राप्ती नदीबाट गिट्टी बालुवा निकासी तीव्र, गाउँपालिकाको मौन स्वीकृती हुँदा स्थानीय आजित

Dhunga bakuluwa nikasi

प्युठान । लामो समयदेखि जारी लकडाउनकै बीचमा पनि प्युठानको सरुमारानी गाउँपालिकाको वडा नं। २ ददेरीस्थित राप्ती नदीबाट गिट्टी बालुवा निकासी तीव्र भएपछि स्थानीय आक्रोसित बनेका छन् ।

‘अमानता’को फाइदा उठाउँदै चुरे क्षेत्रअन्तर्गत पर्ने नदीबाट ढुङ्गा गिट्टी उत्खनन् गरी जिल्ला बाहिर निकासी गर्ने क्रम नरोकिएपछि स्थानीयले विरोध जनाएका छन् । गाउँपालिकाकै मौन स्वीकृतमा कर छली भइरहेको छ भने व्यक्तिले नदीजन्य पदार्थ निकालिरहेका कारण अहिले दैनिक १० चक्के टिपरबाट नदीजन्य सामाग्री जिल्लाबाट बाहिरिरहेको छ ।

नदीबाट दैनिक टिपरबाट गिट्टी बालुवा मा बाहिर जिल्ला निकासी हुँदा पनि गाउँपालिकाले कुनै चासो दिएको छैन । नदीबाट यसरी गिट्टी बालुवा निकालन गाउँपालिकाले नै मौन स्विकृति जनाएको स्थानीयको आरोप छ । यसरी अवैध रुपमा भइरहेको निकासी रोक्न र छानविन गर्न स्थानीयले माग पनि गरेका छन् ।

‘अनुगमन गर्न कोही आएका छैनन्’ स्थानीय गोबिन्द आचार्य भन्छन्, ‘कति घनमिटर उत्खनन् गर्न पाउने हो । अनि कुन कुन ठाउँमा खन्न पाउने हो । त्यसो कसैले आएर हेरेका छैनन् ।’ डम्पिङको नाममा नदिजन्य बस्तु उत्खनन् क्षेत्रबाटै सिधै जिल्ला बाहिर गएको उनको आरोप छ ।

स्थानीयको बिरोधपछि गाउँपालिकाले शनिबार सो क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको छ । प्राबिधिक केशव दर्लामीले अनुगमनको क्रममा १ हजार १ सय ९२ घनमिटर ढुंगागिट्टी निकासी गरेको पाईएको बताए ।

उत्खनन् गरिएको २ हजार दुई सय ९२ घनमिटरमध्ये डम्पिङ क्षेत्रमा जम्मा एक हजार एक सय घनमिटर नदीजन्य पदार्थ मात्र भेटिएको उनको भनाई छ । गाउँपालिकाले अमानतकर्तालाई ५ हजार ९ सय १० घनमिटर बराबर ढुंगागिट्टी उत्खनन् एवं डम्पिङ गर्ने अनुमति दिएको उनले बताए ।

आन्तरिक प्रयोजनका लागि भन्दै सरुमारानी गाउँपालिकाले अमानतमा खोलाबाट ढुंगा गिट्टी निकालेर डम्पिङ गरिरहेको छ । राष्ट्रपति चुरे संरक्षण समितिको निर्णयअनुसार कार्यपालिका बैठकबाट निर्णय गरी गाउँपालिकाले चुरे क्षेत्रको ढुंगा गिट्टी उत्खनन् र डम्पिङ गर्न अनुमति दिएको बताएको छ । गाउँपालिकाले आम्दानी रसिद पनि व्यक्तिलाई नै जिम्मा लगाएको छ । गाउँपालिकाले संकलित राजस्वको २५ प्रतिशत उनीहरुलाई दिने गरी कामको जिम्मा ब्यक्तिलाई दिएको छ ।

सरुमारानी ४ का भरत एमसी र वडा नवर २ का स्थानीय तुलसीराम पोख्रेल (बिपिन) लाई राजस्व उठाउने जिम्मा दिइएको हो । सरुमारानी १ को दारेगौडामा एमसीले र वडा नम्बर २ ददेरीमा पोखरेलले घाट बाँडेर काम गरेका थिए। ‘हामीले यही २५ प्रतिशतभित्र ६ जनाले बाँडीचुँडी खाने हो,’ अमानत लिएका पोख्रेलले भने, ‘गाउँपालिकाले हामीलाई जिम्मा दिएपछि काम थालेका हौ ।’ यहि २९ गतेबाट ३१ गतेसम्म उत्खनन् र डम्पिङको काम गरेको उनको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर घर्तीले गाउँपालिका भित्रका विकास निर्माणका आयोजनाहरुमा प्रयोग गर्ने गरी अमानतमा खोलाजन्य बस्तुको प्रयोग गर्ने निर्णय गरेको बताए ।

‘स्थानीय रुपमै खपत गर्न ढुङ्गा गिट्टीका लागि डम्पिङ गर्न अमानत दिएका हौँ’ उनले भने,’ ‘जिल्ला बाहिर निकासी गर्ने निर्णय भएको होईन ।’ उनले गत फागुन ३० गते अमानतकर्तासँग सम्झौता गरि जेठ मसान्तसम्मका लागि कामको जिम्मा दिइएको उनले बताए ।

यसैबीच नियम बिपरित नदिजन्य पदार्थ जिल्ला बाहिर निकासी भएको पाईएपछि गाउँपालिकाले ९ सदस्यीय छानमिन समितिसमेत गठन गरेको छ । गाउँपालिकाले मंगलबार सर्वदलीय सर्वपक्षीय छलफलपछि छानविन समिति बनाएको हो । सो छानविन टोलीले तीन दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...