काठमाडौं महानगरपालिकाले ल्यायो व्यापार व्यवसायलाई विशेष सहुलियत प्रदान गर्ने नीति

Mahanagar niti

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सार्वजनिक गरेको २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, आवागमन व्यवस्थापन लगायतमा विशेष केन्द्रित गरिएको छ ।

चुनाव जितेको तीन वर्षपछि शाक्यले बिहीबार राष्ट्रिय सभागृहमा महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । यसपटक उनले नीति र कार्यक्रममा ‘मोनो रेल’ शब्दको उच्चारण नै गरेनन् । तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बन्दै गर्दा शाक्यले चुनावी घोषणपत्र जारी गर्दै भनेका थिए, जित्नेबित्तिकै डीपीआर तयार पार्छु र तीन वर्षभित्र महानगरको चक्रपथभित्र मोनोरेल चलाउँछु ।’

बिहीबार प्रस्तुत महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘काठमाडौं उपत्यकाको शहरी यातायात व्यवस्थापनलाई सुव्यवस्थित गर्न ई–बीआरटी तथा मेट्रो रेलको सम्भाव्यता अध्ययन यसै वर्ष सुरु गर्ने’ भने उल्लेख छ ।

महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागू गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ ।

‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्फ उन्मुख भैरहेको महशुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘यस महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ भन्न सकिने स्थिति छैन ।’

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ मलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ ।

‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको ब्यबस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रमुख शाक्यले भने, ‘उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रबद्र्धन मेला आयोजना गरिनेछ । ‘आर्थिक समृद्धिमा पर्यटन’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रबद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्बद्र्धन र बिस्तारमा जोड दिने नीति लिइनेछ ।’

महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा आफ्नै सुविधा सम्पन्न कम्तिमा ५० सैयाको अस्पताल स्थापना गर्न आवश्यक पूर्वाधार व्यवस्था गर्ने, महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका संभाव्य सामुदायिक अस्पतालहरुलाई महानगरपालिकाको अस्पतालको रुपमा सञ्चालन गर्ने योजना समावेश गरेको छ ।

कोभिड–१९ को प्रभाव लामो समयसम्म रहनसक्ने अनुमानलाई ध्यानमा राखी आम नागरिकको दैनिक आवागमनमा भौतिक दूरी कायम राखी सहजता प्रदान गर्न मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ ब्यबस्थित तथा चौडा गर्ने नीति महानगरपालिकाले लिएको छ । त्यसका लागि वडा कार्यालयको सक्रियतामा स्थानीय प्रशासनको सहकार्यमा फुटपाथ अतिक्रमण गर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गरिनेछ उल्लेख छ ।

नीति तथा कार्यक्रममा नुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष कार्यको थालनी गरिने, कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल होटल संघ, रेष्टुरेण्ट तथा बार संघ तथा अन्य सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्ने, उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरु जोड्नेगरी विद्युतीय ‘हप अन हप अफ’ बस सञ्चालन गरिने नीति पनि महानगरपालिकाले लिएको छ ।

शहरी फलफुल खेती, कौशी खेती, माटो विनाको खेती प्रविधिको विकास गर्ने र यस कार्यलाई समुदाय सहभागी लक्षित हुने नीति पनि महानगरपालिकाले लिएको छ । महानगरपालिकाले ‘समृद्धिको लागि सहकारी अभियान’लाई सफल पार्नसाना तथा मझौला व्यबसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति महानगरपालिकाले लिएको छ ।

‘विषम परिस्थितिमा जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘कोभिड–१९ महामारीले लघु, घरेलु तथासाना उद्योगमा पारेको प्रभावलाई सम्बोधन गर्न रिभल्भिङ फण्डको स्थापना गरी कार्यविधिको आधारमा सहुलियत दरमा ऋण प्रदान गरिनेछ । महामारी विरुद्ध प्रतिकार्यका लागि अध्ययन, अनुसन्धान, आविष्कार गर्न विभिन्न सरकारी, गैर सरकारी संस्थाहरुसँग सहकार्य गरिनेछ ।’

महानगरपालिकाले विद्यालयको पढाई बिचैमा छोड्ने विद्यार्थीहरूको मनोबललाई उच्च गर्न आवश्यक पूर्वाधार निर्माण गरी बालमैत्री शिक्षण पद्धतिलाई अबलम्बनगर्ने, स्थानीयबासी, जेहेन्दार, गरिब, विपन्न तथा अपाङ्गता भएका वालवालिकालाई आवश्यकतानुसार पाठय्पुस्तक, पाठ्यसामाग्री र पोसाक लगायतका सामाग्री उपलब्ध गराई अभिभावकत्व प्रदान गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

महानगरपालिकाले ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा सहित महानगरभित्र सडक आश्रित मानव उद्धार गर्ने कार्यलाई निरन्त्तरता दिने, सडक सहयोगापेक्षी मानव सेवालाई दीगो र संस्थागत बनाउनका लागिसहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रमको भवन संरचना लगायतका पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने नीति लिएको छ ।

समूदायको पहलमा स्थानीयस्तरमा खानेपानीको वितरण, आकाशेपानी संकलन तथा पानी पुनर्भरण गर्ने कार्यलाई विशेष प्राथमिकता दिने, उक्त कार्यको लागिसम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने, रिचार्ज काठमाडांैैं अभियानलाई निरन्तरता दिने जस्ता कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

महानगरपालिकाले ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल बही, चुक/ननी, लाछी जस्ता मूर्त तथा रितीरिवाज, भाषा, लिपी, संस्कृति, जात्रा, परम्परा जस्ता अमूर्त सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्ने नीति लिएको छ ।

‘काठमाडौं महानगरको इतिहास, संस्कृति, मौलिक परम्परा समेटी तस्बीर, चित्रकथा, श्रव्यदृश्य सामाग्री निर्माण गरिनेछ । साथै विभिन्न स्थानहरुमा कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्ते चित्र राखिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । नीति तथा कार्यक्रम अनुसार हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार यसै बर्ष शुरु गरिनेछ ।

महानगरपालिकाले ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान अनुरुप युवाशक्ति परिचालनको नीति अबलम्बन गर्ने र यसको लागि युवासँग अर्थपूर्ण सहभागिता र सहकार्यमा जोड दिने भएको छ ।

महानगरपालिकाभित्रका विगतका वर्षमा उपलब्ध गराउँदै आएको जस्तै यो वर्ष पनि ७५ र ८० वर्ष उमेर पुगेका महिला र पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई बार्षिक रुपमा दिने रु. १२ हजार महानगर बिशेष भत्ता निरन्तरता दिएको छ ।

नीति तथा कार्यक्रममा ‘स्वच्छ हावा, स्वस्थ जीवन’ लाई साकार पार्न वायु प्रदुषण नियन्त्रण, हरियाली प्रबद्र्धन, फोहरमैला व्यवस्थापन, आकासे पानी र फोहोर पानी व्यवस्थापन,फोहोरमैलाको अन्तिम ब्यबस्थापनमा प्रभावकारिता हासिल गर्न तथा आधुनिक प्रविधिको उपयोग गर्नका लागि निजी क्षेत्रसँग सहकार्य उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...