज विहानैदेखि बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु २ हप्ताका लागि पूर्ण रुपमा बन्द भएका छन् ।

क्वारेन्टिनमा रहेका व्यक्ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत ३४ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार चिकित्सकसहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेन्टिनमा रहेका ८ जना समेत गरी ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकका अध्यक्ष पूर्णसिंह थापाका अनुसार आजदेखि लागु हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेका सबै सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दिपुर १ हप्ताका लागि बन्द गरिएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएका कारण समुदायमा फैलने जोखिम उच्च रहेको हुँदा असार गर्ने निर्णय गरिएको उनले बताए ।

गाउँपालिकामा क्षेत्रमा थप संक्रमण फैलन नदिनका लागि बन्दाबन्दीको निर्णयलाई पूर्ण रुपमा पालना गर्न, गाउँपालिकावासीलाई उच्च मनोवलका साथ भौतिक दूरी कायम गरी आफू र समुदायलई सुरक्षित रहन गाउँपालिकाले सूचनामार्फत अनुरोध गरेको छ ।

पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२ र २५ उमेर समूहका ९ जना पुरुष र ३५ वर्षीया १ महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । तनहुँमा हालसम्म ८९ जनामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिकृया दिनुहोस