ट्रम्पले तोडे डब्ल्यूएचओसँग सम्बन्ध, कोरोना फैलिनुमा डब्ल्यूएचओ जिम्मेवार रहेका आरोप

Donald trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै जिम्मेवार रहेको आरोप लगाएका छन् ।

ट्रम्पले डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ ।

ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप ट्रम्पले दोहो¥याए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ । चीनले केबल चार करोड डलर दिन्छ तर डब्ल्यूएचओमा उसैको नियन्त्रण छ ।’

चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको र डब्ल्यूएचओले पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्ल्यूएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ ।

२०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित एक पशुपन्छी बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आशंका गर्दै आएको छ ।

कोरोना भाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ । तर अमेरिका अहिले कोरोनाबाट विश्वमै बढी प्रभावित देश बनेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख २ हजार ७ सय ९८ जनाको ज्यान गइसकेको छ भने १७ लाख ४५ हजार ६ सय ६ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...