११ महिने बालक कोरोना जितेर डिस्चार्ज

2020 06 16 07 23

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि बालक सुनारलाई डिस्चार्ज गरिएको बताए ।

स्वास्थ्य आपतकालीन केन्द्र रामशाहपथको पत्रानुसार थप एक हप्ता होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको उनले बताए ।

होम आइसोलेसनमा बस्दा चिकित्सकको नियमित सम्पर्कमा रहने गरी र स्वास्थ्य मन्त्रालयको जारी निर्देशिकामा उल्लेख गरिएका कुराको पालना गर्नेलगायतका कुरा सम्झाएर पठाइएको उनको भनाइ छ ।

कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बिदाइ गरेका हुन् ।

अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका–२ का ५० वर्षीय, महाकाली नगरपालिका–३ का ३८ वर्षीय र कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका १८ र ३८ वर्षीय पुरुषलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो । अस्पतालमा ३० कोरोना सङ्क्रमित उपचाररत छन् ।
 

प्रतिकृया दिनुहोस