बन्दाबन्दीमा फलफूलका बिरुवाको माग बढ्यो

Fruits and vegetables ratopati non2etw7lc

काठमाडौँ । सुन्तलाको केस्राभित्रको दाना (बिँया) बाट पनि राम्रो आम्दानी हुन सक्छ भन्दा अनौठो लाग्छ । सुन्तलाको केस्रा खादा भेटिएको बिँयालाई बिउका लागि सुरक्षितसाथ सङ्कलन गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका सुन्तला किसानले बन्दाबन्दीको अवधिमा सुन्तलाको बिउबाट उत्पादित बिरुवाको कारोबारबाट राम्रो आम्दानी गरेका छन् । सो गाउँपालिका–४,सल्लेधाराका ददीराम पोखरेलले झण्डै चार हजार सुन्तला, कागतीको बिरुवाबाट २ लाख बढी आम्दानी भएको बताए ।

“सुन्तला, कागतीका बिरुवाको कारोबार नगदमा हुने हुँदा लकडाउनमा गोजी रित्तो छैन । दैनिक सयदेखि हजारसम्म बिरुवा बिक्री गर्छु”, कृषक पोखरेलले भने । गुल्मी र अर्घाखाँचीका स्थानीय तहमा बिरुवा निर्यात भएको हो । स्थानीय तहका प्रमुखहरु नर्सरीको अध्ययन र बिरुवा बोकेर जान्छन् ।

सुन्तला, कागती, जुनार लगायतका बिरुवा पाल्पाको बगनासकाली गाउँपालिका र रैनादेवी गाउँपालिकाबाट निकै माग भएको पोखरेल बताउँछन् ।  एउटा सुन्तला, कागतीबाट आठदश ओटा बिरुवा हुर्काउन सकिन्छ । प्रति सुन्तला, कागतीका बिरुवालाई   २५ र कलमी बिरुवा  ४५ मा घरै बिक्री हुन्छ । रैनादेवी छहरा गाउँपालिकाको अम्लाबासका मन बहादुर बगालेले बन्दाबन्दीको अवधिमा नौ हजार सुन्तला बिरुवा बेचेको बताए ।

ति बिरुवा तानसेन नगरपालिकाको बासटारी क्षेत्र, रैनादेवी छहरा गाउँपालिकाको मुझङ्ग, भुवनपोखरी, सोमादी लगायतका स्थानमा बिक्री भएको हो । बिरुवा बेच्न यस वर्ष समस्या छैन । गत वर्ष असार साउनमा मात्र बिरुवा बिक्री हुने गरेकोमा यसवर्ष जेठमै बिरुवा सकिने देखिएको छ । अम्लाबासका विष्णु कोइरालले ५ हजार सुन्तला, कागती, जुनारका बिरुवाको जिल्ला बाहिरबाट माग आएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय गुल्मी र पर्वतबाट सुन्तला, कागतीका बिरुवाको माग आएको छ । गत आर्थिक वर्षमा १५ हजार भन्दा बढी बिरुवा बिक्रीबाट झण्डै ४ लाख आम्दानी भएको उनी बताउँछन् । अम्लाबासकै नर्सरी सञ्चालक खुमबहादुर बगालेले उत्पादित फलफूलका बिरुवाको माग बढ्दो रहेको बताए । रिब्दीकोट गाउँपालिकाबाट १३ हजार सुन्तलाको बिरुवा र सात हजार बगनासकाली गाउँपालिकाबाट कागतीको बिरुवाको माग आएको उनको भनाइ थियो ।

रैनादेवी छहरा गाउँपालिकाले आवश्यकता अनुसारका बिरुवा मागका छन् । व्यक्तिगतरुपमा बिरुवाको माग बढ्दो छ । कोरोना महामारी देखिएपछि पाल्पालगायतका पहाडी जिल्लामा गाउँ फर्केका युवामा व्यावसायिकरूपमा सुन्तला खेतीप्रति रुचि बढेपछि सुन्तला, कागतीका बिरुवाको माग बढेको छ । गाउ फर्केका युवा घरबारीमा सुन्तला, कागती, जुनार जस्ता बोटबिरुवा लगाउन व्यस्त देखिएका छन् । यस वर्ष वर्षा भइरहँदा छिटो फलफूलका बिरुवा रोपिएको हो ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले अनुदानमा सुन्तलाका बिरुवा वितरण गर्ने योजना रहेको बताए ।  गाउँपालिकाले बाँझो जमिनमा अन्नवाली तथा फलफुल खेती गर्ने किसानलाई ३ देखि ५ हजारसम्मको अनुदानको व्यवस्था गरिएकाले युवाहरु सो खेतीप्रति आकर्षित देखिएको उनले बताए ।

जिल्लामा ५ हजार ६६० टन हाराहारी सुन्तला उत्पादन हुनेमा गत गत आर्थिक वर्षमा रु ११ करोड बढी किसानले आम्दानी गरेका थिए । पाल्पामा ८५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताए । हिमाल फर्किएको जमिन व्यावसायिक सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुुवनपोखरी, मुझुग, छहरामा राम्रो सुन्तला उत्पादन हुन्छ । यस क्षेत्रका किसानले वार्षिक   १५ लाखसम्म आम्दानी गर्छन् । रिब्दीकोट गाउँपालिकाको पालुमैनादी, कुसुमखोला, भैरवस्थान, खस्यौली, बगनासकाली गाउँपालिकामा व्यावसायिक सुन्तला खेती हुन्छ ।

सुन्तला तथा फलफुल विकास केन्द्र पाल्पामा वार्षिक ३२ हजार सुन्तलाका बिरुवा उत्पादन हुने केन्द्रका प्रमुख बमबहादुर थापाले बताए ।  पाँच हजार सुन्तलाका बिरुवा बिक्री भइसकेको छ । सुन्तला कागतीको माग थामिनसक्ने गरी आएको प्रमुख थापाको भनाई छ ।

पाल्पाका स्थानीय तहलाई प्राथमिता राखेर बाँकी सुन्तला कागतीका बिरुवा केन्द्रीय कार्यालयमा पठाउने बताइएको छ । पाल्पामा उत्पादित सुन्तलाका बिरुवा म्याग्दी, पर्वत, बागलुङलगायतका जिल्लामा निर्यात हुन्छ । आर्थिक वर्ष २०७५/७६ मा सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले बाहिरका जिल्लामा बिरुवा निर्यात गरी ८ लाख आम्दानी गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...