विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार

Nepali uddar

कोरोना भाइरसको सङ्क्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना कतारका भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।

यसैगरी एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विभिन्न देशमा १० हजारभन्दा बढी नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।


डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यान्मा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरियालगायतका १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ जना नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । संयोजक डा सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


नेपालका आठ हजार ६०५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४०२ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।

विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार

कोरोनाको सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो ।

गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार १०८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।

यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।

४० जनाको शव पनि ल्याइयो

यही साता विदेशमा निधन भएका नेपालीको शवसमेत नेपाल ल्याउनेक्रम शुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ ।

विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शव नेपाल ल्याइएको हो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट छ, ओमान, युएई र साउदीबाट एक÷एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको सङ्घले जनाएको छ ।

यसबाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा महिनौँदेखि विदेशमा रोकिएका थिए ।

उनीहरुको अन्त्येष्टि र व्यवस्थापनका लागि सङ्घले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस